जथाभावी पार्किङले ट्राफिक अस्तव्यस्त

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेशको प्रमुख व्यापारीक केन्द्र हो पोखरा । प्रदेशको राजधानीसमेत रहेको पोखरामा पार्किङको लागि निश्चित क्षेत्र तोकिएको छैन् । पार्किङको लागि निश्चित क्षेत्र नतोकिदा ट्राफिक व्यवस्थापनमा चुनौति बढ्दै गएको छ । बजार क्षेत्रका सडकमा ‘पिकआवर’ (विहान १० र साँझ ४ बजे) सवारी जाम बढ्दै गएको छ । यस समयमा दुर्घटनाको अनुपातसमेत बृद्धि भएको पाइन्छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख अमृत बस्नेतका अनुसार सडकमा ठूलाासना सवै सवारी सधान गुड्ने र जथाभावी हुने पार्किङले ट्राफिक व्यवस्थापनमा समस्या निम्तिएको हो । पृथ्वीचोकदेखी, सिर्जनाचोक, नयाँ बजार, चिप्लेढुंगा, महेन्द्रपुल, अमरसिंहचोक र बुद्धचोक लगायत बढी जाम हुने सडकमा अस्तव्यस्त पार्किङले समस्या भएको प्रहरीले जनाएको छ । ‘राजमार्गमासमेत पार्किङ गर्दा हामीलाई ट्राफिक व्यवस्थापन गर्न निकै चुनौति भएको छ’ उनले भने, ‘पोखराको प्रमुख समस्या नै जथाभावी पार्किङ हो ।’
महानगरले राजमार्गको छेउछाउमा नै पार्किङ गर्न पाइने र पार्किङ बापत शुल्क लाग्ने नियम तोकेको छ । महानगरको निर्णय नै गलत भएको ट्राफिक प्रहरीको भनाई छ । ‘हामीले महानगरसँग बारम्बार यो विषयमा कुरा गरिरहेका छौ’ उनले थपे । पोखरा ठूलो व्यापारीक केन्द्र भएकाले पनि चुनौति थपिएको बस्नेत बताउँछन् । सिदार्थ, पृथ्वी राजमार्ग र मध्यपहाडी लोकमार्गसहित तीनवटै राजमार्ग पोखरामै केन्द्रीत रहेकाले पनि ट्राफिक जाम बढ्दो रहेको प्रहरीले जनाएको छ । प्रदेश राजधानी भएकाले पनि मन्त्रालयहरु, क्याम्पस, स्कुल, हस्पिटल, वित्तिय संस्था, वैंक, प्रदेश सभा, सरकारी तथा गैरसरकारी संघसंस्था, क्षेत्रीय विमानस्थल र अन्तराष्ट्रिय विमानस्थल पनि यही छ । गण्डकी प्रदेशमा अहिलेसम्म २ लाख ८६ हजार सवारी साधन दर्ता छन् । जसमध्ये दैनिक २५÷३० हजार सवारी यिनै सडकमा गुड्ने ट्राफिक प्रहरीको भनाई छ ।
पोखरामा ठूल्ठूला सपिङ कम्प्लेक्स बनेका भए पनि त्यो अनुसार पार्किङ बनेका छैनन् । भित्री सडक र गल्लीमा पनि पार्किङ गरिएको हुन्छ । प्रहरीले देखेसम्म गल्लीमा गरिएको पार्किङको शुल्क लिन्छ । ‘हामी हुदाँ पार्किङ राखिदैन, नहुदा“ पार्किङकै भीड लाग्छ’ प्रहरी निरीक्षक बस्नेत भन्छन, ‘सडकमा मात्र नभएर फुटफाटमा पनि पार्किङ गरिएको छ ।’ शुल्क लाग्दैन भनेर सडक भन्दा माथिल्लो भाग, अर्थात पैदलमार्गमा नै पार्किङ गरिने उनको भनाई छ । महानगरले पार्किङको लागि वैकल्पिक व्यवस्थापन गर्नुपर्ने देखिने स्थानीयको भनाई छ । पोखरा महानगर–८ का व्यवसायी दीपक गौतम भन्छन, ‘पसल अगाडि नै गरिने पार्किङले आउने ग्राहक पनि यत्तिकै फर्किन्छन । फाटफुट आउने ग्राहक पनि सवारी साधनले नै बाटो छेकेपछि हेर्दै नहेरी जान्छन् ।’
पार्किङ व्यवस्थित नहुदा“ व्यापार व्यवसायमा पनि समस्या रहेको गौतमको भनाई छ । पोखरा महानगरपालिकाका इन्जिनियर सुरेन्द्र पौडेलले पार्किङको लागि सार्वजानिक जग्गा नहुदा“ सडकमा नै पार्किङ गर्नेगरि ठेक्का लगाउन बाध्य भइएको बताए । महानगरले सडकभन्दा बाहिर पार्किङ गर्नको लागी सार्वजानिक जमिनको खोजी गर्दा उपलब्ध नभएको उनले बताए । महानगरले जमिन लिजमा लिएर पार्किङस्थल बनाउन खोजेको बताउदै उनले यसको लागि पत्रिकामा सुचना सार्वजानिक गर्दासमेत कसैले सम्पर्क नगरेको बताए । ‘सार्वजानिक जग्गा नपाएपछि हामीले पोखराका सवै सडकमा एकतर्फी मात्र पार्किङ गर्ने व्यवस्था गयौ’ उनले भने, ‘विहानदेखी बेलुकासम्म पार्किङ हुन्थ्यो, अहिले घण्टा तोकिदिएका छौ । अर्कै कम्पनीले फिस्टेल हस्पिटलअघि फिस्टेल पार्किङ सःशुल्क राखिएको थियो त्यो पनि चलेन । महानगरकै भवन अघि पुनः अर्को कम्पनीले छुट्टै सःशुल्क पार्किङस्थल तोकियो । जनता सःशुल्क पार्किङ जान चाहेनन् । कोही नगएपछि बन्द भयो ।’ उनले अव्यवस्थित पार्किङलाई व्यवस्थित बनाउनको लागि महानगरले पार्किङ शुल्कसमेत उठाउने गरेको बताए । महानगरले पार्किङस्थलमा करिव २ सय कर्मचारी खटाएको बताउदै पौडेलले पार्किङबाट मात्रै दुईवर्षमा २ करोड ८८ लाख रुपैयाँ राजस्व संकलन भएको बताए । उनका अनुसार महानगरको कार्यालय नयाँ भवनमा सरेपछि हाल भइरहेको न्युरोडको कार्यालयलाई नै पार्किङस्थल बनाउने योजना छ । जथाभावी पार्किङले हिडडुल र किनमेल गर्नेहरुले पनि सास्ती भोग्नुपरेको छ । ट्राफिक प्रहरीको जनशक्ति र साधनस्रोत कम हुनाले पनि बढ्दो सवारी चाप नियन्त्रण गर्न नसकिरहेको बस्नेत बताउँछन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *