२०६४ सालमा १२० सिट जितेर नेपालमै पहिलाे पार्टी बनेकाे माअाेवादी पछिल्लोसमय टुट र फुटका कारण खुम्चिदै गयाे । पार्टी कमजाेर बन्दै गएपछि यतिबेला पुष्पकमल दाहालले पार्टीलाई बलियाे बनाउन नेत्रविक्रम चन्दलाई पुरानै घर्रामा उभ्याउन कसरत गरिरहेका छन् ।
समाजवादी मोर्चामार्फत सहकार्य थालेका माओवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले राजनीतिक नीति तथा विचारमा सहमति जुटाएर पार्टी एकता गर्ने योजना बनाएका छन् । शान्ति प्रक्रियामा असन्तुष्टि जनाउँदै चन्द दशकअघि पार्टीबाट अलग्गिएका थिए । चन्दलाई फर्काउन माओवादी अध्यक्ष दाहालले नै अग्रसरता लिइरहेका छन् ।
शान्ति प्रक्रिया भएकाे ६ वर्षपछि चन्द दाहालसँग अलग्गिएका थिए । ११ वर्षपछि भने उनीहरूबीच समाजवादी मोर्चामार्फत सहकार्य सुरु भएको हो । माओवादी अध्यक्ष दाहाललगायत नेताविरुद्ध गत फागुनमा सर्वोच्च अदालतमा मुद्दा दर्ता भएपछि चन्दले ‘द्वन्द्वकालीन मुद्दामा दाहाललाई छोए सह्य नहुने’ अभिव्यक्ति दिएका थिए । मुद्दा दर्तापछि दाहाल र चन्दबीच निकटता बढेको थियो । द्वन्द्वकालीन मुद्दाका सन्दर्भमा पछिल्लो समय चन्द सधैं दाहालको पक्षमा उभिँदै आएका छन् । दस वर्ष सशस्त्र युद्ध हाँकेको मुख्य नेता दाहाल भएकाले अझै पनि समाजवादी क्रान्ति अघि बढाउने मुख्य जिम्मेवारी उनकै भएको चन्दले बताउने गरेका छन् ।
समाजवादी माेर्चा बनेपछि एकताका लागि ढाेका खुलेकाे माओवादी महासचिव देव गुरुङले बताए । उनले पूर्वमाओवादी एक ठाउँमा उभिन खोज्नु स्वाभाविक रहेकाे प्रतिक्रिया दिएका छन् । उनले भने, ‘राजनीतिक विचार तथा नीतिमा छलफल हुँदै छ ।’ राजनीतिक नीतिमा सहमति हुन गाह्रो नहुने उनको भनाइ छ । माओवादीको केन्द्रीय समिति बैठक असार तेस्रो साता बस्दै छ । चन्द अहिलेसम्म सत्तामा पुगेका छैनन् ।
माओवादी नेताका अनुसार पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले चन्दलाई मोर्चामा ल्याउन लामो समयदेखि कसरत गर्दै आएका थिए । महरा रोल्पामा शिक्षक छँदा चन्द विद्यार्थी थिए । माओवादीमा नरहेको अवस्थामा समेत चन्द महरालाई विश्वास गर्थे । चन्दकाे पुख्याैली घर पनि राेल्पा हाे । हाल उनी कपिलवस्तु बसाइँ सरेका छन् ।व्यवसायीकरूपमा तरकारी खेती गरेका चन्दले सामुदायिक अस्पताल पनि संचालन गरेका छन् ।