माओवादी केन्द्रको गण्डकीको अध्यक्षमा गायत्री गुरुङ निर्वाचित
महिला घरमै सिमित हुनुपर्दैन, घरको चुलो चौकी समालेर पनि राजनीतिमा फड्को मार्न सक्छन् भन्ने गतिलो उदाहरण हुन् गायत्री गुरुङ । यतिबेला मुलुककै ठूला तीन दलको वडादेखी जिल्ला, प्रदेश हुदै महाधिवेशन भएको छ । महिला प्रतिस्पर्धामा आएपनि मुल नेतृत्वमा भने आउन सकेका छैनन् । यसकारण महिला प्रतिस्पर्धा कमजोर देखिएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।
गायत्री गुरुङ नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेशकै पहलो महिला अध्यक्ष बन्न सफल भएकी छन् । शनिवारदेखी पोखरामा जारी पहिलो अधिवेशनले २८ सदस्य पछि थप्ने गरी सोमबार २२९ सदस्यीय कमिटि चयन गरेको छ । अध्यक्ष पदका लागि आकांक्षी बढी देखिएपछि प्रदेश सदस्य निर्वाचित गर्दै पहिलो वैठकमा गुरुङलाई अध्यक्ष प्रस्ताव गरि निर्वाचित गरिएको माओवादी केन्द्रका नेता हितराज पाण्डेले बताए । प्रदेश कमिटि उपाध्यक्ष, सचिव सहितका ८ पदाधिकारी आगामी वैठकमा सल्लाह गरेर निर्वाचित सदस्यबाट चयन गरिने बताइएको छ ।
अध्यक्षमा निर्वाचित गुरुङले पार्टी र प्रदेशको आवश्यकतालाई मध्यनजर गर्दै पार्टीको उचाई बढाउने बताइन् । उनले पार्टीभित्र सवैलाई मिलाएर लैजाने र माओवादी पार्टीलाई नमुना बनाउने उद्घोष गरिन् । हाल गण्डकी प्रदेशमा माओवादी केन्द्रका ७० हजार सदस्य छन् । ६० बाट पार्टी सदस्य बढाएर १ लाख पु¥याउने लक्ष्य उनले राखेकी छन् । ‘स्थानीय, प्रदेश र संघीय निर्वाचन पनि नजिकिदै छन्’ उनले भनिन, ‘निर्वाचनलाई मध्यनजर गर्दै तल्लो तहसम्म पार्टी सुद्धिकरण गर्ने योजना छ ।’ पछिल्लोसमय पार्टी सदस्य कम भएकाले उनले सदस्य बढाउने र गण्डकीमा नमुना पार्टी बनाउने योजना सुनाइन् ।
२०३६ सालमा लमजुङमा जन्मिएकी गुरुङको बाल्यकाल तनहु“को सिसुवामा वितेको थियो । कक्षा ७ मा पढ्दा अखिलको विद्यार्थी संगठनमा जोडिएकी उनी परिवारबाटै राजनीतिक प्रभावमा परेकी थिइन् । उनका बाबु इण्डीयाको नक्सलवादी आन्दोलनमा सहभागी भएका र कान्छो बुवा नेपालकै कम्युनिष्ट राजनीतिमा सकृया भएकाले पनि उनी राजनीतिमा होमिन सजिलो भएको बताउँछिन् । ‘दाई र दिदी पनि राजनीतिमै आवद्ध हुनुहुन्थ्यो’ उनले थपिन, ‘मलाई घरबाटै राजनीति प्रभाव परेको थियो । परिवारको साथ र सहयोग पनि मिल्यो । यसरी नै पार्टीमा आवद्ध हुने मौका पाए ।’ एसएलसी पास गरेपछि क्याम्पस पढ्न पोखरा झरेकी गुरुङ २०५३ सालदेखी जनयुद्धमा होमिएकी हुन् । २०५४ देखी २०७० सालसम्म मुस्ताङ पार्टीको इन्जार्च भई कास्की र पर्वत जिल्लामा पनि भुमिगतरुपमै काम गरेकी छन् । जनवर्गीय महिला संगठनको गण्डकीको अध्यक्ष भएकी गुरुङ २०७२ सालदेखी कास्कीमै राजनीति क्षेत्र बनाएर बसेकी छन् ।
२०७२ देखी २०५४ सम्म कास्कीको सह–इन्जार्च भएकी गुरुङ हाल अखिल नेपाल महिला क्रान्तिकारी संघको केन्द्रीय सचिव, गण्डकी प्रदेश सभा अन्तर्गत नेकपा माओवादीको सचेतक हुन् । २०७४ मा उनी माओवादीबाट समानुपातिक सांसद भएकी थिइन् । २०६० सालमा विवाह बन्धनमा जोडिएकी गुरुङका एक छोरा, एक छोरी र श्रीमान छन् । श्रीमान पनि माओवादी केन्द्र कास्कीका संयोजक हुन् । पार्टीकै निर्देशनमा जनवादी विवाह गरेको श्रीमान वखन सिंह बताउँछन् । विवाहपछि पनि श्रीमान जनयुद्धमै भएकाले स“गस“गै राजनीति यात्रा अगाडी बढाइएको गुरुङको भनाई छ । ‘महिला भएर घरमै बस्नुपर्छ भन्ने होइन’ उनले भनिन, ‘घर समालेर पनि राजनीति समाल्न सकिन्छ । छोराछोरीकी आमा, श्रीमती, बुहारी बनेर कर्तव्य पुरा गरेकी छु भने पार्टीमा पनि पुरै समय दिएकी छु ।’ उनले महिला नेतृत्वमा बढी जोड दिनुपर्ने बताइन् । पछिल्लोपटक महिला राजनीतिमा होमिएका भएपनि पदमा पुग्न नसकेको बताउदै उनले भनिन, ‘हामी महिला भएकै कारण पछि हट्नुपर्छ भन्ने होइन, पुरुषसंगै पनि प्रतिस्पर्धा गर्न सक्छौ ।’ अध्यक्ष पदको लागि पुरुष आकांक्षी बढी भए पनि महिला आकांक्षी उनी मात्रै थिइन् ।
प्रथम प्रदेश अधिवेशनमा गण्डकी प्रदेशका ११ जिल्लाका पालिकाबाट ६ सय, मनोनित ६०, आयोजक ९६, जेष्ठ कम्युनिष्ट मञ्चका ४३ र प्रदेश सल्लाहकार गरी ८ सय ४६ जना प्रतिनिधि सहभागी थिए । तीनदेखी चलेको अधिवेशनमा एक गैरभौगोलिक शाखासहित एक महानगरपालिका, २६ नगरपालिका र ५८ गाउ“पालिका सवै पालिका अधिवेशन सम्पन्न भइसकेका छन् ।