स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा पोखरा महानगरले पोखराका सडकमा साइकल लेन बनाउन सुरु गरेको छ । पोखरा महानगरले चुनावलाई लक्षित गर्दै रातारात साइकल लेन निर्माण गर्न लागेको हो । प्रमुख पर्यटकीय शहर पोखरामा साइकलयात्रीको संख्या बढ्दै गएपछि साइकललेन बनाउन लागिएको पोखरा महानगरका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए ।
‘पोखरा शहरभित्रका सडक पिचसँगै रंगरोवन गर्दा साइकल लेन बनाइएको थिएन’ उनले भने, ‘साइकलयात्रीलाई मध्येनजर गर्दै साइकल लेन बनाउन सुरु गरेका छौ ।’ पोखराको मुख्य बजार जिरो किलोमिटरदेखी न्युरोड हुदै“ चिप्लेढुंगासम्म साइकल लेन बनाइएको छ । अन्य स्थानमा भने बनाउने कार्य भइरहेको प्रवक्ता नेपालीले जानकारी दिए । उनका अनुसार सडकको दुईतर्फी नै साइकल लेन बनाइनेछ । पोखरा महानगर–८ का सुनिल सुवेदीले चुनावको मुखैमा महानगरले ठूलो काम गरे भन्ने भ्रम पार्न रातारात साइकल लेन निर्माण गरेको बताए । ‘यो के नै ठूलो काम हो र ?’ उनले भने, ‘चुनावपछि पनि बनाउन सकिन्थ्यो नी ।’
मतदातलाई प्रभाव पार्ने गरि चुनावको मुखमा महानगरले गरेका कार्यमध्ये यो पनि एउटा रहेको उनको तर्क छ । ‘यतिका समयसम्म नभएका काम चुनावकै मुखमा कि गरिन्छ’ उनले प्रश्न गरे ? साइकल सिटी पोखराको परिकल्पना र महानगरको लगानीमा साइकललेन निर्माण गरिएको साइकल सिटी पोखराका पुर्व अध्यक्ष प्रकाश बज्राचार्यले बताए । उनका अनुसार सन् २०१२ मा साइकल लेन निर्माण गर्ने योजनासहित संस्था खोलिएको थियो । ‘२०७१ भदौ १६ मा पहिलोपटक पोखरामा साइकल लेन चाहिन्छ भनेर एकैपटक आवाज उठाइयो’ उनले भने, ‘हामीले पटक–पटक यसको लागि बजेट माग गरेउ । पोखरा महानगर, प्रदेश र संघीय सरकारले कुनै वर्षमा पनि हाम्रो माग सम्बोधन गरेनन् । महानगरले अन्तिममा भए पनि पोखरामा साइकल लेन आवश्यक छ है भन्ने महशुस गर्यो ।’
साइकल लेन निर्माणको लागि ३५ लाख रुपैया“ खर्चिएको छ । जसमा पोखरा महानगर र संस्थाले पनि केही रकम खर्च गरेको उनले बताए । उक्त बजेट पनि न्युन भएकाले अन्य सडकमा साइकल लेन निर्माण कार्यमा समस्या भएको बज्राचार्यले सुनाए । उनका अनुसार एक हप्तादेखी रातको समयमा साइकल लेन निर्माण गरिएको हो । पोखरा महानगरले दुई वर्षअघि साइकल लेन निर्माणको लागि डीपीआर समेत निर्माण गरेको थियो । तालैतालको शहर भनेर चिनिने पोखरामा फेवातालदेखी बेगनासताल हुदै“ अन्य तालसम्म साइकलबाटै यात्रा गर्न मिल्ने गरि योजना तय भएको महानगरका प्रवक्ता नेपालीले बताए । साइकल सिटि संस्थाका अनुसार साइकल लेनको लागि ७६ किलोमिटरको खाका तयार भएको थियो । बज्रचार्यका अनुसार अहिले पोखरामा दैनिक एक हजार साइकल गुड्छन् । साइकल सिटिमा दुईसय ५० भन्दा बढी साइकलयात्री आवद्ध रहेको उनले जानकारी दिए ।
