जमरकट्टेलसहित ३ जना धरौटीमा रिहा

Share this post :

Facebook
Twitter
WhatsApp

इन्धन चोरेको आरोपमा पक्राउ परेका पेट्रोल पम्प व्यवसायी बाबुराम जमरकट्टेलसहित ३ जनालाई धरौटीमा छुटेका छन् । जिल्ला अदालत कास्कीले सोमबार उक्त निर्णय गरेको हो । ट्यांकरधनीसमेत रहेका जमरकट्टेललाई १ लाख ५० हजार, ढुंगानालाई १ लाख र चालक थापालाई ७५ हजार धरौटीमा छाड्न आदेश दिएको अदालतका अधिकृत दुर्गाप्रसाद रिजालले जानकारी दिए ।
नेपाल आयल निगम लिमिटेडको गण्डकी प्रादेशिक कार्यालय, कास्की (गगनगौंडा)बाट ३ हजार बढी डिजेल चोरी गरेको आरोप थियो । गण्डकी–धौलागिरी पेट्रोलियम डिलर्स एसोसिएसनका कार्यालय सचिव जगन्नाथ ढुंगाना र ट्यांकर चालक निर्मल थापालाई धरौटीमा छोड्न आदेश दिएको हो । आयल निगमका डिपो प्रमुख चित्तरञ्जन दास अझै फरार छन् ।
२५ साउनमा पोखरा डिपोबाट १२ हजार लिटर डिजेलको पैसा तिरेर निस्केको ट्यांकरलाई जिल्ला प्रशासन कार्यालय, कास्कीको अनुगमन टोलीले नियन्त्रणमा लिई जाँच गर्दा १५ हजार २ सय लिटर डिजेल फेला परेको थियो । तोकिएभन्दा ३ हजार २ सय लिटर बढी डिजेल अपचलन गरेको घटनामा प्रहरीले विस्तृत अध्ययन गरी आयल निगमको तत्कालीन डिपो प्रमुख चित्तरञ्जन दाससहित तिनैजनालाई कारबाहीका लागि मुद्दा चलाउन जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन दिएको थियो । फरार रहेका दासलाई नेपाल आयल निगम लिमिटेडले निलम्बन गरेको छ । दासलाई साउन ३० मा पक्राउ पुर्जी जारी गरिएको थियो ।
ग २ ख ८३६ नम्बरको ट्यांकर साउन २५ मा जिल्ला प्रशासन कार्यालयले नियन्त्रणमा लिएको थियो । १२ हजार लिटरको बिल काटेर दासले १५ हजार लिटर डिजल उपलब्ध गराइदिएका थिए । सरकारी वकिलको कार्यालयले अदालतमा डिपो प्रमुख दासलाई कम्तीमा ५ वर्ष जेल सजाय र ५० हजार रुपैयाँ जरिवाना माग दाबी गरी मुद्दा दायर गरेको थियो । अन्य ३ जना व्यवसायीलाई जनही ३ वर्ष जेल सजाय वा ३० हजार जरिवाना वा दुवै सयाजको माग दाबी गरी मुद्दा दायर गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *