बैशाख ३० गते सातवटै प्रदेशमा रहेका स्थानिय तहको एकै पटक निर्वाचन हुँदै छ । निर्वाचन आयोगको तयारी र विभिन्न दलहरुको दौडधुप हेर्दा आकास्मिक केही दुर्घटना भएन भने बैशाख ३० गते स्थानीय तहको निर्वाचन पक्कै हुनेछ । बैशाख ३० गते हुने निर्वाचनमा हामीले प्रदेश नम्बर १ र मधेस प्रदेशको चुनावी अवस्था र परिणाम आंकलन समिक्षा गरेका थियांै । यो पटक हामी बागमती प्रदेशको चुनावी रौनक, दलहरुको अपेक्षा र हाम्रो अनुमान र विश्लेषण गर्ने छौं । वागमती प्रदेश नेपालको राजधानी प्रदेश पनि हो । यो प्रदेशमा ४५ नगरपालिका र ७४ गाउँपालिका छन । ४५ नगरपालिका मध्ये तीन वटा महानगरपालिका (काठमाडौ, ललितपुर र भरतपुर) यसै प्रदेशमा छ । एउटा उप–महानगरपालिका हेटौंडा उप–महानगरपालिका पनि यसै प्रदेशमा पर्दछ ।
गौरीशंकर हिमालदेखि पहाडी क्षेत्र हुँदै भारतको सिमानासम्म फैलिएको यो प्रदेशमा साविकका१३ जिल्लाहरु पर्छन । २०७४ को निर्वाचनमा एउटा महानगरपालिका, एउटा उप–महानगरपालिका, २९ वटा नगरपालिकासहीत ३४ गाउँ पालिका जित्दै नेकपा एमाले प्रदेशमा पहिलो पार्टी भएको थियो ।
एमालेले यो प्रदेशमा महानगर, उप–महानगर, नगर र गाउँपालिकासहीत कुल ६५ स्थान जितेको छ । यस्तै प्रदेशमा नेपाली कांग्रेसले एउटा महानगरपालिका, ८ वटा नगरपालिका र २५ वटा गाउँ पालिकामा जित हासिल गरी दोस्रो स्थान लिएको छ । एउटा महानगर, ८ वटा नगरपालिका र २५ वटा गाउँ पालिका गरि कुल ३४ वटा स्थानीय तह नेपाली कांग्रेसको पोल्टामा गएको देखिन्छ ।
त्यस्तै माओवादी केन्द्रले एउटा महानगर, तीन नगरपालिका र १३ गाउँ पालिकामा निर्वाचित भई तेस्रो स्थान हासिल गरेको थियो ।माओवादीले जितेको कुल स्थानीय तह २० हो । यो प्रदेशमा भक्तपुर नगरपालिकामानेपाल मजदुर किसान पार्टी,धादिङको एउटा गाउँ पालिका रापप्रा र रसुवाको एउटा गाउँ पालिका नयाँ शक्ति पार्टी (हाल जसपा)ले जितेका छन।२०७४ को वागमती प्रदेश स्थानीय तहको विश्लेषण गर्दा नेकपा एमाले बलियो देखिन्छ ।
प्रदेशमा पर्ने १३ जिल्ला मध्ये धेरै जिल्लाहरुमा एमाले पहिलो भएको थियो । काभ्रे, सिन्धुपाल्चोक,दोलखा,रामेछाप, काठमाडौं, भक्तपुर, धादिङ,चितवन र मकवानपुर जिल्लाहरुमा २०७४ को स्थानीय निर्वाचन परिणामले एमाले बलियो देखिन्छ । नुवाकोट, सिन्धुली,ललितपुर जस्ता जिल्लाहरुमा एमाले अलि कमजोर देखिन्छ।नगरपालिकाको परिणाम हेर्दा धेरै नगरपालिकाको परिणाम एमालेको पक्षमा गएको थियो । काठमाडौं महानगरपालिका,हेटौंडा उप–महानगरपालिकाको चुनावी परिणाम पनि एमाले कै पक्षमा गएको थियो । कांग्रेसको पक्षमा ललितपुर र नुवाकोट देखिन्छ ।
केही जिल्लामा एमाले बराबरको परिणाम आएको देखिन्छ ।माओवादीको पक्षमा आएको परिणाम हेर्दा भरतपुर महानगरबाहेक जहाँ जनयुद्धको समय धेरै रापताप परेको थियो । त्यस्ता ठाउँहरुमा माओवादीको पक्षमा परिणाम आएको देखिन्छ ।भरतपुरको माडी नगरपालिका, मकवानपुरको थाहा, सिन्धुपाल्चोकको चौतारा,रामेछापको दोरम्बा, सुनापाती, सिन्धुलीको सुनकोसी,मरिण आदि ।
आउँदो निर्वाचनको विवेचना:
२०७४ को स्थानीय निर्वाचनमा बागमती प्रदेशमा नेकपा एमाले पहिलो हुनुमा विविध कारणहरु छन।२०७४ सालमा नेकपा एमाले ब्यवस्थित एमाले थियो र उसको सगठन तल्लो इकाईसम्म गठन भएको थियो । त्यो निर्वाचनमा नेकपा एमाले विवादरहीत र सग्लो एमाले थियो।भुकम्प पछि भारतले गरेको नाकाबन्दी र नेपाली नागरिकले कठिन परिस्थितिका बाबजुद भारतसग झुक्न हुन्न भन्ने प्रण गरेका थिए । त्यो बेला ओली सत्तामा थिए र जबर्जस्त राष्ट्रवादीको पगरी पाएका थिए । यद्यपि ओली भारत विरोधी थिएनन् काकतालीले राष्ट्रवादी हुन पुगेका थिए ।
तत्कालीन समयमा माओवादीको संगठन ब्यवस्थित नहुनु र टुटफुटको सामना गर्नु परेको समय जस्ता कारणले गर्दा नेकपा एमाले २०७४ को स्थानीय निर्वाचनमा पहिलो भएको देखिन्छ । तर २०७४ बाट २०७८ सम्म आउँदा वागमतीमा धेरै पानी बगिसकेको छ।अहिलेसम्म आउँदा २०७४ को जस्तो सग्लो एमाले छैन । नेकपा एमाले पार्टी निर्माण गर्ने माधवकुमार नेपाल लगायत धेरै नेताहरुले अर्को पार्टी गठन गरिसकेका छन । र, पहिला एमालेमा रहेका धेरै मानिसहरु अहिले माधवकुमार नेपालले गठन गरेको नेकपा (एकिकृत समाजवादी) तिर लागि सकेका छन । ओली एमालेको तल्लो तहसम्मको संगठन भत्किएको छ।जति निर्वाचन नजिकदै छ त्यति एमाले छाड्नेको लर्काे लागेको छ । माधवकुमार नेपालको समाजवादीले एमालेलाई हराउने मत आफुहरुसंग प्रयाप्त रहेको बताउँदै आएको छ ।
माओवादी र एमाले एकीकरण पश्चात करिब दुई तिहाइ बहुमतको नेतृत्व गरेका ओलीलाइ आफू सत्तामा रहन कम्युनिस्ट पार्टीको बिभाजनमा मुख्य भुमिका खेलेको र नेपालको कम्युनिस्ट आन्दोलन ध्वस्त पारेको आरोपको सामना पनि यो स्थानीय तहको निर्वाचनमा एमालेले गर्नुपर्ने छ। २०७४ को स्थानिय निर्वाचनमा एमालेबाट निर्वाचित धेरै जनप्रतिनिधि समाजवादी तिर लागेको क्षतिपूर्ति पनि एमालेले पुरागर्नु छ। यति मात्रै नभएर ओलीले आफू सत्तामा नटिक्ने भएपछि असंवैधानिक तवरले दुई दुई पटक संसद विघटन गरि संविधान मिच्ने कार्यगरेको र कुटनैतिक मर्यादा बिर्सेर ‘र’ का एजेण्टलाई भेटी मुलुक विरुद्ध गतिविधिमा संलग्न भएको पनि नागरिकहरुले विर्सेका छैनन् ।
विचारहीन एमाले:
खासगरी माधवकुमार नेपालको टिमले एमाले छाडेपछि एमाले विचारहीन पार्टी भएको छ। मुखमा जवज र वृद्ध भत्ताभन्दा बाहेक जनतामा लाने एजेण्डा एमालेसंग अरु केही छैन। गणतन्त्र,सघीयता,धर्मनिरपेक्षता, समावेसिता जस्ता उपलब्धिका विरोधी ओलीले गर्ने भाषणहरुमा पनि उनी वैचारिक लडाइँ भन्दा पनि गालिगलौज र उखान टुक्कामा सिमित हुनुले एमाले र उसको नेतृत्व विचारहीन छ भन्ने कुरामा नागरिकहरु प्रष्ट भैसकेको छन।२०७४ सालको निर्वाचनमा भन्दा अहिले माओवादी केन्द्र धेरै सुदृढ भैसकेको छ र वागमती प्रदेशको स्थानीय तह जहाँ एमालेले जितेको छ त्यस्को निकटतम प्रतिष्पर्धा माओवादी वा कांग्रेसको छ।त्यो पनि थोरै मतको अन्तरले। गठबन्धन नभएको अबस्थामा पनि यो प्रदेशको स्थानीय तहको निर्वाचनमा माओवादी र कांग्रेस निर्वाचन परिणाममा धेरै माथि उक्लने देखिन्छ । अझ पाँच दलीय गठबन्धन भयो र गठबन्धन अनुशासित हिसावले लागू भएको खण्डमा यो प्रदेशमा एमालेलाई धेरै सकटमा पार्ने देखिन्छ ।