गण्डकी प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको सात महिनापछि मंगलबार विषयगत समिति गठन गरिएको छ । राजनीतिक भागवण्डाका कारण सहमति नजुट्दा लोमासमयसम्म विषयगत समिति गठन हुन सकेका थिएनन् । आज बसेको प्रदेशसभाको वैठकमा सभामुख कृष्णप्रसाद धितालले संसदीय समितिको र समितिका सदस्यको नाम पढेर सुनाएका थिए । ती नामलाई प्रदेशसभाको वैठकले स्वीकृत गरेको छ ।
पहिलो कार्यकालमा गठन भएका समितिको नाममा अहिले हेरफेर गरिएको छ । २०७४ को प्रदेशसभा नियमावलीमा व्यवस्था भएबमोजिम प्रदेशसभाको अघिल्लो कार्यकालमा विधायन, सार्वजनिक लेखा, अर्थ तथा विकास र प्रदेश मामिला गरी ४ वटा विषयगत समिति नै क्रियाशील थिए । अव प्रदेशसभामा अर्थ तथा विकास, सार्वजानिक लेखा, प्रदेश मामिला तथा कानून र सामाजिक विकास तथा कृषि समिति गरी चार वटा संसदीय समिति रहने छन् । ६० सदस्यीय प्रदेशसभाका तीन वटा समितिमा १५÷१५ र एउटामा १३ जना सदस्य रहने छन् । चार समितिमध्ये सार्वजानिक लेखा समिति प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको कोल्टामा रहनेछ । बाँकी तीनमध्ये दुई वटा काँग्रेस र एउटामा माओवादी केन्द्रले नेतृत्व लिने छन् ।
गण्डकी प्रदेशसभामा ५ वटा राजनीतिक दलको सहभागीता छ । अघिल्लो अधिवेशनमा विधेयक विधायन समितिमा छलफल गरेर मात्रै पारित गरिन्थ्यो । अव भने, विधेयक प्रदेशसभाका सवै समितिमा छलफल हुनेछ । २०७४ मा बनाइएको प्रदेशसभा नियमावलीका त्रुटि सच्याउनुका साथै आवश्यक परिमार्जन गरी नयाँ नियमावली ल्याइएको हो । सो नियमावलीले सम्बन्धित मन्त्रालयका विधेयक सवै समितिले हेर्न पाउने व्यवस्था गरेको छ ।
संसदीय समिति र समितिमा रहने सदस्य :
अर्थ तथा विकास समितिको सदस्यमा प्रदेशसभा सदस्यहरु गणेशमान गुरुङ, डिल्लीराम सुवेदी, पद्मा जिसी श्रेष्ठ, पार्वती तामाङ, प्रकाश बराल, प्रकाश बहादुर केसी, भोजराज अर्याल, लक्ष्मण बहादुर पाण्डे, विमला गौचन, विन्दु पौडेल, सीता कुमारी सुन्दास र हरिबहादुर भण्डारी रहेका छन । यो समितिको पदेन सदस्यमा आर्थिक मामिला मन्त्री जितप्रकाश आले, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दिपेन्द्रबहादुर थापा र भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली रहेका छन ।
सार्वजनिक लेखा समितिको सदस्यमा कल्पना तिवारी, कृष्णप्रसाद पाठक, खगराज अधिकारी, जीतबहादुर शेरचन, डा। टकराज गुरुङ, टिकाकुमारी बस्याल, दमयन्ती रुचाल, द्रोणकुमार कुँवर, नन्दकला दमै नेपाली, निर्मला थापा, पञ्चराम गुरुङ, भिमबहादुर कार्की, सरस्वती गुरुङ, सुधिरकुमार पौडेल र हरिबहादुर चुमान रहेका छन ।
प्रदेश मामिला तथा कानून समितिको सदस्यमा भने कुशुम बुढा पुन, गोविन्द बहादुर नेपाली, चम्पादेवी खड्का, देवका पहारी त्रिपाठी, नन्दप्रसाद न्यौपाने, विकल शेरचन, भेषबहादुर पौडेल, मित्रलाल बस्याल, मुनिन्द्रजंग गुरुङ, यशोदा रिमाल, रोशनबहादुर गाहा थापा र रेखा गुरुङ रहेको सभामुख धितालले जानकारी दिए । यो समितिमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे पदेन सदस्य रहनेछन ।
सामाजिक विकास तथा कृषिको सदस्यमा अशोककुमार श्रेष्ठ, दिलमाया पौवि, नम्डु गुरुङ, फणिन्द्र देवकोटा, विन्दुकुमार थापा, वेदबहादुर गुरुङ, भक्तबहादुर कुँवर, महेश भट्टराई, राजकुमारी भुजेल, राजीव गुरुङ, लिलबहादुर थापा मगर र श्यामराजा महत रहेका छन । सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडा, कृषि तथा भूमि व्यवस्था महेन्द्रध्वज जिसी र उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारी पदेन सदस्य रहेका छन ।