गोरखामा राष्ट्रपति रनिङ शिल्ड हुने

Share this post :

Facebook
Twitter
WhatsApp

गोरखामा आठौं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । जिल्ला सदरमुकामस्थित असार १९ देखि २१ सम्म प्रतियोगिता गरिने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सान्तसिंह बस्नेतले जानकारी दिए ।
कोरोनाका कारण २ वर्ष यता हुन नसकेको प्रतियोगिता यस वर्ष भने वर्खामै भएपनि गर्ने निर्णय गरिएको उनले बताए । ‘कोरोनाले गर्दा यसअघि जिल्लामा खेल गतिविधि ठप्प भएका थिए’ उनले भने, ‘अहिले वर्खामै भएपनि प्रतियोगिता गर्नुपर्छ भन्ने निष्कर्षमा हामी पुगेका छौं ।’
वर्खाले प्रतियोगिता गर्न केही कठिनाइँ भएपनि यसले जिल्लाको खेलकुद विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनको अपेक्षा छ । प्रतियोगितामा जिल्लाका ११ वटै स्थानीय तहमा रहेका विद्यालयमा अध्ययनरत विद्यार्थीले भाग लिनेछन् । ‘वर्षाले समस्या गर्छ भनेर प्रतियोगिता छोट्याएर ३ दिनको बनाएका छौं’ उनले भने, ‘हजार मिटर र १५ सय मिटर दौड सडकमा गराउँछौं । अन्य दौड भने ट्याक बनाएर रङगशालामा गरिनेछ ।’
सहभागिताका लागि सबै स्थानीय तहलाई टेलिफोन मार्फत जानकारी गराइसकिएको छ । प्रतियोगितामा कवड्डी, भलिबल, एथ्लेटिक्सका विभिन्न बिद्याहरु, मार्सल आट्र्स तर्फ कराँते ताइकान्दु र टेबल टेनिस लगायतका विद्यामा प्रतियोगिता गराइने आयोजकले जनाएको छ । स्थानीय तहले १७ गते अघि पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न गरी १८ गते साँझ सम्म बिजेता खेलाडी पठाइसक्नु पर्नेछ । जिल्लाका बिजेता २२ गते प्रदेश स्तरीय प्रतियोगितामा भाग लिनलाई पोखरा पुग्नेछन् । प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता असार २३ र २४ गते पोखरामा हुने बताइएको छ । त्यहाँ बिजेतालाई राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा भाग लिन जानेछन् ।
सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सिरानचोक गाउँपालिकाले जितेको थियो । प्रतियोगिताका लागि बजेट प्राप्त नभएपनि कार्यक्रम सकिएपछि माग गरिने उनले बताए । सदरमुकाममा आयोजना भएकाले उक्त प्रतियोगितामा गोरखा नगरपालिकाले र विभिन्न प्रायोजकको पनि सहयोग उपलब्ध हुने आयोजकको अपेक्षा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *