गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मंगलबार तीन दिनको समय दिएर सरकार गठनका लागि आह्रवान गरेका छन् । संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि आह्रवान गरेका हुन् । तर, सरकारको नेतृत्व गर्ने विषयमा सत्तारुढ दलकै गाँठो फुक्न सकेको छैन् । सरकारमा सहभागी कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धन छ ।
गण्डकीमा कांग्रेस र माओवादीबीच सरकारको नेतृत्व विषयमा आलोपालो सहमति भएपनि पहिला पटकको नेतृत्वको विषयलाई लिएर टकराव बढेको हो । संसदमा सवैभन्दा ठूलो दलको हैसियतले पहिलोपटक कांग्रेसले नेतृत्व लिन पाउनुपर्ने माग राखेको छ । संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्रीको लाइनमा छन् । यस्तै, माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले पनि विश्वासको मत नदिने भन्दै धम्काए । आफ्नो पोल्टामा मुख्यमन्त्री पार्न उनले लभिङ गरेका छन् ।
वैशाख ९ मा एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि नयाँ गठबन्धन अनुसार सरकार गठनका लागि प्रकृया थालिएको हो । राप्रपा र माओवादीको समर्थनमा मुख्यमन्त्री भएका अधिकारीलाई माओवादीले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो । सरकार अल्पमतमा परेपछि अधिकारीले वैशाख ९ मा विश्वासको मत लिएका थिए । तर, उनले विश्वासको मत पाउन सकेनन् । जसका कारण उनले नेतृत्व गरेको सरकार ढल्न पुग्यो ।
शनिवार सरकार ढलेपछि पाण्डे मुख्यमन्त्री बन्नको लागि काठमाडौ पुगेका थिए । मुख्यमन्त्री बन्ने निश्चितजस्तै भएपछि उनी मंगलबार पोखरा आएका हुन् । कांग्रेसले मुख्यमन्त्री पाउने भयो भन्ने भएपछि माओवादीका चुमान मंगलबार साझ पार्टी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड भेट्न काठमाडौ गएका थिए । बुधबार मात्रै उनी पोखरा फर्किएका छन् । ९ गते सरकार ढाल्ने अगावै यही परामर्शका लागि काठमाडौं पुगेका प्रदेश प्रमुख गुरुङले पोखरा फर्केर पनि कानुनी परामर्श गरे र मंगलबार बल्ल नयाँ सरकार गठनका लागि आहृवान गरेका छन् ।
तनहुँ–१ को चुनावलाई देखाउँदै गत वैशाख ३ गते माओवादी नेता हरिबहादुर चुमानको नेतृत्वमा काठमाडौं पुगेको टोलीले कांग्रेस सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गण्डकी संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे र प्रधानमन्त्री प्रचण्ड, माओवादी सचिव तथा गण्डकी प्रदेश इन्चार्ज हितराज पाण्डेसहितको छलफलमा सौदाबाजी गरेको थियो ।
चुनावको मुखमा दबावमा परेको कांग्रेसले त्यही बेला औपचारिक रुपमा गण्डकीमा कांग्रेस–माओवादी आलोपालो गर्ने समझदारी गरेको हो । तर, गण्डकीको सरकार ढलेलगत्तै तनहुँ–१ को निर्वाचनमा कांग्रेसका गोविन्द भट्टराईले हारेपछि मुख्यमन्त्रीमा कांग्रेसले सशक्त दावी गरेको हो । बुधबार कांग्रेसले माओवादीसंग वैठक राखेर हस्ताक्षरसहित सरकारको दावी गर्न प्रदेश प्रमुखसमक्ष जाने तयारीमा थियो । तर, चुमान काठमाडौ भएकाले बुधबार पनि सरकारको दावी गर्न नसकिएको कांग्रेस सांसदले बताएका छन् ।
माओवादी नेता चुमान पनि सुरुको चरणमा आफूले मुख्यमन्त्री नपाउनेमा ढुक्कै छन् । तर, दोस्रो चरणमा कति समय भन्ने ग्यारेन्टी होस् र सरकारमा माओवादीले कम्तिमा ३ मन्त्रालय पाओस् भन्ने चाहन्छन् । पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमै आन्तरिक मामिला तथा कानुनमन्त्री भएका चुमान खगराज नेतृत्वको सरकारमा भौतिक पूर्वाधार मन्त्री बने । यदि मुख्यमन्त्री हुने हो भने अबको सरकारमा उनलाई मन्त्री नदिने मत माओवादीभित्र छ ।
