गण्डकी प्रदेशसभाको बुधबार बसेको वैठकमा तीन वटा विधेयक पेश भएका छन् । लामोसमयपछि हिउँदे अधिवेशन बुधबारदेखी सुरु भएको छ । गत ११ असोजबाट बन्द भएको अधिवेशन झण्डै छ महिनापछि सुरु भएको हो । बुधबार हिउँसो बसेको प्रदेशसभाको वैठकमा तीन वटा विधेयक पेश भएका छन् । गण्डकी प्रदेश प्राइभेट फर्म दर्ता ऐन, २०७८ लाई सशोधन गर्न बनेको विधेयक टेबुल भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापाले उक्त विधेयक पेश गरेका थिए ।
यस्तै, समितिको प्रतिवेदनसहित सामाजिक विकास तथा कृषि समितिका सभापति फणीन्द्र देवकोटाले गण्डकी प्रदेशमा बीउ बीजन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र प्रदेश मामिला तथा कानून समितिका सभापति चम्फादेवी खड्काले गण्डकी प्रदेशमा आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गरेकी छन् । दफावार छलफलपछि उक्त विधेयक संशोधनसहित प्रदेशसभामा पेश गरिएको हो । अधिवेशनको पहिलो वैठकमा प्रतिनिधित्व गर्ने चार वटै संसदीय दलका नेताले सम्बोधन गरेका थिए ।
प्रदेशसभाको वैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारलाई बलियो बनाउने विषयमा सत्तापक्ष र प्रतिपक्षसँग सहकार्य, समन्वय गर्दै अघि बढेको बताए । प्रमुख प्रतिपक्ष दलका नेता खगराज अधिकारीले संघिय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने विषयमा जहिलै सरकारको पक्ष रहेको बताए । माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले संघियता कार्यान्वयन भएको ८ वर्ष भइसक्दा पनि प्रभावकारी काम गर्न नसकिएको बताएका थिए भने, राप्रपा संसदीय दलका नेता पञ्चराम गुरुङले २०४६ सालपछि विकासले गति लिन नसकेको बताएका थिए ।