सुदुरपश्चिम प्रदेश मुख्यमन्त्री कप (यु-१९) महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका विजेतालाई सम्मान गर्दै गण्डकी प्रदेश सरकारले आर्थिक सहयोग गर्ने घोषणा गरेको थियो । एक वर्ष वितिसक्दा पनि खेलाडीले सो बापत सहयोग नपाएको गुनासो गरेका छन् । तत्कालीन अर्थमन्त्री रामजीप्रसाद बरालले खेलाडीलाई सम्मानपत्रले सम्मान गर्दै जनही ५० हजार रुपैया सहयोग दिने घोषण गरेका थिए ।
कैलालीको धनगढीमा गत चैतमा सम्पन्न भएको सुदुरपश्चिम मुख्यमन्त्री कप यु-१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई ३ विकेटले पराजित गर्दै गण्डकी प्रदेशले उपाधि जितेको थियो । उपाधिस“गै गण्डकीले २ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो । सोही अवसरमा चैत १३ गते अर्थ मन्त्रालयमा उनीहरुलाई सम्मान गरिएको हो । गण्डकी प्रदेश यु-१९ महिला क्रिकेट टोलीमा अन्जली बिश्वकर्मा (उ.क), सिमाना केसी, ज्योत्स्नीका मरासिनी, सोनिया थापा, आकृति तिवारी, कुसुम गोदार, अरबिना अधिकारी, निरु जिटी, सेरिना थापा मगर, मनिसा उपाध्याय (क), सिर्जना पौडेल, जेनिसा खत्रि, आङपेम ल्याम्बु शेर्पा र प्रिती पराजुली थिए ।
उक्त टोलीको टिम प्रशिक्षकमा रिजन प्रजु, सहायक प्रशिक्षक गोविन प्रधान र टिम व्यबस्थापकमा एलिसा लामिछाने थिए । १२ जना टिममा १० जना खेलाडी स्याङ्जाका थिए भने, बाँकी कास्की र नवलपुरका थिए । च्याम्पियन टोलीका १४ खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी १७ सदस्यीय टोलीलाई पुरस्कार दिने अर्थमन्त्री बरालको घोषणा थियो । बरालले प्रदेशको नाम उचो राख्न खेलाडीले पुयाएको योगदानको प्रशंसा गर्दै उक्त टोलीमा आर्थिक सहयोग गर्ने घोषणा गरेको बताए । ‘खेलाडीको प्रोत्साहनस्वरुप केही न केही गर्नुपर्छ भनेर सहयोग दिने भनेका थियौ’ उनले भने, ‘तत्कालीन सयममा खेलकुद मन्त्रालयले फाइल उठाउनुपर्ने । फाइल नउठाइदिएका कारण सहयोग रोकिएको हो ।’ उनले सरकारी तवरबाट दिइने भनेको रकम ढिला नगरि दिनुपर्ने बताए । अहिले उनी सरकारबाट बाहिरीएका छन् ।
ऐतिहासिक सफलता पाउँदा खेलाडीलाई सम्मान गर्दै हौसला र प्रोत्साहनका लागि घोषणा गरिएको पुरस्कार १ वर्षसम्म पनि प्रक्रिया अगाडि नबढ्दा खेलाडी प्रोत्साहित भन्दा पनि निरुत्साहित हुनुपर्ने अवस्था आउने जिल्ला क्रिकेट संघ स्याङ्जाका अध्यक्ष दिवाकर थापाले बताए । केही दिन अघि सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले चार क्रिकेट खेलाडीलाई सम्मान गर्ने क्रममा गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष देवेन्द्र प्रजुले घोषणा गरेको रकम अहिलेसम्म नपाएको बताए । ‘अर्थले मन्त्रालयले सम्मान गर्यो, फाइल खेलकुद मन्त्रालयले उठाउनुपर्ने दुई मन्त्रालयबीच तालमेल नमिल्दा सहयोग रकम नआएको रे’ उनले भने, ‘सरकार फेरबदल भइरहदा पनि दिन्छु भनेको रकम दिइएन ।’ तत्कालीन खेलकुद मन्त्रालय र अर्थ मन्त्रालयको नेतृत्व लिने मन्त्री फरक पार्टीका हुँदा आपसी द्धन्द्धका कारण खेलाडीलाई दिने भनेर घोषण भएको पुरस्कार पाउन नसकेका हुन् । यसरी घोषण गरिएको विषयलाई मन्त्रिपरिषद्को वैठकबाट पारित गर्नुपर्ने भए पनि खेलकुद मन्त्रालयले फाइल नै अघि नबढाएको बराल बताउछन् । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका खेलकुद महाशाखा प्रमुख घनश्याम पौडेलले उक्त पुरस्कारको लागि मन्त्रिपरिषद्को वैठकमा प्रस्ताव पठाउने तयारी भएको बताए ।
अर्थमन्त्री सीताकुमारी सुन्दासले अघिल्लो सरकारले घोषण गरेको पुरस्कार नपाएको भन्दै खेलाडी मन्त्रालयमा नै आएको बताउदै उनले यस विषयमा पनि प्रक्रिया अगाडि बढाइने बताइन् । सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङले खेलाडीमात्र नभई जोकोहीलाई पनि दिने भनेको पुरस्कार बा“की राख्न नहुने भन्दै तत्कालन फाइन उठाउन खेलकुद महाशाखालाई निर्देशन दिएको बताए । ‘खेलाडी हाम्रा गहना हुन’ उनले भने, ‘हामीले खेलाडीलाई उत्साहित बनाउने र सहयो गर्ने हो । आश्वासन बाँडेर निरुत्साहित बनाउन हुदैन ।’