डेंगुका विरामीको संख्या बढ्दै गएपछि गण्डकी प्रदेशमा डेंगु रोग परीक्षण गर्ने कीट अभाव भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संघिय सरकारले सिमित मात्रामा कीट दिदाँ गण्डकीमा अभाव भएको हो । निर्देशनालयकी ल्याव टेक्नीसीयन सुशीला कार्कीले गण्डकी प्रदेशमा डेंगुका विरामीको संख्या बढ्दै गएकाले केन्द्रको मात्र आश गर्ने अवस्था नरहेको बताइन् ।
‘आपूर्ति स्वास्थ्य केन्द्रले केही मात्रामा कीट दिएको थियो अहिले सकियो’ उनले भनिन, ‘अव प्रदेश र स्थानीय सरकार पनि जिम्मेवार बन्दै आफै कीट किन्नुपर्छ । डेंगुका विरामीको संख्या बढिरहदा केन्द्रको कीट कुर्ने समय नै छैन् ।’ उनले अघिल्लो साता प्रदेश स्वास्थ्य निर्देशकले सवै प्रदेशकका सवै पालिकालाई आफै कीट किन्नको लागि अनुरोध गरेको बताइन् । उनका अनुसार प्रदेश जनस्वास्थ्य प्रयोगशालामा महामारीको शिर्षकमा केही बजेट रहेकाले सोही बजेट खर्च गरी कीट किन्ने विषयमा छलफल भइरहेको बताएकी छन् ।
जिल्ला स्वास्थ्य कार्यालय कास्कीले आयोजना गरेको डेंगु सम्बन्धि अन्तक्र्रियामा असोज र कार्तिकको महिना डेंगुको बढी जोखिम रहेको बताइएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचना अधिकारी हेमन्त शर्माले साउनेदेखी पुषसम्म यसको जोखिम भए पनि असोज र कार्तिक बढी जोखिम रहेको बताए । ‘यसवाट बच्नु भनेको सरसफाई नै हो’ उनले भने । डेंगु भइहालेमा जथाभावी औषधी प्रयोग नगर्ने र सिटामोल मात्र खाने, झोलिलो खानेकुरामा जोड दिनुपर्ने उनले सुझाएका छन् । पोखरा महानगरका स्वास्थ्य महाशाखा प्रमुख कृष्णप्रसाद अर्यालले पोखरामा कीट अभाव भएको हुदाँ महानगरले केही दिनमै करिव ५ सय कीट किन्ने तयारी गरेको बताए । ‘पहिलो चरणमा तीन सय कीट भए पनि पुग्छ’ उनले भने, ‘अहिले कीटको अभाव छ ५ सय कीट किन्ने हो भने कुनै पनि विरामीलाई समस्या हुदैन ।’
प्रमुख अर्यालले ५ सय कीट महानगरले किन्यो भने पोखराका जुनसुकै ल्यावमा पनि निःशुल्क डेंगु परीक्षण गर्न सकिने बताएका छन् । स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर सुदीप त्रिपाठीले डेंगुका विरामीको लागि बेडको अभाव भएको बताएका छन् । उनले प्रत्येक दिन विरामीको संख्या बढ्दै गएकाले बेडको समेत अभाव भएको बताए । गण्डकी प्रदेश सरकारले कुनै पनि सरुवा रोगको उपचारका लागि सरुवा तथा संक्रामण अस्पालको स्थापना गरेको हो । सो अस्पतालमा अहिले डेंगुका विरामी जम्मा ५ जना मात्र छन् । अस्पताल लेखनाथमा भएकाले त्यति धेरै विरामी नजाने र त्यही क्षेत्रका मात्र विरामी जाने गरेको अस्पतालका चिकित्सक स्वंम बताउँछन् ।
गण्डकीमा आइतबारसम्म डेंगुका विरामीको संख्या ६०४ रहेको छ । यस्तै, दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखाको गोरखा नगरपालिकाकी ज्योती तामाङ र पालुङटार नपाकी सुशिला अधिकारी रहेका छन् । उनीहरुको उपचारको क्रममा काठमाडौंमा नै मृत्यु भएको प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा नारायण श्रेष्ठले जानकारी दिए । मन्त्रालयको आइतबारसम्मको तथ्यांक अनुसार हिमाल पारीको जिल्ला मुस्ताङमा अहिलेसम्म डेंगुको संक्रमण फैलिएको छैन भने, मनाङमा डेंगुका विरामी दुई जना रहेको छन् ।
यस्तै, बाग्लुङमा ३९ जनालाई डेंगु भएको छ भने, गोरखामा १ सय १३, कास्कीमा १ सय ३६, लमजुङमा ६२, म्याग्दीमा १५, पूर्वी नवलपरासीमा १७, पर्वतमा ६९, स्याङ्जामा ७३ र तनहु“मा ७८ जनालाई डेंगु भएको हो । नेपालमा डेंगु २०६१ सालबाट भित्रिएको हो । सुरुमा फाट्फुट भएपछि पछिल्लोवर्ष महामारीको रुपमै फैलिएको स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बद्रीराज आचार्यले बताए । एडिस एजिष्टाई नामक लामखुट्टेले कुनै संक्रमितलाई टोकेपछि अन्यमा सार्ने हो । एकपटक संक्रमित भएको लामखुट्टे कहिल्यै निको नहुने हुदाँयस्ता लामखुट्टेको टोकाईवाट जोखिनु नै उपयुक्त रहेको उनले बताए । ‘डेंगु आफैमा रोग हो’ उनले भने, ‘यो भाइरस भएकाले पनि यसको टोकाईवाट आउने ज्वरोलाई भाइरस भनिएको हो ।’ पुनः डेंगु लाग्यो भने बढी जोखिम हुने उनले बताए ।
बेस्मरी टाउको दुख्ने, आ“खाको गेडी दुख्ने, शरीरमा डाबरहरु आउने, अरुचि हुने, जोर्नी तथा मांसपेशीहरु बेस्मरी दुख्ने र पेट तथा आन्द्रमा गडबढी हुने यसका लक्षण हुन् । कार्यालयले दिएको सूचना अनुसार केही विरामीमा सुरुमै शरीरभरि खटिरा आउ“छन् । शरीरमा डण्डिफोर जस्तो डावरहरु देखिने, ज्वरो आइरहेको अवस्थामा नाक तथा गिजावाट र छालामुनि रक्तस्राव हुन्छ । डेंगु ज्वरोविरुद्ध कुनै पनि खोप नरहेको र यसको खास उपचार पनि नरहेको हुदा“ सरसफाईमा नै बढी जोड दिनुपर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
