हरियो जलकुम्भीले यतिबेला फेवातालको स्वरुप नै फेरिएको छ । चाडपर्वको अवसर पारी आन्तरिक या बाह्रय पर्यटकको ओइरो उस्तै छ । तर, जलकुम्भीका कारण बोटिङ यात्रा असजह छ । जलकुम्भी पन्छ्याउँदै बोटिङ गर्नुपर्ने बाध्यता छ ।
केही दिनदेखी परेको अविरल वर्षाका कारण फेवातालको सतह बढेपछि तालको मुहान जलाधार क्षेत्रमा रहेको जलकुम्भी तालमा तैरिएको हो । बजार क्षेत्रको बलौदी, फिड्के खोला हुदैँ बजार क्षेत्रको फोहोरसमेत तालमा मिसीदा ताल प्रदषित भएको स्थानीयले बताएका छन् । अविरल वर्षासँगै मुहान क्षेत्रका हर्पनखोला, अँधेरीखोला, लौरुक खोला, वेतयानी खोलालगायतका खोलामा आएको बाढी फेवातालमा मिसिएर पानीको सतह बढेसँगै जलकुम्भी झार र बन्दा झारपनि फैलिन थालेको हो ।
तालको मुहान क्षेत्रमा अघिल्ला वर्षमा पहिरोले थुपारेको माटो, गेग्रान र खोलाले खेत कटान गरेको माटो समेत तालको मुहानका खोलामा मिसिदाँ ताल धमिलो भएको स्थानीयले बताएका छन् । जलकुम्भी वर्षात्को समय प्रत्येक वर्ष बगेर आउने पोखरा महानगरप्रमुख धनराज आचार्यले बताए । ‘तालभरी फैलिएको छ’ उनले भने, ‘यो सधैको समस्या हो । एकपटक पन्छयो फेरि भरिहाल्छ ।’ यतिबेला आन्तरिक या बाह्रय पर्यटकको घुइँचो लागेको छ । ‘यही समयमा तालको रुप नै फेरिदा टाढा बाट पहिलोपटक आउनेलाई उत्साह हुदैन’ उनले भने, ‘यस्तो नी ताल हुन्छ भन्ने सन्देश फैलिन सक्छ । हामी छिट्टै सरसफाई गर्नेछौ ।’ पर्यटकलाई मनोरञ्जन दिन र भुलाउनको लागि पनि सरसफाई गरिने उनले बताए । उनले केही दिनपछि हुने नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताअघि नै ताल सरसफाई गरिने बताए ।
पछिल्लो बर्षमा जलकुम्भी झार जस्तै फैलिएको छ । जसले ताल झाडी जस्तै देखिन्छ । तालको महान क्षेत्रमा फैलिएको झार ननिकाल्दा यो समस्या आएको हो । बर्षा याममा तालको सतह बढेपछि झार तालमा फैलदा मात्र झिक्ने गरिदा बर्षैपिच्छे समस्या दोहोरिने गरेको छ । तालको माथिल्लो सिरान क्षेत्रमा रहेको सीमसार क्षेत्रमा रहेको जलकुम्भी झार र बन्दा झार बाढीसँगै बगेर फेवातालमा आउने गरेको स्थानीय रविलाल माझीले बताए । फेवातालमा विगत २७ वर्षदेखि जलकुम्भी झार देखिदै आएको छ । बन्दा झार भने विगत १७ वर्षदेखि देखिएको उनले बताए ।
बन्दा झारलाई अंग्रेजीमा वाटर लेटुस भनिन्छ । यो झार जलकुम्भी झारजत्तिकै फैलिने गुण भएको झार भएको बताइन्छ । तर बन्दा झारले भन्दा जलकुम्भी झारले पानीमा भएको पोषक तत्व उपयोग गर्ने गर्दछ । जसका कारण माछालाईसमेत असर पार्ने बताइन्छ । सुन्दर फेवाताललाई पानीको माथिल्लो भागमा जलकुम्भी झारले छपक्कै ढाक्दा तालको सुन्दरता ह्रास भई कुरुप देखिने गरेको होटल व्यवसायी अर्जुन शाहीले बताए ।
यसो त, जलकुम्भीका कारण ताल पारीबाट दूध, तरकारी लिएर आवतजावत गर्नेको दैनिकीमा समेत असर परेको मेयर आचार्यको भनाई छ । उनले महानगरका ३३ वटै वडाध्यक्षको संयोजकत्वमा तालको विभिन्न स्थानबाट जलकुम्भी उखाल्ने कार्यक्रम तय भएको बताए । फेवातालको सुन्दरता बचाउनका लागि तालमा देखिएको जलकुम्भी झार फाल्ने अभियान वर्षेनी चलाईंदै आएको छ । उसो त १ करोड खर्चेर झार फाल्ने ‘लोडिङ मेसिन’समेत ल्याएर प्रयोग गरिएको थियो । तर यो प्रभावकारी बन्न सकेको छैन् । तालको सुन्दरता बचाउन जलकुम्भी झार र बन्दा झारको दीर्घकालिन समाधान खोज्नुपर्ने गण्डकी प्रदेशका पूर्व सांसद राजिव पहारी बताउँछन् ।