गण्डकीमा अलैची खेती स्थिर

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेशमा अलैची खेती स्थिर देखिएको छ । प्रदेश सरकारले अलैची खेती विस्तारका लागि विभिन्न कार्यक्रम संचालन गरे पनि प्रभावकारी नहुदाँ उत्पादन बृद्धि हुन सकेको छैन् । अलैची खेती विस्तार गर्ने क्षेत्रफलमा बृद्धि भए पनि उत्पादनमा बृद्धि हुन नसकेको गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७७-७८ को तुलनामा आर्थिक वर्ष २०७८-७९ मा अलैची उत्पादनमा बृद्धि हुन सकेन् ।
आव २०७७-७८ मा १ हजार ७ सय ४४ हेक्टर क्षेत्रफलमा ४ सय २० मेट्रिकटन अलैची उत्पादन भएको थियो । यस्तै, आव २०७८-७९ मा गतवर्षको उत्पादन भन्दा घटी १ हजार ७ सय ५१ हेक्टर क्षेत्रफलबाट ४ सय २० मेट्रिकटन नै अलैची उत्पादन भएको तथ्यांकले देखाएको छ । मुस्ताङ बाहेक गण्डकी प्रदेशका १० जिल्लामा अलैचीको व्यवसायीक उत्पादन हुने गरेको छ । गण्डकीको सवैभन्दा बढी अलैची उत्पादन गर्ने जिल्ला कास्की हो । कास्कीमा आव २०७७-७८ मा १९८.५ हेक्टर जमिनबाट ६०.६ मेट्रिकटन अलैची उत्पादन भएको थियो ।
आव २०७८-७९ मा अलैची खेती बृद्धि भई ३०५.५ हेक्टर जमिन पुग्यो । जसबाट १ सय २८ मेट्रिकटन अलैची उत्पादन भएको मन्त्रालयको तथ्यांकले जनाएको छ । मनाङमा २ हेक्टर जमिनमा दुई आर्थिक वर्षमा ४ सय केजी उत्पादन भएको छ । लमजुङमा १ हजार ९० हेक्टर जमिनबाट ७५ मेट्रिकटन उत्पादन भएकोमा अलैची खेती गरिएको क्षेत्रफल घटेर गत आवमा ९ सय ५० मा झरेको छ । घटेको क्षेत्रबाट ७० मेट्रिकटन अलैची उत्पादन भएको मन्त्रालयका प्रवक्ता ग्रीष्म न्यौपानेले जानकारी दिए । म्याग्दीमा गत आवमा १८ हेक्टरमा बाट १० मेट्रिकटन अलैची उत्पादन भयो ।
बाग्लुङमा अघिल्लो वर्ष १ सय ५० हेक्टर जमिनबाट ४२, गोरखामा १ सय ४५ हेक्टर बाट ६२ मेट्रिकटन, तनहुँमा ११ हेक्टरमा ७० मेट्रिकटन, पर्वतमा ६० हेक्टरबाट ३५ मेट्रिकटन, स्याङ्जामा २१ हेक्टरबाट ७ मेट्रिकटन र नवलपरासी पूर्व ८९ हेक्टर जमिनमा ८३ मेट्रिकटन अलैची उत्पादन भएको मन्त्रालयले उपलब्ध गराएको तथ्यांकले देखाएको छ । मन्त्रालयका प्रवक्ता न्यौपाने भन्छन, ‘अलैची खेती लगाएको तीन वर्षपछि उत्पादन दिन्छ । बीचमा समय (दुई वर्ष) क्षेत्रफल बढ्छ । तर, उत्पादन बढ्दैन ।’ उनका अनुसार अलैचीमा छिर्केफुर्के, गनोकुहिने रोगको प्रकोप छ । जसका कारण उत्पादन घटाएको छ । गण्डकीमा परम्परागत खेतीको रुपमा अलैचीलाई लिइन्छ । व्यवसायीक रुपमा अलैची खेती पहिलोपटक लमजुङबाट सुरु भई अन्य जिल्लामा विस्तार भएको मन्त्रालयले बताएको छ । गण्डकी प्रदेशमा उत्पादित अलैची छिमेकी देश भारत निर्यात हुने प्रवक्ता न्यौपाने बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *