गण्डकीमा पालिकाले बनाउन सकेनन् आफ्नै पाठ्यक्रम

Share this post :

Facebook
Twitter
WhatsApp

स्थानीय शिक्षा ऐन र स्थानीय पाठ्यक्रम बनाएर लागू गर्ने अधिकार संविधानले स्थानीय तहलाई दिएको छ । तर, गण्डकी प्रदेशका अधिकाशं पालिकाले भने, उक्त अधिकार प्रयोग गर्न सकेका छैनन् । स्रोत, साधन भए पनि चासो नदेखाउँदा पछि परेका हुन् । स्याङ्जाका एघार पालिकामध्ये आँधीखोला र हरिनास गाउँपालिकाले अहिलेसम्म पाठ्यमक्रम र पाठ्यपुस्तक दुवै बनाउन सकेका छैनन् ।
जिल्ला शिक्षा समन्वय इकाई प्रमुख गुरुप्रसाद ढकालले पाठ्यक्रम र पाठ्यपुस्तक बनाउने पालिका ३ वटा (फेदीखोला, भीरकोट र विरुवा) मात्र रहेको बताए । उनका अनुसार पुतलीबजार, गल्याङ, वालिङ र कालीगण्डकीले पाठ्यक्रम बनाएको भए पनि अधुरै छन् । अन्य पालिका भने बनाउने क्रममा छन् । ‘बनाएका पाठ्यक्रम पनि गुणस्तरीय छैनन’ उनले भने, ‘यसमा हेरफेर हुनुपर्छ । स्थानीय पाठ्यक्रम बनाउने भनिरहदाँ गुणस्तरमा ध्यानदिनुपर्छ ।’ उनले पाठ्यक्रम बनाइरहदाँ सीमित कक्षाको मात्र बनाइएको र अन्य बाँकी रहेको बताए । यस्तै, पर्वतका सातववटै स्थानीय तहले हालसम्म पाठ्यक्रम र पाठ्यपुस्तक दुवै बनाएका छैनन् । गण्डकी प्रदेशमा पोखरा महानगरपालिकासहित २६ नगरपालिका र ५८ वटा गाउ“पालिका गरी ८५ वटा पालिका छन् । तर, आफ्नै पाठ्यक्रम बनाउने पालिकाको संख्या भने न्युन छ ।
प्रदेशका एघारवटै जिल्ला शिक्षा समन्वय इकाईका अनुसार पाठ्यक्रम बनाउने तयारीमा भए पनि पूर्णता दिन सकेका छैनन् । मनाङमा चार वटै पालिकाले बनाउन नसकेको शिक्षा समन्वयका प्रमुख मति चापाइँले बताए । उनका अनुसार तीन पालिकामा विद्यार्थी संख्या नै छैन् । नार्फाभुमीमा ६ जना शिक्षक र १५ जना विद्यार्थी रहेको बताउदै उनले भने, ‘१ र ५ सम्म त शुन्य नै छ ।’ थोरै जनसंख्या र थोरै मतदाता रहेको यहाँ शिक्षामा सुधार गर्न नसकिएको उनले बताए । ‘यसतर्फ शिक्षक उत्साहित देखिदैनन’ उनले भने, ‘अनुगमन गर्दा वेतिथिमात्र देख्छौ । स्थानीय तहमा कारबाहीको लागि सिफारिस गरेका त हुन्छौ पालिकाले गर्दैनन् ।’ उनले शिक्षाको बजेट अन्यत्र खर्च गर्नुपर्ने अवस्था रहेको बताए । दरबन्दी मिलान गर्दा समेत शिक्षक उत्साहित र कृयाशिल नहुने उनको भनाई छ । यस्तै, मुस्ताङका ५ पालिकामध्ये २ वटाले मात्र पाठ्यपुस्तक बनाएका छन् । अन्य पालिका भने बनाउने क्रममा छन् । भूगोल, रहनसहन, ऐतिहा“सिक, धार्मिक, सा“स्कृतिक, आर्थिक, साहित्य र पर्यटनका क्षेत्रलाई समेटर स्थानीय परम्परालाई महत्व दिइएको छ ।
यसैगरी, बाग्लुङका तीन पालिका (तमानखोला, ताराखोला र बरेङ)ले पाठ्यक्रम बनाएर पढाउन सुरु गरे । गल्कोट, वडीगाडले बनाउन सुरु गरेको छ भने, बाग्लुङ, ढोरपाटन र जैमिनी नपाले बनाउने सुरुसार नै नभएको शिक्षा इकाईले जनाएको छ । यस्तै, अन्य गापाले बनाउने सुरसार नै गरेका छैनन् । तमानखोलाले ‘मेरो तमानखोला’ नामक पाठ्यक्रम बनाएर कक्षा १ देखि ३ सम्म पढाउन थालेको शिक्षा इकाई प्रमुख कुष्मराज उपाध्यायले बताए । स्थानीय चाडपर्व, कला, संस्कृति र पालिकाको परिचयलाई पाठ्यक्रममा समावेश गरिएको उनले जनाए । साधन, स्रोत धेरै भए पनि पालिकामा स्थानीय पाठ्यक्रमबारे चासो नै नभएको अभिभावकले बताएका छन् । कर्मचारी र जनप्रतिनिधिमा केही गरौँ भन्ने भावना भएन भने कुरा मात्र सिमित हुने बाग्लुङ नगरपालिकाका दयाराम सापकोटाले बताए । उनले पालिकाले आफ्नो अधिकार क्षेत्रभित्रको काम ५ वर्षसम्म पनि गर्न नसकेको बताए । पाठ्यक्रम बनाएका पालिकाले भने विज्ञसँग छलफल गरेर बनाएको बताएका छन् । यस्तै, म्याग्दीको बेनी नगरपालिकाले पाठ्यक्रम र पाठ्यपुस्तक बनाएका छन् भने दुई वटाले पाठ्यक्रम बनाएका छन् । बा“की पालिका पाठ्यक्रम बनाउने तयारीमा रहेको जिल्ला शिक्षा इकाई प्रमुख दलवहादुर थापाले बताएका छन् । यसैगरी, कास्कीका पाँच वटै पालिकाले पाठ्यक्रम र पाठ्यपुस्तक बनाएका छन् । कोभिडको समयमा समस्या भए पनि गत शैक्षिक सत्रबाट नै पढाउन सुरु गरिएको कार्यालयले जनाएको छ । यसैगरी नवलपुरका ८ पालिकामध्ये हुप्सेकोट गापाले पाठ्यपुस्तकसहित पाठ्यक्रम बनाइसकेको छ भने ५ वटाले पाठ्यक्रम बनाएका छन् । शिक्षा इकाई प्रमुख कृष्णचन्द पोखरेलका अनुसार २ वटा पालिकाले पाठ्यक्रमसमेत बनाएका छैनन् ।
लमजुङमा पनि जम्मा दुई वटा पालिका (मस्याङदी र मध्येनेपाल)ले मात्र पाठ्यक्रम बनाएर पढाउन सुरु गरेका छन् भने, गोरखाका ३ वटा पालिका (सिरानचोक, शहिदलखन र पालुङटार)ले पाठ्यक्रम बनाएर पढाई सुरु गरेका छन् । यस्तै, ८ वटा पालिका प्रकृयामा छन् । प्रदेश शिक्षा निर्देशक अम्बिकाप्रसाद आचार्यले पालिकाले बनाएको पाठ्यक्रमबारे आफूहरुलाई कुनै जानकारी नहुने बताए । ‘हामीकोमा रेकर्ड पठाउनपर्छ भन्ने अनिवार्य नभएकाले यसबारे त्यति जानकारी छैन’ उनले भने, ‘अवको प्रदेशस्तरीय समिक्षामा यस विषयमा छलफल गर्नेछौ ।’ उनले प्रदेशबाट पनि नझक्झकाएसम्म पालिकाले गुणस्तरीय पाठ्यक्रम त्यही पनि समयमै नबनाउने बताएका छन् । ‘पाठ्यक्रम बनाउनु ठूलो कुरा होइन, गुणस्तर महत्वपूर्ण हो’ उनले भने । प्रदेशका केही पालिकामा पाठ्यक्रम बनाउने जिम्मा लिएका तुलसी प्रभासले पाठ्यक्रम स्थानीय स्तरमा नै सुहाउँदो रहेको बताए । ‘एउटा पालिकामा भएको अर्को पालिकामा छैन’ उनले भने, ‘हेर्दा एउटै जस्तो भए पनि यर्थाथमा फरक छन् ।’ उनले बढी जस्तो पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *