छात्रवृत्ति करारका डाक्टर तथा स्वास्थ्यकर्मीले मासिकरुपमा प्राप्त गर्ने पारिश्रमिक (तलव) नपाएको बताएका छन् । चालु आर्थिक वर्ष (साउनदेखी) सुरु भएदेखी नै तलव नपाएपछि गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा निवेदन दिदै पारिश्रमिकको माग गरेका छन् । तलव नपाउँदा दैनिक गुजारा चलाउनसमेत गाह्रो भएको भन्दै मातृशिशु मितेरी अस्पताल कास्कीमा कार्यरत डा गरिमा देवकोटा, डा कृष्ण तिमिल्सिना, डा नविन रेग्मी, डा रविरमण न्यौपाने लगायत १५ जनाको टोलीले हस्ताक्षर गरी मन्त्रालयमा निवेदन बुझाएका हुन् । मंसिर २४ गते निवेदन दिएता पनि उनीहरुले पुस लागिसक्दासमेत तलव नपाएको बताएका छन् ।
छात्रवृत्ति करारका डाक्टरको लागि संघिय सरकारले ससर्त अनुदानमा ३ करोड रुपैयाँ एकमुष्ठ पठाएको छ । अवण्डा बजेट भएका कारण बाँडफाँटमा समस्या हुँदा तलव दिन नसकिएको आर्थिक मामिला मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयका सचिव बलराज रिज्यालले अवण्डा बजेट बाँडफाँटको लागि अर्थ मन्त्रालयलाई सम्बन्धित मन्त्रालयले पत्राचार नगर्दा ढिलाई भएको बताए । उनले चिकित्सकको लागि आएको अवण्डा बजेट सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट पत्राचार नआउदासम्म अर्थ मन्त्रालयमा बजेट टुक्राउने अधिकार नरहने बताए । ‘स्वास्थ्य सचिवसँग पत्र माग गरेको छु अव छिट्टै तलव पठाउँछौ’ उनले भने । यसविषयमा जानकारी लिनको लागि स्वास्थ्य सचिव डा विनोदविन्दु शर्मालाई टेलिफोन सम्पर्क गर्दा उनको फोन उठेन ।
