गण्डकी प्रदेश सरकारले सोमबार मन्त्रिपरिषद विस्तार गरेको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले कांग्रेसका दोबाटे विश्वकर्मालाई विनाविभागीय मन्त्री नियुक्त गरेका छन् । विश्वकर्मालाई बेलुका ५ बजे शपथ खुवाउने कार्यक्रम तय भएको छ । स्रोतका अनुसार उनलाई जिम्मेवारी दिने मन्त्रालयको टुंगो भने लागेको छैन् । उनी तनहुँबाट समानुपातिक प्रदेश सांसद हुन् ।
यसभन्दा अघि पनि मन्त्रि बनाएर शपथ लिन आउदै गर्दा बाटोमै नाम काटिएपछि असन्तुष्टि बनेको विश्वकर्मालाई मुख्यमन्त्री नेपालीले प्रदेश सभा अन्तर्गत विधायन समितिको सभापतिमा बस्न आग्रह गरेका थिए । तर, विश्वकर्माले असन्तुष्टि जनाउदै सभापतिको पद अस्वीकार गरेका थिए । चार दलको गठबन्धनबाट बनेको नयाँ सरकार टिकाउनको लागि विश्वकर्मालाई मन्त्री थप गरिएको स्रोतले जनाएको छ ।
पृथ्वीसुव्वा गुरुङ नेतृत्वको सरकार हटाई कांग्रेस, माओवादी, जसपा र राजमोको गठबन्धनले कांग्रेसका कृष्णचन्द्र नेपाली नेतृत्वको सरकार गठन गरेको थियो । जेठ २९ मा मुख्यमन्त्रीमा नियुक्त भएपछि ४ मन्त्री नियुक्त गरि शपथ लिएका नेपालीले ४० दिनपछि पुनः मन्त्रिपरिषद् विस्तार गरेका थिए । गण्डकी प्रदेशमा अहिले मुख्यमन्त्रीसहित ११ मन्त्री रहेका छन् । आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि सरकार टिकाउनको लागि गुरुङ नेतृत्व सरकारले ७ मन्त्रालय फुटाएर एघारवटा मन्त्रालय बनाएको थियो ।
