गुर्जामा जडीबुटी खेतीको अध्ययन केन्द्र बनाइने

Share this post :

Facebook
Twitter
WhatsApp

म्याग्दीको गुर्जामा जडीबुटी खेतीको अध्ययन केन्द्र बनाइने भएको छ । यस जिल्लाको उपल्लो लेक हो गुर्जा । धौलागिरी गाउँपालिका–१ मा रहेको गुर्जाको सामुदायिक वनमा गरिएको जडीबुटी खेती प्रभावकारी बन्दै गएपछि यसलाई अध्ययन केन्द्र बनाउन पहल गरिएको हो ।

तीन वर्ष अघिदेखि गुर्जाको पिउथिवा सामुदायिक वन उपभोक्ता समूहले गुर्जा नाइलीवाङको करिब १० रोपनी जमिनमा अतिस र सेदकचिनी (खिरौला) लगायतका विभिन्न जातको जडीबुटी खेती सुरु गरेको थियो ।
धवलागिरि–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालका अनुसार डिभिजन वन कार्यालयको सहयोगमा एक लाख ३५ हजार अतिस र खिरौलाका बिरुवालगायत अन्य बहुमूल्य जडीबुटी निकै राम्रोसँग फस्टाउँदै गएपछि जडीबुटीको ‘हब’ र अध्ययन केन्द्र बनाउन लागी परेका छौ । उनले समूहमा आबद्ध २५ जनाले सामूहिक रूपमा श्रमदान गरेर बाँझो जमिन खनजोत गरेर रोपेका बिरुवा अहिले उत्खननयोग्य बनेका बताए । यहाँ ढुंगाको एक सय पाँच मिटर लामो पर्खाल निर्माण गरिएको छ । अध्यक्षले जडीबुटीको संरक्षणका लागि बनाइएको बताए ।

उनका अनुसार यहाँ अतिस, विषमा, खिरौला, विषजरा, पदमचाल, अमलवेद लगायतका दुई दर्जन बढी प्रजातिका जडीबुटीको खेती सुरु गरिएको छ । वन कार्यालयले गत आवमा चार लाख ८० हजार सहयोग गरेको थियो । उपभोक्ताले १० प्रतिशत लागत साझेदारी गरेका थिए । यहाँ २०७७ बाट जडीबुटी खेतीको सुरुवात गरिएको थियो । अहिले बजारमा अतिस, खिरौला र बिसजराको माग उच्च छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *