गण्डकी प्रदेशस्तरीय दोश्रो खुल्ला आर्चरी प्रतियोगिता २०७९ अन्र्तगत रिकर्ब खुल्ला पुरुष प्रतिस्पर्धामा बागलुङका दुर्गा घर्तिमगर प्रथम भएका छन् । पहिलो दिनको खेलमा तेश्रो स्थानमा रहेका उनले दोश्रो दिनको खेलमा ६–० को अंकले बागलुङकै खड्गबहादुर घर्तीमगरलाई पराजित गरी जित हाँसिल गरेका हुन् ।
कास्की जिल्ला आर्चरी संघको सह–आयोजनामा पोखरा रगंशालाको आर्चरी खेल मैदानमा भएको खेलमा कास्कीमा सुमन गुरुङले ६–४ को अंकमा कास्कीकै अशिम शेरचनलाई पछि पार्दै तेश्रो भए ।
त्यसैगरी रिकर्ब खुल्ला महिलातर्फको प्रतिस्पर्धामा कास्कीले जित हाँसिल गरेको छ । शनिबारको खेलमा कास्कीकी केशरीमाया आलेमगरले कास्कीकै अनुस्का शेरचनलाई ७–३ को अंकमा पराजित गर्दै उपाधि जितिन । कास्कीकी रोजीना थापाले कास्कीकै बिष्णुमाया लिम्बुलाई ६–४ को अंकले पराजित गर्दै तेश्रो भइन् ।
पुरुष स्टाण्डर्टतर्फको विधामा बागलुङका हिकमत पुरीले कास्कीका कुमार पुर्जालाई ६–२ को अंकमा पराजित गरी उपाधि जिते । बागलुङका मुकेश रोका मगरले रेशमपुर्जा पुनलाई ७–५ को अंकमा पराजित गरी तेश्रो भए । प्रतियोगितामा रिकर्ब ओपन पुरुषतर्फ विजेतालाई ३०, उपविजेतालाई २० र तेस्रो हुनेलाई १५ हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको थियो । रिकर्ब ओपन महिलातर्फ विजेतालाई भने १५, उपविजेतालाई १० र तेस्रो हुनेलाई ५ हजार प्रदान गरिएको थियो । स्टाण्डर्ट पुरुषतर्फ विजेतालाई २०, उपविजेतालाई १५ र तेस्रो हुनेलाई १० हजार प्रदान गरिएको छ ।
उक्त प्रतियोगिता अन्र्तगत शुक्रबार भएको भेट्रान्सतर्फको विधामा म्याग्दीका जयप्रकाश छन्त्याल प्रथम भए । प्रतियोगितामा गण्डकी प्रदेशका मुस्ताङ, म्याग्दी, बागलुङ र कास्कीबाट करिब ८९ जना खेलाडीको सहभागिता भएकोे कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले बताए । भेट्रान्स पुरुषतर्फ प्रथम हुनेले ८ हजार, दोस्रो हुनेले ५ हजार र तेस्रो हुनेले ३ हजारको साथमा मेडल र प्रमाण पत्र प्राप्त गरे । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना उक्त प्रतियोगिता संचालन गरिएको थियो ।
