गण्डकीमा १३ प्रतिशत धान रोपाइँ

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेशमा यस वर्ष धान रोपाइँ जम्मा १३ प्रतिशत सम्पन्न भएको छ । अघिल्लो वर्ष असार १४ सम्म २२ प्रतिशत धान रोपाइँ भएको थियो । प्रदेशको भूमि व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत प्रदेश कृषि निर्देशनालयका अनुसार यो तथ्यांक असार ८ सम्मको हो । कार्यालयकी सूचना अधिकारी शशी अधिकारीले प्रत्येक बुधबार मात्र तथ्यांक अपडेट गरिने बताइन ।
असारको मध्य समय भए पनि गण्डकीमा धान रोपाइँ बल्ल सुरु भएको उनले बताइन् । ‘चैते धान र खेतमा मकै हुन्छ’ उनले भनिन, ‘बाँझो खेतमा जेठबाटै धान रोप्न सुरु गरिए पनि खेती लगाइरहने जमिनमा भने अव बल्ल रोपाइँ सुरु भएको छ ।’ गण्डकीका ११ जिल्लामध्ये मनाङ र मुस्ताङमा धान रोपाइँ गरिदैन । हिमालपारीका यी दुई जिल्लामा धान नरोपिए पनि कास्की, स्याङ्जा, नवलपुर, तनहुँ, गोरखा, लमजुङ, पर्वत, बाग्लुङ र केही भाग म्याग्दीमा किसानलाई यतिबेला धान रोपाइँको चटारो छ ।
अधिकारीका अनुसार हालसम्म सवैभन्दा कम रोपाइँ तनहुँमा भएको छ । उनले असार २५ पछि अधिकाशं स्थानमा धान रोपाइँ सम्पन्न हुने बताइन् । ‘अहिले नै धेरै रोप्ने समय भइसकेको छैन’ उनले थपिन, ‘अधिकाशं ठाउँमा चैते धान र मकै अझै छ । साउन १५ सम्म बर्खे रोपाइँ हुन्छ ।’ कार्यालयका अनुसार सवैभन्दा बढी धान रोपाइँ म्याग्दीमा भएको छ । प्रदेशभरी १ लाख २० हजार ५ सय ३० हेक्टर क्षेत्रफलमा बर्षे धान रोपिन्छ । तनहुँमा भानु, घिरिङ, व्यास, म्याग्दे र भिमाद, लमजुङमा मध्यनेपाल, राईनस र सुन्दरबजार, पर्वतमा फलेवास, पैयुँ र जलजला, म्याग्दीमा बेनी, मंगला, रघुगंगा, धवलागिरी, मालिका, गोरखामा भुसुन्डे फाँट, ज्यादुलखोला, नवलपुरमा गैडाकोट, मध्यविन्दु, बुलिङटार, विनयी त्रिवेणी, कावासेती, स्याङ्जामा पुतलीबजार, आँधीखोला, चापोकाट, भीरकोट, फेदीखोला र वालिङ, बाग्लुङमा गल्कोट, निसीखोला, ढोरपाटन, काठेखोला र जैमीनी धानका पकड क्षेत्र रहेका छन् भने, कास्कीमा ठूलीबेंसी, टाकान्जा, पामे, आर्वा, लुखनाथ, अन्नपुर्ण, लाचोक र घाचोक पकड क्षेत्र मानिन्छन् । पोखरामा पछिल्लो समय रैथाने धान र जेठो बुढो रोपिन्छ ।
मन्त्रालयका अनुसार बर्मेली, झिनुवा, अनदी, जपर्नि, जेठोबुढो, पहेंले, आँप झुत्ते, मनसरा, गुर्जी, एक्ले, जर्नेली, बातिसरा, अनदी, गोरखनाथ, लोकनाथ, खुमल, गोला, लोकतन्त्र, साँवा, राधा, सावित्री लगायतका जातका धान रोपिन्छ । मन्त्रालयले बर्गिकरण गरेको धानको बीउ भन्दा पनि एग्रोभेटले आफूखुशी विउ ल्याएर बेच्ने गरेका छन् । जसका कारण निर्देशनालयमा धानको जातको त्यति रेकर्ड नहुने अधिकारी बताउँछिन् । उनका अनुसार कतिपय हामीलाई जानकारी नभएका बीउ पनि किसानले लगाएका हुन्छन । मन्त्रालयका प्रवक्ता गृष्म न्यौपानेका अनुसार धानका लागि खेतीयोग्य जमिनको अधिकाशं भागमा बाह्रैमास सिंचाई पुगेको छ । सिंचाईको माध्यमबाट भन्दापनि कुलो खनेर पानी लगिने प्रचलन यर्थावत नै छ ।
नदीको सम्भावना नभएको स्थानमा बर्षामा उल्लने खोल्सा र भलपानी लगेर खेती गरिने कृषक बताउँछन । कृषिमा नया“ प्रविधि भित्रिएसँगै अधिकाशं स्थान (फाँट)मा ट्याक्टरमार्फत धान रोपाइँ गरिन्छ भने पाखो खेतमा पुरानै शैलीमा हल गोरुबाट रोपाइँ गरिने पोखरा महानगर–२७ की कमला पराजुली बताउँछिन् । उनले विभिन्न खेती व्यवसायीक रुपमा गर्दै आएका कृषकले भने उन्नत जातका धान र आधुनिक कृषि औजारको प्रयोग गर्न थालेको बताइन् । प्राङगारिक मलविनै धानखेती लगाइन्छ । विकासे मलको प्रयोगमा खेती लागाउने हुदाँ धान पोषिलो नहुने मन्त्रालयको अनुमान छ । निरन्तर बर्षात्का कारण यसबर्ष धान उत्पादन बृद्धि हुने मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *