चीन सरकारले नेपाललाई २८ करोड रुपैयाँ बराबरको राहात सामाग्री सहयोग गरेको छ । आज पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थलमा चिनियाँ सेनाका दुई वटा एयरक्राफ्टमार्फत राहात सामाग्री ल्याइएको हो । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ राजदुत छन् सङमार्फत जाजरकोट र पश्चिम रुकुमका भुकम्पपीडितका लागि चीन सरकारले पठाएका राहत सामाग्री बुझे ।
उपप्रधानमन्त्री श्रेष्ठले त्यसका लागि चिनियाँ सरकारप्रति कृतज्ञता जाहेर गरे । नेपाल र चीन ऐतिहासिक मित्रदेश भएको, दुबै मुलुक एकअर्काको दुस्खमा साथमा रहेको र यो द्रुत सहयोगले त्यसलाई अझ प्रमाणित गरेको उपप्रधानमन्त्री श्रेष्ठले बताएका छन् ।
विमानबाट ल्याइएका सामग्रीमा ४६ सय तातो कम्बल र ६ सय वटा त्रिपाल छन् । कम्बलहरु असाध्यै गुणस्तरीय र त्रिपाल पनि सरकारी कार्यालय संचालन गर्ने खालका भएकाले महंगो रहेको गृहमन्त्री श्रेष्ठले जानकारी दिए । उनले रुकूम र जाजरकोटका जिल्ला प्रशासन कार्यालयसंग समन्वय गरेर राहात सामाग्री आजै पठाइने बताएका छन् ।
गृहमन्त्रीले सरकारको तर्फबाट राहातका कमजोरी नभएको बताउदै तत्काल ५/५ गरी दुई जिल्लामा १० करोड पठाइएको बताए । ‘हामीले प्रमुख जिल्ला अधिकारीलाई भनेका छौ राहातमा कमी भएको गुनासो आए कारबाही तपाईहरुलाई हुन्छ’ उनले भने, ‘राहातमा सरकारको तर्फबाट कमी हुने छैन् ।’ चाइना सरकारले भुकम्पलगत्तै १० करोड बराबरको राहात सामाग्री दिने घोषण गरेको थियो । सो बापत २३ ट्रक सामाग्री पनि रसुवागढी नाका हुँदै आजै काठमाडौँ आइपुगेको छ ।
दुई हजार तीन सय टेण्ट, दुई हजार ब्लाङ्केट, सात सय टर्पलिन, पाँच सय वटा महामारी रोक्ने स्पेयर र साँढे १० हजार वटा लामखुट्टे मार्ने औषधि छन् । आज बिहान काठमाडौं आइपुगेको उक्त सामाग्री तत्काल प्रभावित क्षेत्रमा पठाइने छ भने पोखरा आएको सागाग्री पनि प्रभावित क्षेत्रमा पठाउने तयारी रहेको गृहमन्त्री श्रेष्ठले बताए ।
राजदुत सङले पश्चिम नेपालको भुकम्पका कारण भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुस्ख व्यक्त गर्दै मृतकहरूमा श्रद्धाञ्जली र पीडामा परेका जनतामा समवेदना व्यक्त गरे । नेपाल र नेपाली जनताको दुस्खमा आफ्नो देशको सधैं साथसहयोग रहने र राष्ट्रपति सि जिन पिङलेसमेत पत्र पठाएर त्यो संवेदना जाहेर गर्नुभएको उनले बताए ।