गण्डकी सरकारको सय दिन : बजेट ल्याउनु नै मुख्य उपलब्धी

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेश सरकार गठन भएको शनिवार सय दिन पुगेको छ । सोही अवसर पारि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पत्रकार सम्मेलनमार्फत सय दिनका उपलब्धी सार्वजानिक गरेको छ । यर्थाथमा भन्दा पनि प्रचारमुखीमा व्यस्त गण्डकी सरकारले मुख्य उपलब्धी बजेटलाई लिएको छ ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले छोटो समयमा नीति कार्यक्रम र बजेट ल्याउनु नै मुख्य उपलब्धी रहेको बताएका छन् । गत वैशाख १५ मा दुई मन्त्रीसहित मुख्यमन्त्री पदमा नियुक्त भएका पाण्डेले यो भन्दा मुख्य उपलब्धी अरु हुनै नसक्ने दावी गरे । सय दिनको अवधीमा उनले प्रदेशको नीति कार्यक्रम, बजेट, जनताको जनजिविका र प्रदेशको अधिकारका सवालमा केन्द्रित भएको बताए । गत असार १५ गते अन्तर प्रदेश मुख्यमन्त्री वैठक सम्पन्न पनि अर्को उपलब्धी मानिएको छ ।
संघियतालाई सवलीकरण गर्न १७ बुँदे साझा धारण जारी गरिएको बताउदै उनले असार १६ मा प्रधानमन्त्रीको अध्यक्षतामा गण्डकी प्रदेश सरकारको ब्यवस्थापनमा पोखरामा नै राष्ट्रिय समन्वय परिषद् बैठक सम्पन भएको जानकारी गराए । नीति कार्यक्रम र बजेटपछि मुख्यमन्त्रीको अर्को उलब्धी प्रदेश नीति तथा योजना आयोगमा उपाध्यक्ष र सदस्य, मुख्यन्यायधिवक्ताको नियुक्त मानिएको छ । प्रदेश सरकारले जनताको पक्षमा प्रतिबद्धता गरे पनि तीनै प्रतिवद्धतालाई कार्यान्वयन गर्न सकेका छैनन् ।
सरकारले गत आवमा पनि लक्ष्य अनुसार आम्दानी गर्न नसकेको उनले स्वीकार गरे । प्राप्त स्रोत र साधनलाई अधिकतम प्रयोग गरी नागरिकले महसुस गर्ने गरी कार्यसम्पादनका लागि सरकार प्रतिबद्ध रहेको उनको भनाई छ ।

गण्डकी सरकारका उपलब्धीहरु जस्ताकोतस्तै :

नेपाली जनताको अथक प्रयास, संघर्ष, त्याग र बलिदानको परिणाम स्वरुप महत्वपूर्ण राजनीतिक उपलब्धिका रुपमा २०७२ असोज ३ गते नेपालको संविधान जारी भयो। संविधानले परिकल्पना गरे अनुरुप विकास र समुन्नतिको जनआकांक्षा पूरा गर्ने माध्यमको रुपमा प्रदेश सरकार स्थापना गरियो ।

प्रदेश सरकारको सफलतासँग संघीय शासन प्रणालीकै सफलता गाँसिएकाले नेपालको संविधानले व्यवस्था गरेको सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्धलाई थप मजबुत बनाउनुको विकल्प छैन ।

आर्थिक वर्षको अन्त्यतिर सरकारको जिम्मेवारी सम्हाल्दै गर्दा अघिल्लो सरकारले कार्यान्वयन गरिरहेको कार्यक्रमहरुलाई थप प्रभावकारी, समयसापेक्ष र उपलब्धिमूलक बनाउन जोड दिँदै सीमित बजेट भित्र रहेर जनताको आवश्यकतालाई संवोधन गर्ने प्रयास सरकारले गरेको छ ।

गण्डकी प्रदेशलाई आत्मनिर्भर तथा समुन्नत बनाउनका लागि प्रदेश सरकारले विगतमा गरेका काम र प्राप्त उपलब्धिको रक्षा गर्दै नागरिकसँग नजिक रहेर सहज सेवा उपलब्ध गराउने कार् सरकारको प्राथमिकता रहँदै आएको छ ।

स्थानीय तह, प्रदेश र संघ सरकारबीचको सहकार्यलाई केन्द्रमा राखेर नीति निर्माण, भौतिक, सामाजिक, आर्थिक लगायत समग्र विकासमा हाम्रो ध्यान केन्द्रित भएको छ। उपलब्ध सीमित स्रोत साधनका बीच नागरिकको टड्कारो आवश्यकता तत्काल पूरा गरी आम नागरिकको जीवनस्तर उकास्न उत्पादनमूलक क्षेत्रमा लगानी केन्द्रित गर्ने नीति लिइएको छ ।

नागरिकको आधारभूत आवश्यकताका अलवा स्वास्थ्य, शिक्षा, खानेपानी जस्ता मौलिक हकका सवालमा सरकार गम्भीर रहेको छ । प्रदेशको भूगोल, सामाजिक संरचना, जनसंख्या, भेषभूषा, रहनसहन, भाषा, संस्कृति, परम्पराको जगेर्ना गर्दै समुन्नतिका लागि नयाँरनयाँ सम्भावनाको खोजी गरिँदैछ । पछाडि परेकारपारिएका वर्ग, समुदाय, जातजाति, क्षेत्र र लिङ्गलाई राज्यको मूल प्रवाहमा ल्याउन प्रदेश सरकार सदैव अग्रसर रहनेछ ।
ड्ड पर्यटन, कृषि, ऊर्जा, उद्योग, खेलकुद र पूर्वाधार विकासलाई गण्डकी प्रदेश सरकारले प्राथमिकतामा राखेर तयार गरिएको वार्षिक विकास कार्यक्रम कार्यान्वयनको चरणमा छ ।

प्रदेश सरकारको वार्षिक बजेट तथा वार्षिक विकास कार्यक्रम असार १ गते भित्र ल्याउनुपर्ने र सो पूर्व बजेटको सिद्धान्त र प्राथमिकता एवं वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गर्नुपर्ने कानुनी व्यवस्था रहेको सन्दर्भमा यो सरकार गठन भएलगत्तै त्यसतर्फ ध्यान केन्द्रित गर्नुपर्यो। फलस्वरुप सरकारले छोटो अवधि भित्रै बजेटको सिद्धान्त र प्राथमिकता, नीति तथा कार्यक्रम र वार्षिक विकास कार्यक्रम सार्वजनिक गर्न सफल भयो ।

विनियोजित बजेटको उच्चतम सदुपयोग गरी नतिजामूलक उपलब्धि हासिल गर्ने उद्देश्यले सडक तर्फ रु ३० लाख भन्दा कम बजेटका योजना छनौट नगर्ने, सिंचाई तथा खानेपानीमा रु १० लाख भन्दा कम बजेट विनियोजन नगर्ने र नयाँ भवन निर्माणलाई निरुत्साहित गर्ने जस्ता नीति सरकारले अवलम्बन गरेको छ ।

शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधार विकासका क्षेत्रमा विगतका भन्दा केही नयाँ योजना सरकारले अघि बढाएको छ । यी योजना कार्यान्वयनपछि आम नागरिकले महशुस गर्ने गरी विकासले गति लिनेछ ।

प्रदेश सरकारले लिएको लक्ष्य तथा उद्देश्य हासिल गर्न तयार गरिएको वार्षिक विकास कार्यक्रम समयमै कार्यान्वयन गर्न आवश्यक नीति निर्देशिका तथा मापदण्ड तर्जुमाको चरणमा छौँ । जनताको विकास प्रतिको चाहना, सरकारसँगको साझा अपेक्षालाई पूरा गर्न प्रदेश सरकार प्रतिवद्ध छ ।

प्रदेश सरकारले लिएको लक्ष्य पूरा गर्न र प्रादेशिक संरचनालाई थप बलियो बनाउँदै नागरिक माझ यसको औचित्य स्थापित गर्न गण्डकी प्रदेश सरकारले सय दिनमा गरेको देहाय बमोजिमका मुख्य मुख्य कार्यहरु सार्वजनिक गरिएको छ ।

१. सरकारको आव २०८०–८१ को वार्षिक नीति तथा कार्यक्रम र वार्षिक विकास कार्यक्रम (बजेट) पारित भएको छ ।

२. प्रदेशको हक, अधिकार, कानुन निर्माणका सवालमा केन्द्रित रहेर प्रदेशलाई अझै मजबुत बनाउन गण्डकी प्रदेशको नेतृत्वमा सम्माननीय प्रधानमन्त्रीज्यूको उपस्थितिमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरु सम्मिलित अन्तर प्रदेश मुख्यमन्त्री बैठक विसं २०८० असार १५ गते पोखरामा सम्पन्न भयो । संघीयतालाई सवलीकरण गर्न बैठकबाट १७ बुँदे साझा धारणा जारी गरिएको छ । प्रदेशको अधिकार, भोग्नुपरेको समस्या, संघ सरकारसँग जोडिएका एकल र साझा अधिकारका विषय केन्द्रीत यस बैठकलाई प्रदेश र संघ सरकारलेपनि उपलब्धिको रुपमा लिनु हाम्रो लागि गौरवको विषय हो । सोही अवसरमा गण्डकी प्रदेश सरकारको सहजीकरणमा पहिलो राष्ट्रिय समन्वय परिषद बैठक पनि सफलतापूर्वक सम्पन्न भएको छ । यी बैठकहरुले प्रदेश र संघ सरकारबीच सहकार्यको वातावरण निर्माण गर्न ठूलो मद्दत पुगेको विश्वास लागेको छ ।

३. ‘गण्डकीमा डायलायसिस सेवा ः नागरिकको स्वास्थ्यमा टेवा’ भन्ने नारा सहित झन्झटमुक्त र पालो कुर्नपर्ने अवस्थालाईशुन्यमा झार्न संक्रामक तथा सरुवा रोग अस्पताल, कास्कीमा २५ शय्या क्षमताको डायलायसिस केन्द्र स्थापना तथा संचालन गरिएको छ । २२ वटा नयाँ डायलायसिस मेसिन ल्याइएको छ । जसमध्ये स्याङ्जा, पर्वत, लमजुङ, तनहुँ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा दुई–दुईवटा डायलायसिस मेसिनबाट सेवा सुरु गर्ने तयारी अन्तिमचरणमा छ । प्रदेश अन्तरगतका अस्पतालको क्षमता वृद्धि गरी डायलायसिस सेवा व्यवस्थित बनाइएको छ । १५ वटा नयाँ मेसिन खरिद गर्ने कार्यविधि अन्तिम चरणमा रहेको छ ।

४. मन्त्रिपरिषद्को पहिलो बैठकबाट भएको लिफ्टिङ खानेपानी एवं सिंचाई योजनाको विद्युत महशुलमा अनुदान दिने निर्णयअनुसार गण्डकी प्रदेशका २४० वटा लिफ्ट योजनालाई १ करोड ८८ लाख २६ हजार ८ सय ८० रुपैयाँ अनुदान वितरण गरिएको छ । चालु वर्षदेखि लिफ्ट सिंचाई र लिफ्ट खानेपानीलाई अनुदान दिन ५ करोड विनियोजन गरिएको छ ।

५. मन्त्रिपरिषद्को पहिलो बैठकको निर्णय अनुसार नै यातायात व्यवस्था कार्यालयको सेवा छिटो छरितो र व्यवस्थित बनाउन सुझाव समितिबाट प्राप्त प्रतिवेदनका आधारमा सेवा विस्तार गरी पालो कुर्नुपर्ने अवस्था न्यून गरिएको छ । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, कास्कीमा बिहान ८ बजेदेखि सेवा प्रवाह सुरु गरिएको छ । साथै सवारी साधन चालक अनुमति पत्रको राजस्व अनलाईन प्रणालीबाट गर्ने व्यवस्था मिलाइएको छ ।

६. लम्पी स्किन रोगको रोकथाम तथा उपचारकालागि प्रदेश सरकारले ३३ लाख रुपैयाँको औषधी खरिद गरी जिल्ला स्थित कार्यालयमा पठाएको थियो । सरकारले एक करोड १० लाख तत्काल विनियोजन गरी खोप खरिद गर्न जिल्लास्थित कार्यालयलाई पठाएर औषधी, खोप र जनशक्ति उपलब्ध गराई गण्डकी प्रदेशभित्र यो अवधीमा १ लाख ३ हजार २ सय ३० पशुमा लम्पी स्किन विरुद्वको खोप लगाइएको छ ।

७. प्रदेशमा रासायनिक मलको मागलाई दृष्टिगत गर्दै गण्डकी प्रदेश सरकारको पहलमा मल आपूर्ति तथा वितरण व्यवस्थापन समिति मार्फत साविकमा छुट्टाईएको कोटालाई ३ प्रतिशतवाट बढाएर ४.९प्रतिशत पुर्याइएको छ ।

८. RCIP-AF उप योजना अन्तरगत बाग्लुङ नगरपालिकाको अदालतचौतारी–तित्याङ–सालबोट–दह–भकुण्डे–रायडाँडा–दमेक–बरेङ सडक १५.५ किमी, गोरखाको अबुवा–विर्दी–शेरा–पौवाटार सडक १५.५ किमी, पर्वतको पातीचौर–बाजुङ–क्याङ–नागी सडक १८ किमी स्तरोन्नतिको ठेक्का आह्वान गरी हाल बोलपत्र मूल्याङ्कनको चरणमा रहेको छ ।

९. कृषि नमूना कार्यक्रम संचालनका लागि बजेट विनियोजन भए बमोजिम गोरखा, तनहुँ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा (चैते धान र चिप्स आलु) लमजुङ, कास्की, स्याङ्जामा (चिप्स आलु) पर्वत म्याग्दी र बाग्लुङ (खायन आलु) को लागि २८ करोड, मनाङ र मुस्ताङ (शीतोष्ण जातका फलफूल) को लागि रु ४ करोड छुट्याई मन्त्रालयको उपस्थितिमा सरोकारवाला बीच पूर्व तयारी, छलफल तथा अभिमुखीकरण गर्ने कार्य भईरहेको छ ।

१०. प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीको अभिलेख व्यवस्थित गर्न राष्ट्रिय किताबखानासँग सम्झौता गरी प्रदेश कर्मचारी सूचना प्रणाली प्राप्त गरी प्रदेश किताबखानाको व्यवस्था गरिएको छ ।

११. स्थानीय तहका कर्मचारी व्यवस्थापन गर्न स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ बमोजिम नियमावली मन्त्रिपरिषदबाट स्वीकृत गरी जारी गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

१२. एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण तथा अनुदान सहायतामा सञ्चालन गर्ने गरी स्वीकृत भएको पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना कार्यान्वनको चरणमा छ ।

१३. बजेट कार्यान्वयनलाई व्यवस्थित र मन्त्रालयगत रुपमा एकरुपता कायम गर्न बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन, २०८०–८१ तयार गरी सबै लेखा उत्तरदायी अधिकृतलाई पठाइएको छ ।

१४. पूर्वाधार विकास कार्यक्रम कार्यान्वयनसम्बन्धी कार्यविधि बमोजिम पूर्वाधार विकास कार्यक्रम बाँडफाँट गरी कार्यान्वयन गरिएको छ ।

१५. प्रदेश वन विधेयकको मस्यौदा तर्जुमा गरी स्वीकृतिको लागि प्रदेशसभामा पेश गर्ने चरणमा रहेको छ ।

१६. प्रदेश सरकारमार्फत २० जना सशस्त्र प्रहरीलाई गोताखोर तालिम दिइएको छ । जल दुर्घटना तथा नदीजन्य विपद्का घटनामा उद्दारका लागि मोटरबोट खरिद गरीसशस्त्र प्रहरीलाई हस्तान्तरण गरिएको छ ।

१७. विपद्को समयमा खोज उद्दार र सूचना संकलनको प्रयोजनार्थ ड्रोनकालागि आवश्यक पर्ने (Fly More Kit) नेपाली सेना र सशस्त्र प्रहरी बललाई हस्तान्तरण गरिएको छ ।

१८. सडक दुर्घटना न्यूनीकरणकालागि दुलेगौँडा–कोत्रे सडक खण्ड अन्तरगत पोखरा प्रवेश गर्ने स्थानमा अत्याधुनिक सिसी क्यामेरा जडान गरिएको छ ।

१९. पहिरो, आगलागी, भूकम्प जस्ता विपदबाट प्रभावित व्यक्तिलाई खोज उद्धार र राहत कार्यमा आवश्यक पर्ने ज्ञान र सीप तथा नमूना अभ्यास तालिम तीनवटै सुरक्षा निकायबाट गरी १०७ जनालाई प्रदान गरिएको छ ।

२०. विपद् उद्धारकालागि तीनवटै सुरक्षा निकायलाई ३० सेट सामग्री हस्तान्तरण गरिएको छ ।

२१. गण्डकी प्रदेश सुरक्षा नीति तर्जुमा र प्रदेश सुरक्षा रणनीति सहितको गुरुयोजना निर्माणको अन्तिम चरणमा रहेको छ ।

२२. गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र र ११ वटा जिल्ला प्रहरी कार्यालयमा खाना तातो बनाई राख्ने बेन मेरी एक–एक थान गरी १२ थान हस्तान्तरण गरिएको छ । गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रलाई १० लाख बरावरको डेक्स बेन्च उपलब्ध गराइएको छ ।

२३. गण्डकी प्रदेशमा बीउ बिजन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तयार भएको छ ।

२४. प्रदेशमा प्राङ्गारिक कृषि तथा कृषि जैविक विविधता प्रवर्धनकालागि रणनीतिक कार्ययोजना तयार गरिएको छ ।

२५. स्वास्थ्य तालिम केन्द्रको भवन निर्माणको लागि शिलान्यास गरिएको छ ।

२६. कोभिड १९ विरुद्धको बुस्टर डोज खोपलाई निरन्तता दिइएको छ ।

२७. गण्डकी प्रदेशस्तरीय औद्योगिक क्षेत्र नवलपरासी (ब.सु.पू) को लोकाहाखोला तथा कास्की र तनहुँको पुँडीटार औद्योगिक क्षेत्रको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गरिएको छ ।

२८. ७७ जना युवा उद्यमी तथा व्यवसायीलाई युवा उद्यम तथा स्वरोजगार कार्यक्रम अन्तरगत रु १ लाख ५० हजारसम्मको अनुदान प्रदान गरिएको छ । ८ जना अपाङ्गता भएका युवा उद्यमीलाई ६० हजारदेखि १ लाख १० हजारसम्म प्रोत्साहन रकम उपलब्ध गराइएको र परम्परागत पेशामा लागेका ८ जना युवालाई एक लाख १० हजारसम्म उपलब्ध गराइएको छ ।

२९. प्रदेशभित्रका विभिन्न विद्यालयका ३२ जना शिक्षकलाई स्काउट सम्बन्धी प्रशिक्षण दिइएको छ ।

३०. सरोकारवालासँग बजेट केन्द्रित विकास बहस कार्यक्रम संचालन गरिएको छ ।

३१. मध्यकालीन खर्च संरचना (२०८०र८१–८२र८३) तर्जुमा गरी प्रकाशन गरिएको छ ।

३२. दोस्रो पञ्चवर्षीय योजना निर्माण कार्य आरम्भ गरिएको छ ।

३३. घरेलु मदिरालाई ब्राण्डिङ र बजारीकरण गर्ने, गाँजा खेतीको सम्भाव्यता अध्ययन गरी औषधीजन्य तथा उद्योगजन्य कच्चा पदार्थ उत्पादन प्रयोजनकालागि आवश्यक कानुनी व्यवस्था मिलाउने गरी परामर्श थालिएको छ । साथै यस सम्बन्धमा खोजरअनुसन्धान कार्य गरिरहेका संस्थासँग सहकार्यकालागि चरणवद्ध छलफल भईरहेको छ ।

३४. प्राविधिक जनशक्तिको पदपूर्ति छिटो गराई काममा सहजीकरण गर्न इन्जिनियरिङ सेवाको सातौं र नवौं तहको पदमा विज्ञापन प्रकाशन गरिएको छ ।

३५. गण्डकी प्रदेश भित्रका एक सय ५५ वटा संचार माध्यमलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराइएको छ ।

३६. गण्डकी प्रदेशमा आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्ने चरणमा रहेको छ ।

३७. निमोनिया र पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप कार्यक्रम संचालन गर्न रु ५ करोड बजेट विनियोजन गरी खोप खरिद प्रक्रिया अघि बढाइएको छ ।

३८. बिग स्कुल, लिड स्कुल र रेसिडेन्टल स्कुल संचालन गर्न स्थानीय तहलाई प्रोत्साहित गर्ने नीति अनुरुप बिग स्कुलकालागि ९६० लाख०, नमूनाआवासीय विद्यालय म्याग्दीमा २, मुस्ताङमा १, गोरखामा १ का लागि (२ करोड ३२ लाख) र लिड स्कुलकालागि (१ करोड १० लाख) विनियोजन गरी प्रारम्भिक कार्य सुरु गरिएको छ ।

३९. विद्यार्थीको अतिरिक्त क्षमता विकासकालागि विद्यालयहरुमा “फ्राइडे फर फ्यूचर” कार्यक्रमको तयारी गरिएको छ । शिक्षा सेवा आयोगबाट गण्डकी प्रदेशभित्र सिफारिस भई आउने शिक्षकहरुलाई सेवा प्रवेश तालिम दिने नयाँ कार्यक्रम सुरुवात गरिएको छ ।

४०. “सामुदायिक क्याम्पससँग प्रदेश सरकार” कार्यक्रमका लागि विनियोजित रु १ करोड ७५ लाख रकमलाई सरोकारवाला निकायसँग समन्वय गरी सामुदायिक क्याम्पसको शैक्षिक गुणस्तर वृद्वि गर्न रु ५ करोड पुर्याउने प्रक्रिया सुरु गरिएको छ ।

४१. गण्डकी प्रदेशबाट ओलम्पिकमा सहभागी खेलाडीलाई मासिक रु ५ हजार प्रोत्साहन दिने कार्यको प्रक्रिया अघि बढाइएको छ । साथै School to Olympic कार्यक्रम प्रारम्भ गरिएको छ ।

४२. वन रक्षक पदको करिब १३ हजार दरखास्त संकलन एवं स्वीकृत भई प्रथम चरणको प्रयोगात्मक परीक्षा सम्पन्न गरी नतिजा प्रकाशन गरिएको छ ।

४३. आर्थिक वर्ष २०८०–८१ मा प्रदेश लोक सेवा आयोगबाट पदपूर्ति सम्बन्धी वार्षिक कार्यतालिका प्रकाशन गरिएको र आयोगबाट पदपूर्ति हुने विभीन्न सेवा र समूहका ७ वटा पाठ्यक्रम निर्माण गरिएको छ ।

४४. प्रदेशमा क्रिकेट मैदान निर्माणका लागि उपयुक्त स्थानमा जग्गाको खोजी कार्य भइरहेको छ ।

४५. प्रदेशसभा स्थापनाको छैटौं वर्ष प्रवेश हुँदासम्म पनि प्रदेश सभाका लागि उपयुक्त सभाहल निर्माण नभएकाले यसै आर्थिक वर्षभित्र सम्पन्न गर्न बजेट विनियोजन गरी डिपिआर भईरहेको छ ।

४६. गण्डकी प्रदेशमा मातृ मृत्युदर घटाउन एवं सुरक्षित सुत्केरीको लागि संस्थागत व्यवस्था गर्न सरकारले मातृशिशु सुरक्षाका कार्यक्रमहरू लागू गरेको छ । विशेषतः जटिलतामा रहेका गर्भवती तथा सुत्केरी महिलाको हेलिकप्टर मार्फत् Air Lifting गर्ने कार्यक्रमलाई प्राथमिकताका साथ निरन्तरता दिएको छ । उक्त कार्यक्रम थप व्यवस्थित रूपमा संचालन गर्न गण्डकी प्रदेश सरकारले “जोखिममा परेका गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार कार्यविधि, २०८०” स्वीकृत गरी लागू गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *