जलवायु परिवर्तनको प्रभाव : ६५ प्रतिशत जनसंख्या खडेरीको मारमा

Share this post :

Facebook
Twitter
WhatsApp

राष्ट्रिय तथ्याकं कार्यालयले सोमबार सार्वजनिक गरेको जलवायु परिवर्तन सम्बन्धी राष्ट्रव्यापी दोस्रो सर्भेक्षण २०२२ अनुसार ६५.४ प्रतिशत जनसंख्या खडेरीको मारमा परेका छन् । जलवायु परिवर्तका कारण सवैभन्दा बढी खडेरीको सामना गर्नुपरेको तथ्यांकले देखाएको छ ।

यस अघि सन् २०१६ मा पनि जलवायु परिवर्तनको प्रभावबारे पहिलो सर्भे गरेको थियो । २०७८ सालको राष्ट्रिय जनगणनाकै क्रममा जलवायु परिवर्तनको प्रभावबारे पनि सर्भे गरिएकोमा विश्लेषण गरेर सोमबार प्रतिवेदन सार्वजनिक गरिएको हो ।

सर्भेमा एकै स्थानमा कम्तिमा २५ वर्षदेखि बसोबास गर्दै आएका ४५ वर्ष भन्दा माथिकालाई समावेश गरिएको छ । देशभरका ६ हजार ५ सय २० परिवार संलग्न गरिएका छन् । जसमा शहरी, ग्रामीण, हिमाल, पहाड तथा तराई, उचाइ, जलवायु जोखिम लगायतका कोणबाट जनस्तरका बुझाइ र अभ्यास समेटिएका छन् ।

यसैगरी ५४.३ प्रतिशतले रोग र किराको प्रकोप फैलिएको, ४६.२ प्रतिशतले हावाहुरी, ३२.६ प्रतिशतले भुमरी, २८.५ प्रतिशतले बाढी, २१.७ प्रतिशतले शितलहर, २१.५ प्रतिशतले पहिरो लगायत जलवायुजन्य विपद्हरु बढाएको बताइएको छ । जलवायु परिवर्तनकै कारण उनीहरु चट्याङ, आगलागी, लु, बिषम खालको वर्षा, भुक्षय जस्ता विपद्हरु व्यहोर्न बाध्य छन् ।

प्रतिवेदनका अनुसार देशभरमा जम्मा ३५.८ प्रतिशत परिवारलाई मात्रै जलवायु परिवर्तनबारे जानकारी छ । भौगोलिक अवस्थितिका आधारमा हेर्दा हिमाली भेगका घरपरिवारहरु सबैभन्दा बढी ७०.९ प्रतिशत जलवायु सम्बन्धी जानकारीको पहुँचमा छैनन् । जसमा लैगिंक आधारमा हेर्दा ६१.३ प्रतिशत पुरुषहरु र ७४ प्रतिशत महिला उत्तरदाताहरुले आफूलाई जलवायु परिवर्तनबारे जानकारी नभएको बताएका थिए ।

जलवायु परिवर्तनको प्रभावलाई पछिल्लो २५ वर्ष अवधिमा तुलनात्मक रुपमा हेर्दा प्रदेशगत रुपमा बागमति प्रदेशको पहाडी भुभागमा सबैभन्दा बढी ९२.१ प्रतिशतले, कर्णाली प्रदेशको हिमाली भेगमा ९१.७ प्रतिशत उत्तरदाताहरुले जलवायु परिवर्तनको प्रभाव महसुस गरे । गण्डकी प्रदेशका हिमाली भेगका ४७.१ प्रतिशतले सबैभन्दा कम महसुस गरे ।

जलवायु विज्ञका अनुसार सर्भेले उजागर गरेका जलवायु परिवर्तनको असर वैज्ञानिक रुपमा पुष्टि हुन्छ या हुन्न भन्ने अध्ययन गरेर मात्र भन्न सकिन्छ । जलवायु विज्ञ डा सुवास अधिकारी भन्छन, ‘पछिल्लोसमय जलवायुको असर बढ्दो छ । यसबाट दैनिक जनजिवन पनि प्रभावित बनेको छ ।’ उनले केही दिनअघि मात्रै आएको तुयालोलाई उदाहरण दिए ।

जलवायु परिवर्तनका कारणमा सबैभन्दा बढी २५.२ प्रतिशतले घरपरिवारले वनविनाशलाई औँल्याए । १५.५ प्रतिशतले प्राकृतिक कारण, १०.६ प्रतिशतले शहरीकरणका कारण, ६.४ प्रतिशतले सवारीका साधनको संख्या बढेर, ६.३ प्रतिशतले मानवीय गतिविधिका कारण तथा ४.७ प्रतिशतले औधोगिकीरणका कारण भन्ने जवाफ दिएका छन् भने २०.८ प्रतिशतले जलवायु परिवर्तनको कारणबारे जानकारी नरहेको बताएका छन् । जलवायु परिवर्तनले गर्दा पछिल्लो २५ वर्षमा हाते पम्प, इनार, ट्युबेल, पधेरो, कुवा, ढुंगेधारा, खालानाला सुकेका छन् ।

९४.१ प्रतिशतले ग्रीष्म ऋितु (जेठ र असार) मा तापक्रम वृद्धि भएको महसुस गरे । ९०.१ प्रतिशतले वर्षात्‌को चक्र फेरबदल भएको पाइएको छ । सबैभन्दा बढी ६१.४ प्रतिशत परिवारले वर्षा ऋतु (साउन र भदौं) मा तथा ५९ं२ प्रतिशतले शरद ऋतु (असोज र कात्तिक) मा जलवायुजन्य विपद्हरु बढेको तथ्यांकले देखाएको छ । पछिल्लो पाँच वर्षमा भौतिक संरचनाहरु बढी क्षति भएका छन् । प्रतिवेदनका अनुसार पहिरो, डुबान, भुक्षय, भारी वर्षा, हिउँपहिरो, हावाहुरी, आगलागी, मेघगर्जन तथा चट्याङले १०.२ प्रतिशत भौतिक संरचनामा क्षति पुगेको छ ।
जलवायुजन्य विपद्का कारण पछिल्लो पाँच वर्षमा देशभर ४१५.४४ बिलियन रुपैयाको क्षति भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *