वैदेशिक रोजगारीको लागि एक वर्षअघि अमेरिका गएका स्याङ्जाको आँधीखोला गाउँपालिका–६ टिकाजाका ३१ वर्षिय रमेश अधिकारी यतिबेला गाउँ बनाउने अभियानमा छन् । रोजगारीको लागि विदेशीएका उनी गाउँ बनाउने हुटहुटीले फर्किएको बताउँछन् । गाउँका युवालाई पनि आफ्नै साथमा लिएर उनी यतिबेला गाउँ निमार्णमा जुटेका हुन् ।
नेपालीको महान् पर्व विजया दशमी (दसै) नजिकिदै छ । गाउँमा चहलपहल बढ्न थालेको छ । वैदेशिक रोजगारी र अध्ययनको लागि विदेशिएका क्रमशः फर्किन थालेका छन् । रोजगारीको लागि शहर हानिएका पनि दसै आएपछि गाउँ फर्किन थालेका छन् । गाउँका बासिन्दा बाटाघाटा, चोक, चौतारा, चउर, मठ–मन्दिर सरसफाईमा जुटेका छन् । गाउँमा यतिबेला छुट्टै रौनक छ । मुहारै फेरिएको छ । त्यही अभियानको नेतृत्व अहिले रमेशले लिएका हुन् । ‘मेरो लागि सधै दसै आएको छ’ उनले भने, ‘जव गाउ“ बनाउने मनमा हुटहुटी लिएर घर फर्किए । जव घरवाट बाहिर निस्किन्छु तव गाउँ नै उज्यालो देख्छु ।’
अहिले गाउँ फर्किएका युवालाई मात्र होइन् आफ्नो अभियानमा बृद्धबृद्धालाई पनि सहभागी गराएका उनी मठ–मन्दिर संरक्षण, बोटविरुवा बृक्षारोपणमा सक्रिय छन् । अमेरिकाको नर्थ क्यारोलिना राज्यमा एक वर्ष बसेका उनी त्यहाँको विकास देख्दा गाउँ सम्झिएर फकिएको बताउँछन् । उनी दिनहुँ जसो एउटा न एउटा सामाजिक अभियान सन्चालन गरिरहेका हुन्छन । पर्यटन प्रर्बद्धन, कृषिजन्य उत्पादन, धार्मिक, साँस्कृतिक धरोहरको संरक्षण र स्थानीय युवालाई विदेश पलायन हुन नदिने उनका योजना छन् । हिजो–आज पनि उनी सडक पेटीमा सौन्दर्यजन्य बोटविरुवा रोप्नमा नै व्यस्त छन् । ‘वन कार्यालयले पनि विरुवा उपलब्ध गराएर सहयोग गरेको छ’ उनले भने । यस्तै, गाउँमा पुस्तकालय आवश्यक ठान्दै स्थापनाको लागि स्रोत व्यवस्थापनमा पनि जुटेको उनले बताएका छन् ।
गत भदौ ११ देखी उनी अभियान बनाएर गाउँका युवालाई पनि सँगसँगै हिडालेका छन् । सामाजिक लाभ, भु–क्षय कम, गाउँको सुन्दरतामा बृद्धि, सामूहिक मौरीपालनमा गाउँका अन्य युवालाई पनि सक्रिय बनाएको उनले बताए । स्थानीय युवाको नैतिक, सामाजिक र आर्थिक सहयोगले आफ्नो अभियानले निरन्तरता पाएको उनको भनाई छ । उनी न्युजिल्याण्ड, अमेरिका, थाइल्याण्ड लगायतका ८ भन्दा बढी देशमा भ्रमण गरिसकेका छन् । विभिन्न देशको भ्रमणमा निस्किदा सडकका छेउछोउमा भएका पुल र त्यसैवाट सामूहिक मौरीपालन गरि यथेष्ट मह उत्पादन गरेको देखेपछि आफूलाई नै गाउँ फर्किएर त्यस्तै काम गर्ने योजनाका साथ गाउँ फर्किएको अधिकारी बताउँछन् । आँधीखोला–१ का शिव ढकालले अमेरिका जस्तो मूलुकमा पुगेर आफ्नै गाउँ बनाउनुपर्छ भनी एक वर्षमै घर फर्किएका ३१ वर्षिय ती युवालाई आफूहरुले साथमा साथ र हौसला दिएको बताए । ‘यदी हामीले साथ नदिने हो भने, गाउँ बनाउँछु भन्दैमा एक्लै कोही पनि सफल हुदैन’ उनले भने, ‘यदी हामीले साथ मात्रै दिनुपर्छ । युवाहरु आफै समाज निर्माणमा उत्साहित हुन्छन् ।’ ढकाल पेशाले शिक्षक हुन् । उनले गाउँ बनाउनुपर्छ भन्ने शिक्षा दसैमा मात्र सिकेको बताउँदै भने, ‘अव गाउँको सरसफाई दसैमा मात्र होइन, बाह्रै महिना गर्नुपर्छ । नयाँ पुस्तालाई पनि सरसफाई, बृक्षारोपण, सामूहिक खेती, उद्यमशिलताको कार्यमा जोड्न र सिकाउन जरुरी छ ।’
