प्रेस सेन्टर नेपालले सत्ता गठबन्धनका साझा उम्मेदवारप्रति गरिएको गलत सूचनापूति ध्यानाकर्षण गरेको छ । नेकपा एमाले र प्रेस चौतारी नेपालमा आवद्ध पत्रकारले मिथ्या सूचना प्रवाह गरेको भन्दै प्रेस सेन्टरले आपत्ति जनाएको हो । शनिवार प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णुप्रसाद सापकोटा (जुगल)को हस्ताक्षरमा प्रेस विज्ञप्ती सार्वजानिक गरिएको छ । विज्ञप्ती जस्ताको तस्तै :
प्रेस सेन्टर नेपालको प्रेस विज्ञप्ति
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको स्थिर समय (मौन अवधि) चलिरहेको अवधिमा नेकपा (एमाले) को प्रचार विभाग सदस्य तथा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलगायत एमालेसम्बद्ध केही पत्रकारले स्थापित अनलाइन तथा पत्रिकाका समाचारलाई प्रविधिको दुरुपयोग (सोर्स कोड परिवर्तन) गरी सामाजिक सञ्जालमा शेयर गरेर अफवाह फैलाएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
पराजित मानसिकताको उपजका रुपमा बस्नेत लगायत उनको संगठनका सदस्यहरुले सेतोपाटी, अनलाइनखबर, रातोपाटी, नयाँ पत्रिका, उज्यालो अनलाइन, लोकपाटी लगायतका स्थापित सञ्चारमाध्यमका समाचारमा सोर्स कोड परिवर्तन गरी हुँदै नभएको विषयलाई शीर्षक र समाचार बनाई स्क्रीनसट गरेर सामाजिक सञ्जालमा पोष्ट गरिरहेका छन् ।
सञ्चारमाध्यममा प्रकाशित समाचारलाई इन्टरनेट र सामाजिक सञ्जालको दुरुपयोग गरी भ्रम फैलाउनु, सोर्स कोड परिवर्तन गर्नु र त्यसकै स्क्रीनसट गरी सामाजिक सञ्जालमा पोष्ट गर्नु साइबर अपराध हो । सम्बन्धित सञ्चारमाध्यमको लोगो र नाम जोडेर बदनाम गर्नु अर्को अपराध हो । यस्तो गलत कार्य पत्रकारिताको मूल्यमान्यता र आचारसंहिताको घोर उलङ्घन पनि हो । त्यसैले यस्तो आपराधिक कार्य गरी पत्रकार र पत्रकारिताको मूल्यमान्यता र मर्यादामाथि आघात पु¥याउने प्रेस चौतारी नेपालका अध्यक्ष बस्नेत लगायत यस कार्यमा संलग्न सबै पत्रकारहरुलाई तत्काल नेपाल पत्रकार महासंघको साधारण सदस्यबाट हटाउन र सूचना तथा प्रसारण विभागबाट लिइएको प्रेस प्रतिनिधि प्रमाण पत्र खारेज गर्न सम्बन्धित संस्थासँग जोडदार माग गर्दछु ।
आम निर्वाचनको समयमा सञ्चारमाध्यम र पत्रकार संवेदनशील भएर मतदातालाई स्वतन्त्र र भयरहित रुपमा मतदान गर्ने वातावरण बनाउनु पर्ने अवस्थामा एउटा पेशागत पत्रकार संगठनको अध्यक्ष भएको व्यक्तिले नै भ्रामक सन्देश फैलाउनु निर्वाचन आचारसंहिताको घोर उलङ्घन हो । यस घटनालाई गम्भीर रुपमा लिई आवश्यक कार्बाहीका लागि कदम चाल्न प्रेस काउन्सिल नेपाल र निर्वाचन आयोगसमक्ष विनम्र अनुरोध गर्दछु । यस्ता गलत कुरामा विश्वास नगर्न सम्पूर्ण सामाजिक सञ्जाल प्रयोगकर्ता, सञ्चारमाध्यमका पाठक, दर्शक, स्रोताहरुलाई हार्दिक अनुरोध गर्दछु ।
२०७९।०८।०३
विष्णु सापकोटा ‘जुगल’
अध्यक्ष