गण्डकी प्रदेश सरकारको मुख्य आम्दानीको पाटो हो, यातायात क्षेत्र । गत चालु आर्थिक वर्ष २०७९÷८० मा गण्डकी प्रदेशमा रहेका यातायात कार्यालयले ३ अर्व भन्दा बढी राजश्व संकलन गरेका छन् ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको वार्षिक समीक्षा कार्यक्रममा मन्त्रालय मातहतका यातायात कार्यालयका प्रमुखले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष ३० प्रतिशत बढी राजस्व संकलन गरेको बताए ।
करको दरमा भएको वृद्धिका कारण राजश्व ह्रवात्तै बढेको बताइएको छ । बागलुङ, डुम्रे र नवलपुरमा एक–एक र कास्कीमा २ यातायात कार्यालय, गोरखा, लमजुङ र स्याङ्जामा यातायात सेवा कार्यालयले गत आवमा ३ अर्ब १७ करोड राजस्व संकलन गरे ।
सवारी चालक अनुमतिपत्र जारी, नवीकरण, सवारीसाधन दर्ता, नवीकरण र जरिवाना लगायतका शीर्षकमा राजस्व संकलन भएको हो । ती कार्यालयले आव २०७८–७९ मा २ अर्ब २४ करोड राजस्व संकलन गरेका थिए । अघिल्लो वर्षको तुलनामा ९३ करोड बढी राजस्व संकलन गरिएको मन्त्रालयले जनाएको छ । यातायात व्यवस्था कार्यालय पोखराले सबै भन्दा बढी २ अर्ब ५ करोड ६० लाख ४८ हजार दुई सय ६४ रुपैयाँ राजश्व संकलन गरेको छ ।