गण्डकीमा माओवादीको असन्तुष्टि

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेशमा मुख्यमन्त्रीको विषयलाई लिएर नेकपा माओवादी केन्द्र असन्तुष्टि भएको छ । नेतृत्व पहिला कसले गर्ने भन्नेमा कांग्रेस र माओवादीबीच विवाद सृजना भएको हो । यसअघि दुई दलबीच आलोपालो नेतृत्व गर्ने सहमति भए पनि पहिलो नेतृत्वलाई दिएर विवाद चुलिएको छ । तनहुँ–१ को उपनिर्वाचनमा गठबन्धनबाट आफ्नो उम्मेदवार उठाएकाले कांग्रेसले प्रदेशमा पहिलो नेतृत्व माओवादीलाई दिने अनौपचारिक सहमति गरेको थियो ।
तर, पहिला माओवादीलाई नेतृत्व दिन नहुने भन्दै केही कांग्रेस सांसद सोमबार पार्टी केन्द्रीय कार्यालयमा डेलिगेशन गएपछि विवाद बढेको हो । असन्तुष्ट माओवादी नेता पनि मंगलबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न काठमाडौं पुगेका छन् । माओवादी संसदीय दलका नेता एवं पूर्वमन्त्री हरिबहादुर चुमानले सहमति उल्टिएपछि अध्यक्ष भेट्न काठमाडौं आएको बताए । कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे भने आफू मुख्यमन्त्री बन्ने भएपछि मंगलबार हिउँसो पोखरा फर्किएका छन् । एमालेका खगराज अधिकारी नेतृत्वको सरकारले शनिवार विश्वासको मत नपाएपछि पाण्डे मुख्यमन्त्रीको दावी गर्दै आइतबार काठमाडौं गएका थिए ।
कांग्रेसले मुख्यमन्त्री पाउने निर्णय भएपछि प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मंगलबार तीन दिनभित्र सरकार गठनका लागि बहुमतले दावी पेश गर्न आह्वान गरेका छन् । संविधानको धारा १६८ को उपधारा २ अनुसार एउटा दलको बहुमत नपुग्ने भएपछि दुई या दुई भन्दाधेरै दलको सहभागीतामा बहुमतको सरकार गठनका लागि दाबी पेस गर्न सकिने व्यवस्था छ । गण्डकीमा आलोपालो सरकार बन्ने भएकाले प्रदेश प्रमुखले सोही अनुसार आह्वान गरेको प्रेस संयोजक माधव रेग्मीले बताए । सरकार गठनका लागि कांग्रेस, माओवादी केन्द्र र स्वतन्त्र सांसदको गठबन्धन छ । कांग्रेस संसदीय दलका नेता पाण्डेले माओवादी केन्द्रसँग छलफल गरेर सरकार गठनका लागि बहुमतसहित दाबी पेस गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *