चुनाव केन्द्रीत कार्यक्रम लिएर दलहरु घरदैलोमा

Share this post :

Facebook
Twitter
WhatsApp

आउँदो ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा राजनीति दलहरु चुनाव केन्द्रीत कार्यक्रममा जुटेका छन् । घरदैलामा जुटेका उनीहरुका विभिन्न गतिविधि चुनाव लक्षित छन् । विशेषतः नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा माओवादी चुनावी कार्यक्रमसहित पालिका र वडा–वडामा पुगेको छ । कार्यकर्तालाई टोल÷टोलमा प्रशिक्षण दिदै घरदैलो खटाएका छन् ।
नेकपा एमालेकी केन्द्रीय सचिव एवं गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्यालले चुनावलाई लक्षित गर्दै पार्टीको आन्तरिक प्रशिक्षण कार्यक्रम संचालन भइरहेको बताइन् । ‘अहिले भेला, वैठकमा नै केन्द्रीत छौ’ अर्याल भन्छिन, ‘पहिले हाम्रा भोटर संख्या सुरक्षित राख्नतर्फ केन्द्रीत बन्नुपरेको छ । पार्टीका आन्तरिक गतिविधि कार्यकर्तासमक्ष लैजाने, कार्यकर्तालाई चलायमान बनाउन हामी गाउँ÷गाउँ, टोल÷टोलमा पुगेका छौ ।’ उनले हालै चुनावी विश्लेषण भने नगरिएको बताइन् ।
नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्टीलाई चुनाव लागिसकेको बताए । ‘हामीलाई चुनाव लागिसकेको छ’ सभापति शर्मा भन्छन, ‘गण्डकी प्रदेशका सवै स्थानीय तह, वडा÷वडामा चुनावी अभियान लिएर गइसकेका छौ । निर्वाचन सम्बन्धी प्रशिक्षण दिने, कार्यकर्ताको र स्थानीय नेताको चाहाना के छ ? उम्मेदवार कसलाई बनाउने ? छलफल गर्दै सवैको राय संकलन गरि अघि बढेका छौ ।’ उनले प्रजातन्त्रमा विश्वास गर्नेहरुलाई काँग्रेसलाई भोट दिनुस हामी समृद्ध नेपाल निर्माण गर्छौ भन्दै भोट माग्न सुरु गरिएको बताए । उनका अनुसार गरिबी निर्मूल पार्ने र जनताको आफ्नो अधिकार सुनिश्चित गर्ने पार्टी नेपाली काँग्रेस नै भएकाले भोट दिएर काँग्रेसका उम्मेदवारलाई निर्वाचित गराउन जनतासमक्ष पुगेका हौ । नेपाली कांग्रेसको केन्द्रीय अभियान मात्र नभई प्रदेश समितिले पनि अभियान चलाउने योजनाबद्ध कार्यक्रम तय गरेको उनले बताएका छन् । ‘नेताहरु आ–आफ्नो गाउँ, टोलमा खटिसकेका छन्’ उनले भने ।
काँग्रेस केन्द्रीय उपसभापति धनराज गुरुङले ‘घरघरमा जाऔ, काँग्रेस जिताऔ’ भन्ने अभियान आइतबार स्याङ्जामा उद्घाटन गरि अभियान थालेका थिए । यता, नेकपा माओवादी केन्द्रले पनि चुनावी अभियान अगाडि बढाएको छ । माओवादी केन्द्रकी गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले चैत ६ मा बृहत कार्यकर्ता भेला राखेर चुनावी अभियान घोषण गर्ने तयारी रहेको बताइन् । ‘आधिकारीरुपमा चुनावी कार्यक्रम घोषण त भएको छैन तर, हामी चुनाव लक्षित कार्यक्रम लिएर गाउँ÷गाउँ पुगेका छौ । आजै पनि (सोमबार) पार्टीका केन्द्रीय समितिका टीमसँग वैठक राखेर कार्यक्रम तय गरेका छौ ।’ अध्यक्ष गुरुङले कार्यकर्तालाई प्रशिक्षण दिई चुनाव परिचालन समिति बनाएर फिल्डमा नै खटाउने बताएकी छन् ।
नेपाली काँग्रेस स्याङ्जाका नेता कुमार रानाले पार्टीले चुनाव लक्षित कार्यक्रम लिएर घरदैलो गरेको बताए । ‘सवै स्थानीय तहको नेतृत्व काँग्रेसले लिनुपर्छ’ उनले भने, ‘यसतर्फ हामी पार्टीभित्र आन्तरिक छलफल गर्दै जनतासामु गएका छौ । जनताका माग सम्बोधन गर्दै समृद्ध नेपालका योजना बुझाएका छौ ।’ उनले जनताको पार्टी नै नेपाली काँग्रेस रहेकाले जनताको अधिकार सुनिश्चित कांग्रेसबाटै हुने बताए ।
सत्ता गठबन्धन स्थानीय निर्वाचनमा पनि सँगसँगै जाने तयारीमा छन् । स्याङ्जाका निवर्तमान कावा सभापति समेत रहेका राना भन्छन, ‘प्रदेशका सवै स्थानीय तहमा गठबन्धन कायम रहन्छ । पार्टीको सर्कुलर पनि त्यही छ । स्थानीय तहको अवस्था, आवश्यकता र परिस्थिति हेरेर गर्ने भनिएको छ ।’ माओवादीकी अध्यक्ष गुरुङले गठबन्धनको विषयमा केन्द्रबाट नै निर्णय हुने भएकाले आफूहरुले केही भन्न नसकिने बताइन् । ‘सम्भवत गठबन्धन कायम रहन्छ’ उनले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *