गण्डकी प्रदेश सरकारले संचालन गरेको गण्डकी विश्वविद्यालयले मुख्य प्रशासनिक भवन बनाउन लागेको हो । शनिवार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेद्धारा शिलान्यास गरिएको उक्त भवनको निर्माण लागत १० करोड ९२ लाख ७१ हजार रहेको छ ।
पोखरा महानगर–३२ मालमुल, स्यालटहरो (ज्ञानकुन्ज)स्थित निर्माण हुँदै गरेको भवनको निर्माण कार्य २०८२ मङ्सिर २ गतेसम्म सक्नुपर्ने गरि सम्झौता भएको गण्डकी विश्वविद्यालयका इन्जिनियर तथा योजना प्रमुख सुदीप कोइरालाले जानकारी दिए । उनका अनुसार २०८१ जेठ १ गते योजनाको सम्झौता गरिएको थियो । भवन तीन तलाको रहनेछ ।
भवन निर्माणको जिम्मा अमेक्क्षा निर्माण कम्पनी काठमाडौंले पाएको छ । भवनको भुइ तलामा १६ वटा कोठा रहने छन् । त्यहाँ विद्यार्थी कल्याणकारी तथा सामाजिक मामिला, आविष्कार केन्द्र, अनुसन्धान केन्द्र, लेखा लगायतका कार्यलय रहनेछन् । दोस्रो तलामा रजिष्ट्रार कार्यालय, योजना तथा विकास कार्यालय, आर्थिक प्रशासन, सामान्य प्रशासन, आइटी युनिट, सभाहल लगायत रहने इन्जिनियर कोइरालाले बताए ।
भवनको तेस्रो तालमा ११ कोठा रहने छन् । त्यहाँ कुलपति र उपकुलपतिका कार्यालय, सभाकक्ष, मानव संशाधन व्यवस्थापन कार्यालय र अन्तर्राष्ट्रिय सम्बन्ध समितिका कार्यालय रहने छन् । नौ सय २७ वर्गमिटरमा बन्ने यो भवनमा ४२ कोठा रहने छन् । भवनको प्रारम्भिक काम भने सुरु भईसकेको छ ।
गुरुयोजना बमोजिम संरचना निर्माण, शैक्षिक कार्यक्रम चलाएर चाँडै विश्वविद्यालयलाई लक्ष्यअनुसार प्रभावकारी रुपमा सञ्चालन गरिने गण्डकी विश्वविद्यालयका रजिष्ट्रार डा कैलाश तिमिल्सिनाले जानकारी दिए । ‘आगामी वर्ष हाम्रो पहिलो ब्याचका विद्यार्थीको दीक्षान्त हुँदै छ’ उनले भने, ‘पहिलो दीक्षान्त आफ्नै भवनमा गर्ने हाम्रो योजना हो ।’
गण्डकी विश्वविद्यालयको स्वामित्वमा पोखरा–३२ मालमुलमा ५ सय २६ रोपनी जग्गा छ । त्यहाँ राष्ट्रिय अविष्कार केन्द्रसहित शैक्षिक कार्यक्रम सञ्चालनका लागि केही भवन बनिसकेका छन् ।
२०७६ मा स्थापना भएको गण्डकी विश्वविद्यालयले विश्वव्यापी मान्यता र स्तर अनुसारको शिक्षा दिने लक्ष्य लिएको छ । अहिले यो विश्वविद्यालयले केन्द्रीय कार्यालय मालमुल, मुस्ताङचोक र महेन्द्रपुलमा विभिन्न संकायमा पढाइ सञ्चालन गरिरहेको छ । खेलकुद व्यवस्थापनमा स्नातक पहिलोपटक नेपालमा सुरु गरेको यस विश्वविद्यालयले यो शैक्षिक सत्रबाट स्नातकोत्तरमा कृत्रिम बौद्धिकता (एआई) अध्यापन सुरु गर्दै छ । गण्डकी विश्वविद्यालयले ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी, ब्याचलर अफ फार्मेसी, बिबिए र बिएएलएलबीका कक्षासमेत सञ्चालन गरिरहेको छ ।