गण्डकी प्रदेशमा ५० प्रतिशत रोपाइँ

Share this post :

Facebook
Twitter
WhatsApp

प्रदेश कृषि विकास निर्देशनालयको तथ्यांक अनुसार गण्डकी प्रदेशभर हालसम्म ५ं० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । सबैभन्दा बढी कास्कीमा ६ हजार ९ सय ७५ हेक्टर र सबैभन्दा कम गोरखामा ४ सय ५६ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको निर्देशनालयले जनाएको छ ।

केही दिनयता मनसुन सक्रिय रहेकाले किसानलाई रोपाइँको चटारो छ । असार १५ गतेसम्म प्रदेशभर १५ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको थियो । त्यसयता मनसुन सक्रिय भएपछि ५० प्रतिशत पुगेको निर्देशनालयले जनाएको छ । यो वर्ष प्रदेशभर करिब ९८ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने अनुमान गरिएको निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले जानकारी दिए ।

यो वर्ष रोपाइँका लागि मलको अभाव छैन् । बाह्रैमास सिँचाइ सुविधा भएका र दुई बाली फल्ने खेतमा रोपाइँ छिटो हुने गरेको छ । आकाशे पानीमा निर्भर किसान पनि यतिबेला रोपाइँमा व्यस्त छन् । रेग्मीले अधिकांश क्षेत्रमा असारभित्रै रोपाइँ सकिने बताए ।

हिमालपारिका जिल्ला मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा धानखेती गरिन्छ । प्रदेशको कुल ४ लाख ७९ हजार ६ सय १७ हेक्टर खेतीयोग्य जमिनमध्ये बर्सेनि एक लाख हेक्टर वरिपरि वर्षे धान लगाइने गरिएको निर्देशनालयले जनाएको छ ।

नवलपुर, कास्की, स्याङ्जा, तनहुँलगायतका जिल्लामा धानखेतीको क्षेत्रफल बढी छ । धानखेतीका लागि जिल्लामा पकेट क्षेत्र तोकिएको छ । गोरखाको छेवेटार, पालुङटार, आरुघाट, सिरानचोक, लमजुङमा धमिलीकुवा, हर्राबोट, भोर्लेटार, करापुटार, तनहुँको चुँदीफाँट, सत्रसय फाँट, कलेस्तीफाँट, कास्कीको मकैखोला, हाँडीखोला, पामे र लेखनाथ धानको पकेट क्षेत्र हुन् ।

पर्वतको फलेबास, जलजला, स्याङ्जाको पुतलीबजार, आँधीखोला, गल्याङ, म्याग्दीको भगवती, पिप्ले, घतान, बागलुङको बडिगाड, गलकोट, जैमिनी र नवलपुरको कावासोती, गैँडाकोटलगायतलाई धानका पकेट क्षेत्र तोकिएको छ । गण्डकी प्रदेशमा सावित्री, रामधान, जेठोबूढो, खुमल, सुक्खा, एक्ले, पहेँले, गौरिया, मनुसली, सुनौलो सुगन्धलगायत जातका धान लगाइने निर्देशनालयले जनाएको छ । निर्देशनालयले परम्परातगत धानको विउ मासिदै गएको र विकासे धानको बीउ हावी भएको जनायो । निर्देशनालयका अनुसार जेठोबुढो जातको धान कास्कीको पुुरानो धान भए पनि पछिल्लोसमय घट्दै गएको छ । खेतीयोग्य जमिन घडेरीमा स्थापित हुन थालेपछि पुख्यौली धान खेती पनि विस्तापित हुँदै गएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *