माओवादी जनयुद्धको आधारभूमि रहेको गोरखामा २०७४ को स्थानीय तहको निर्वाचनमा काग्रेसले बलियो पकड बनाएको थियो । जिल्लाका ११ पालिकामध्ये ९ कांग्रेसले जित्दा माओवादी २ पालिकामा सिमित भयो ।
माओवादीका शीर्ष नेता नारायणकाजी श्रेष्ठ र जसपाका नेता डा बाबुराम भट्टराईको गृहजिल्ला गोरखामा माओवादीले यसपालि नतिजा उल्टाएको छ । यहाँ कांग्रेस–माओवादी गठबन्धनका लागि अनेक पहल भए पनि सफल भएन् । दुई पालिमा मात्रै लिएर माओवादी चुनावमा जाने तयारीमा थियो । गोरखा नगरपालिका र एक गाउँपालिकामा कांग्रेस र जसपाको गठबन्धन बन्यो । अन्यत्र सबै पार्टी एक्लै लडे । निर्वाचन परिणाम सार्वजनिक हुँदा यहाँ माओवादीले बलियो पकड बनाउन सफल भयो ।
जिल्लाका ९ पालिका जितेको माओवादी केन्द्र यहाँ निर्णायक शक्ति बनेको छ । नेपाली कांग्रेस २ पालिकामा सिमिति हुन पुग्यो । डा बाबुराम भट्टराईको बर्हिगमनपछि जिल्लामा कमजोर ठानिएको माओवादीले स्थानीय चुनावमा आशातीत सफलता पाएको छ । गण्डकी प्रदेशमा ११ पालिका जितेको माओवादीले गोरखामा मात्रै ९ पालिका जितेको हो ।
माओवादीले पालुङटार नगरपालिका, बारपाक सुलीकोट गाउँपालिका, अजिरकोट गाउँपालिका, चुमनुब्री गाउँपालिका, धार्चे गाउँपालिका, सहिद लखन गाउँपालिकाका प्रमुख, उपप्रमुख र गोरखा नगरपालिका, गण्डकी गाउँपालिका, भीमसेनथापा गाउँपालिकाको प्रमुख जित्न सफल भएको छ । कांग्रेसको बलियो गढ मानिएको गोरखा नगरपालिकामा प्रमुख जितेको माओवादीले पालुङटार नगरपालिकामा निवर्तमान मेयर दीपकबाबु कँडेललाई हराएको छ । पालुङटार डा बाबुराम भट्टराई गृह पालिका हो ।
यहाँ कांग्रेस–जसपा गठबन्धन गर्ने सहमति भए पनि स्थानीय तहमा सफल भएन । अन्तिम समयमा यहाँ एमाले र जसपा गठबन्धन बने पनि गठबन्धनले जित्न सकेन । आरूघाट गाउँपालिका, सिरानचोक गाउँपालिकामा प्रमुख, उपप्रमुख र भीमसेन थापा गाउँपालिका, गण्डकी गाउँपालिका, गोरखा नगरपालिकाको उपप्रमुखमा कांंग्रेसका उम्मेदवार विजयी भएका छन् ।
