गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्रालयका सचिव बलराम रिज्यालले जनताका समस्या सम्बोधन गर्नु सरकारको दायित्व रहेको बताएका छन् । योजना अनुगमनको लागि स्याङ्जाको वालिङ नगरपालिका–१ रामबाच्छा पुगेर सचिव रिज्यालले जनताको साथले नै विकास सम्भव रहेको बताउँदै जनताका समस्या सम्बोधन गर्न पनि सरकार उत्तिकै जिम्मेवार रहने बताएका हुन् ।
अर्थ सचिव रिज्यालसँग यहाँका स्थानीयबासीले विकास निर्माणको बारेमा चासो राखेका थिए । वालिङ नगरपालिकाका प्रवक्तासमेत रहेका वालिङ–१ का वडाध्यक्ष पदमराज गुरुङले सचिवसँग वालिङका समस्याबारे जानकारी गराएका थिए ।
सोही क्रममा सचिव रिज्यालले प्रदेश सरकारको जम्मा बजेट ३३ अर्व रहेको र त्यसैमा पनि ठूलो हिस्सा चालुतर्फ रहेको बताउँदै जनताको माग अनुसार सतप्रतिशत योजना सम्बोधन गर्न नसके पनि प्रदेशबाट आवश्यकताअनुसारका योजनालाई प्राथमिकताका साथ अगाडि बढाइने बताए । भेटघाट कार्यक्रम जनप्रतिनिधि, समाजसेवी, नागरिक अगुवा, आमा समूह लगायतको सहभागीता थिए ।