रामेछाप जिल्लाकाे रामेछाप नगरपालिका-८ मा रहेकाे गौरीशंकर बहुमुखी क्याम्पसले जेहेनदार र गरिव परिवारका विधार्थीलाई नि:शुल्क पढाउने भएकाे छ । शुक्रबार बसेकाे क्याम्पसकाे वैठकले उक्त निर्णय गरेकाे हाे । क्याम्पसका अध्यक्ष सन्देश घिमिरेकाे अध्यक्षतामा बसेकाे वैठकले बिए र बिएड पहिलो बर्षमा पहिले आउने २० जनालाई भर्ना निशुल्क गर्ने निर्णय गरेको छ ।
अध्यक्ष घिमिरेले बाह्र कक्षा पढेपछि गाउँबाट शहर बसाइँ सर्ने र विदेशिने प्रचलनले स्नातक अध्ययन नगर्ने हुँदा गाउँका क्याम्पस खाली हुँदै गएकाे बताए । क्याम्पसमा विधार्थी संख्या बढाउने र गाउँमा सबैलाई स्नातक तहसम्म पढाउने अभियानसहित नि:शुल्क अध्यापनकाे काेटा राखिएकाे उनले बताए । ‘स्नातक तह पढेपछि राेजगारीकाे लागि पनि बाटाे खुल्छ’ उनले भने, ‘थाेरै पढाईका कारण राेकिनुपर्ने अवस्था आउदैन । अहिले जनप्रतिनिधि, स्थानीय नेता, युवायुवती सबैलाई पढन अनुराेध गरेका छाै । आर्थिक अवस्था कमजाेर भएर बीचमै पढाइ छाड्नेलाई पनि पढ्नकाे लागि नगरपालिकाका सबै वडा कार्यालयले सहयाेग गरेका छन् ।’ अध्यक्ष घिमिरेले विवाहपछि पढाइ छाेडेर बसेका गाउँका महिलालाई क्याम्पस पढाउनका लागि उत्साहका साथ क्याम्पस भर्ना गरिएकाे बताए । गाैरीशंकर जिल्लाकै पुरानाे बहुमुखी क्याम्पस हाे । यहाँ हाल डेढ सय विधार्थी अध्ययनरत छन् ।