गल्याङ नगरपालिकाद्धारा एक सय ११ जना कृषकलाई सम्मान

Share this post :

Facebook
Twitter
WhatsApp

गल्याङ नगरपालिकाले एक सय ११ जना किसानलाई सम्मान गरेको छ । नगरपालिका भित्र व्यवसायिक रुपमा कृषि तथा पशुपालनमा लागेका कृषकहरुलाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो । नगरपालिकाद्धारा निर्मित नगर सभा हल भवनमा गरिएको सभा हल भवन, पशुसेवा शाखा भवन र आधारभूत स्वास्थ्य सेवा केन्द्र भवन उद्घाटन तथा कृषक सम्मान कार्यक्रममा किसानहरुलाई सम्मान गरिएको हो ।
सम्मान कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले कृषकहरुलाई पेन्सनको व्यवस्था गर्ने आफ्नो चाहना रहेको बताए । उनले यसका लागि कार्यविधि बनाउने तयारीमा नगरपालिका लागिरहेको पनि जानकारी दिए । नगरप्रमुख अधिकारीले भने –‘जीवनभर कृषि पेशामा लाग्नेहरुलाई जीवनको उत्तरार्धमा जीवनयापनमा सहजता होस् भन्ने अभिप्रायले हामीले कृषक पेन्सनको अवधारणा ल्याएका छौं । सही कार्यविधि ल्याएर हामीले यसलाई लागू गर्नेछौं ।’ उनले संसारमा सबै भन्दा ठूलो व्यक्ति कृषक भएको भन्दै कृषकलाई सबैले सम्मान गर्नुपर्ने बताए । नगरप्रमुख अधिकारीले गल्याङ नगरपालिकाले कृषकहरुको प्रोत्साहनका लागि विभिन्न कार्यक्रम ल्याइरहेको भन्दै कृषकलाई हौसला दिन आफु सधैं प्रतिबद्ध रहेको बताए ।


कृषि क्षेत्रबाट आत्मनिर्भर, रोजगारी र स्वरोजगारी सिर्जना गरी बैदेशिक रोजगारीको अन्त्य गर्ने चाहनामा आफु रहेको भन्दै उनले यसको तयारीमा आवश्यक सुझाब दिन पनि आग्रह गरे ।
व्यक्ति एक्लैले केही गर्न नसक्ने र सामुहिक प्रयास रहनुपर्ने भन्दै नगरप्रमुख अधिकारीले गल्याङमा कृषकहरुमा आएको सानो परिवर्तनमा पनि सबैको साथ रहेको बताए ।
दुध, फुल र मासुमा आत्मनिर्भर बन्ने क्रममा नगरपालिका रहेको भन्दै अब थप कार्यक्रमहरु ल्याउने उनले स्पष्ट पारे ।
कार्यक्रममा नेपाली काङ्ग्रेस महाधिबेशन प्रतिनिधि महेन्द्र श्रेष्ठले कृषकहरुलाई सम्मान गर्नु राम्रो काम भएको बताए । सबैको साथ सहयोगले गल्याङ नगरपालिकाको प्रशासनिक भवन बन्न लागेको भन्दै उनले नगरपालिका बनेपछि छोटो समयमा नै धेरै परिवर्तन भैरहेको बताए ।
नेकपा एमाले गल्याङ नगर कमिटि अध्यक्ष दानबहादुर रानाले नगरपालिकाले कृषकहरुका लागि धेरै महत्वपूर्ण कामहरु गरिरहेको बताए । उनले कृषकहरुलाई प्रोत्साहन गरेर अझै उत्पादनमा जोड दिने काममा लाग्न आग्रह गरे । जिल्ला समन्वय समितिका सदस्य धनमाया विकले कृषकहरुका लागि नगरपालिकाले ल्याएको नीति महत्वपूर्ण रहेको बताए । वडा नम्बर तीनका अध्यक्ष महेश भट्टराईले आफ्नो कार्यकालमा स्थानीय जनताको हितका लागि सकेसम्म धेरै काम गरेको भन्दै अब मुल्याकंन गर्ने बेला आएको बताए । वडा नम्बर सात का अध्यक्ष रामविर गुरुङले किसानहरुको पक्षमा नगरपालिकाले गरेका कामहरुको बारेमा स्पष्ट पारे ।
कार्यक्रममा गल्याङ उद्योग वाणिज्य संघका अध्यक्ष यज्ञप्रसाद अर्याल, गल्याङ चेम्बर अफ कमर्सका अध्यक्ष गंगाप्रसाद श्रेष्ठ, अदुवा उत्पादन तथा प्रशोधन केन्द्र वालिङका शिबलाल डुम्रे, लगायतले मन्तव्य राखेका । कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्मा, उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष लेखनाथ भट्टराई, गल्याङ चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष अर्जुन रानाभाट, उपाध्यक्ष कुमार श्रेष्ठ, वडा अध्यक्षहरु, नगर कार्यपालिका सदस्यहरु, सभासदहरु, कर्मचारी लगायत विभिन्न दलका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा नगर प्रमुख भुपराज अधिकारीले भर्खरै सम्पन्न भएका तीन वटा भवनहरु नगर सभा हल भवन, पशुसेवा शाखा भवन र आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन पनि गरेका थिए । नगर सभाहल नगरपालिकाको लागतमा बनेको भवन हो भने पशु सेवा शाखा भवन विश्व बैंकको सहयोगमा नेपाल लाईभ स्टक सेक्टर इनोभेसन आयोजना (एनएलएसआइपी) को लगानीमा बनेको हो । यस्तै, आधारभूत स्वास्थ्य सेवा केन्द्र भवन संघीय सरकारको सहयोगमा बनेको भवन रहेको प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *