जलवायु जोखिमको चपेटामा मुस्ताङ

Share this post :

Facebook
Twitter
WhatsApp

१२, भदौमा मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मुलखर्कमा हिउँपहिरो गयो । धौलागिरी हिमश्रृंखलामा मानापाथी हिमालबाट हिउँपहिरो गएको हो । हिमपहिरोका कारण थासाङमा रहेको बोक्सीखोला पूर्णरुपमा थुनियो । अहिले उक्त खोला आफ्नै लयमा बग्न थालेको छ ।

बोक्सीखोला कालीगण्डकीको सहायक नदी हो । नदी वरपर वस्ती छैनन् । तर, पनि बेनी–जोमसोम सडक बोक्सीखोलामा पर्छ । जसका कारण जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई सचेत रहन सुझायो । यसअघि पनि ७ भदौमा सोही स्थानमा हिमपहिरो गएको थियो । तीन वर्षअघि २०७८ कार्तिक २८ र फागुन २१ गते थासाङ–२ कोवाङमा हिउँपहिरो गएको थियो । टुकुचे हिमालबाट आएको हिउँपहिरोमा मानवीय क्षति भने भएन् । एक सय ५० भन्दा बढी चौरीगाई मरेका थिए ।

लोमान्थाङ गाउँपालिका–२ का टाँसी गुरुङले पछिल्लोसमय मुस्ताङको स्वरुप फेरिएको बताए । ६८ वर्षिय गुरुङले कहिल्यै पानी नपर्ने लोमान्थाङमा पछिल्ला वर्षमा पानी पर्न थालेको बताए । ‘माटोले बनाइएका परम्परागत घर अहिले विस्तापित हुँदै जान थालेका छन्’ उनले भने, ‘गिट्टी बालुवाको घर हामीले कहिल्यै जानेनौ । माटोले बनाएका घरमा माटोकै छत हुन्थ्यो । पानी पर्न थालेपछि माटोका घर हराउन थाले । अव घरघरमा छाना टीनले बनाउन थालिएको छ ।’ उनले विगतको तुलनामा खेतीपाती पनि नहुने, उत्पादन घट्ने र बाढी पहिरोको पनि जोखिम हुन थालेको बताए ।

लो–घेकर दामोदरकुण्ड गाउँपालिकाकी उपाध्यक्ष छिरिङ ल्हामो गुरुङले खेती उत्पादनमा किराको प्रकोप देखिन थालेपछि उत्पादनमा ह्रास आएको बताइन् । ‘यहाँ फापर ठूलो मात्रामा उत्पादन हुन्थ्यो’ उनले भनिन, ‘अहिले पहिले जस्तो उत्पादन छैन् ।’ हिउँ पर्ने समय आजभोली यहाँ हिउँ देख्न पाइदैन् । कहिल्यै हिउँ नपर्ने स्थानमा हिउँ पर्न थालेको उपाध्यक्ष ल्हामो बताउँछिन् । जलवायु परिवर्तनका कारण जिल्लाबाट अन्य जिल्लामा बसाईसराइँ गर्नेको संख्या त्यति नभए पनि जिल्लाभित्रै एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सर्नेको संख्या बढ्दै गएको उनी बताउँछिन् । मुस्ताङका साना खोलामा पनि पानीको वहाव बढेको बताउँदै भन्छिन, ‘हामी जलवायु परिवर्तनको प्रत्यक्ष असरमा परेका छौ । प्रत्यक्ष देख्न र भोग्न पाएका छौ ।’ उनले मुस्ताङमा हिमपहिरो आउनु नै जलवायु परिवर्तनको प्रत्यक्ष असर रहेको सुनाइन् ।

मुस्ताङको अधिकाशं क्षेत्रमा खानेपानीको समस्या हुन थालेको छ । खानेपानीका मुहान सुक्न थालेपछि समस्या निम्तिएको हो । २०८० साउन २८ मा कागवेनीमा ठूलो बाढी आयो । उक्त बाढीले २९ पक्कि भवन, ३ काठे पुल, निर्माण सम्पन्न हुन लागेको एउटा मोटरेबल पुल लगायतका भौतिक संरचनामा ठूलो क्षति पुयाएको थियो । २०७१ असोजमा मुस्ताङ, मनाङ, म्याग्दी र डोल्पाको हिमाली क्षेत्रमा आँधिमा परेर पदयात्रामा गएका ४३ जनाले ज्यान गुमाए । यी विपद्का कारण भएको क्षतिको केही उदाहरण हुन् ।

विश्वब्यापी तापक्रम वृद्धि र मौसममा भएको परिवर्तनका कारण मुस्ताङको जनजिवन प्रभावित हुनुका साथै विपद्को जोखिम बढेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्त बताउँछन् । विशिष्ट भूगोल भएको मुस्ताङको मौसममा भएको परिवर्तनले विपद्को चुनौति थपेको उनको भनाई छ । पानी बढी पर्ने र तापक्रम बढेपछि समग्र जनजिवनमा असर परेको उनले बताए । ‘पानी धेरै पर्न थालेपछि माटोले छाएका घर, गुम्बाहरु चुहिने, भत्किने, खोलामा बाढी आएर कटान गर्ने, नदीमा गेग्रान थुप्रिएर बगर वस्ती भन्दा अग्लो हुने, बस्तीमा कटान हुने, खोलाले धार परिवर्तन गर्ने समस्या बढेको छ’ सीडीओ पन्तले भने । उनका अनुसार डाँडा–डाँडामा हिउँ पर्दैन्, नपर्ने स्थानमा हिउँ पर्छ ।

थासाङमा गरिएको व्यवस्थित स्याउ खेतीलाई माथिल्लो मुस्ताङ सार्न खोजिएको बताउँदै उनले भने, ‘शितोष्ण बागवानी विकास केन्द्रको कार्यालय माथि सार्न लागिएको छ । ८० रोपनी जग्गा आवश्यक पर्ने रहेछ । यसका लागि हामी जग्गा खोजीमा छौ ।’ उनले तल्लो मुस्ताङमा गुणस्तरीय स्याउ उत्पादन हुन छोडेको बताए । मुस्ताङमा स्याउ खेती शुरु गरिएको आधा शताव्दी नाघिसकेको छ । व्यावसायिकरुपमा स्याउ खेती गर्दै आएका कृषक पानी पर्न थालेपछि पछिल्लोसमय स्याउको गुणस्तरमा परिवर्तन ल्याएको बताउँछन् । यहाँ स्याउको खेती गर्ने क्षेत्रफल पनि बढ्दैछ । तर, उत्पादन र उत्पादकत्व क्षेत्रफलको अनुपातमा नढेको र पहिले गुणस्तरीय उत्पादन हुने क्षेत्रमा स्याउ हुन छाडेको अनुभव कृषक कमला लालचनसंग छ । उनले पुस लागेदेखि नै हिउँ पर्न शुरु भएर फागुन–चैतसम्म पर्ने गरेको सम्झिन्छिन् ।

केही वर्षयता हिउँ समयमा नपर्ने, परे पनि कम पर्ने, कुनै वर्ष पर्दै नपर्ने र वृष्टि छायाँमा पर्ने गरेको मुस्ताङमा अहिले अधिक वर्षा हुने गरेको उनी बताउँछिन् । जसका कारण स्याउ खेतीको विकल्प खोज्नुपरेको उनले बताइन् । उनका अनुसार स्याउ व्यावसाय पनि कठिन हुँदै गएको छ । यसैगरी तल्लो भेगमा स्याउ उत्पादन नहुने, माथिल्लो भेगमा स्याउ फल्ने, स्याउ र आलुमा नयाँ रोग देखिने, उत्पादन घट्ने, पानीका मुहान सुक्ने, चरन क्षेत्रमा घाँस कम उम्रिदा चौरी, भेडा र च्याङग्रालाई आहारा अभाव हुने, लामखुट्टेको टोकाईबाट हुने रोगका बिरामी भेटिन थालेको प्रजिअ पन्तले बताए ।

जलवायु परिवर्तनकै कारण यो क्षेत्रमा पानी धेरै पर्न थालेको भनेर वैज्ञानिक अध्ययन र पुष्टि भइसकेको भने छैन् । जलवायु परिवर्तनका कारण भएको तापमान बृद्धिको असर हिमाली क्षेत्रमा तुलनात्मकरुपमा बढी परेको विज्ञ डा सुवास अधिकारी बताउँछन् । मुस्ताङमा जलवायु परिवर्तनको असर सम्बन्धमा अध्ययन अनुसन्धान गर्न ढिलाई गर्न नहुने उनको सुझाव छ । जलवायु परिवर्तनको सवैभन्दा ठूलो प्रभाव हिन्दु कुश हिमाली क्षेत्रमा देखिन थालेको भन्दै यस क्षेत्रका विज्ञले सचेत गराउँदै आएका छन् ।

२३ वर्षको तथ्याङ्कलाई आधार मानेर डा.ई. महेन्द्र बानियाँको नेतृत्वमा डा ताल्चा भडेल, डा अर्जुन बानियाँ, इन्जिनियरद्धय लक्ष्मीप्रसाद भण्डारी र नवराज शर्मा सदस्य रहेको एक समितिले अध्ययन गरेको थियो । सो अध्ययन प्रतिवेदनका अनुसार मुस्ताङको पछिल्लो २३ वर्षको वार्षिक तापक्रम ०.१३ प्रतिशतका दरले वृद्धि भएको छ । यही अनुपातमा बढ्दा आगामी एक सय वर्षमा सो क्षेत्रको तापक्रम दोब्बर हुने अनुमान गरिएको छ । जोमसोम केन्द्रमा वार्षिक औसत २९२.७ मिलिमिटर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जोमसोमदेखि माथिल्लो क्षेत्रमा पछिल्ला वर्षमा पानी बढी पर्न थालेको विभागको तथ्यांक छ । कागबेनीमा बाढी आउँदाको दिन जोमसोममा २५.२ मिलिमिटर वर्षा मापन भएको थियो । यो औसतभन्दा बढी हो । सोही दिन जोमसोममा कालीगण्डकी नदीको बाढीको सतह २.७७ मिटर उचाईमा पुगेको अध्ययनले देखाएको छ ।

ईञ्जिनियर लक्ष्मी भण्डारीका अनुसार कमजोर र भिरालो भूगोल भएको मुस्ताङमा बर्षा धेरै हुँदा माटो बगेर खोलामा मिसिदा बाढी आउँछ । उनले खोला किनारमा बस्ती बसाउन उपयुक्त र सुरक्षित नहुने बताए । ‘भौतिक संरचना बनाउँदा पनि धेरै अध्ययन आवश्यक छ’ उनले भने, ‘सडक, पुल र भवन जस्ता सार्वजनिक भौतिक संरचनाको दिगोपनाका लागि मौसम, बाढी, पहिरोको इतिहासलाई आधार बनाएर डिजाइन गर्नुपर्छ ।’

कालीगण्डकी र सहायक नदीहरुबाट आउने बाढीको कटानका कारण मुस्ताङको छुसाङ, एक्लेभट्टी, जोमसोम, स्याङ, मार्फा, छैरो, टुकुचे, खन्ती, कोवाङ, लार्जुङको बस्ती जोखिममा परेका छन् । सर्वोच्च अदालतको आदेशका कारण पछिल्लो तीन वर्षयता कालीगण्डकी नदीको बगर उत्खनन र निकासी रोकिएको छ । खोलामा गेग्रान थुप्रिदै थाने र व्यवस्थापन नगर्दा बस्ती भन्दा माथि बगर हुन थालेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *