जलविद्युत खपत र विकासबारे ऊर्जामन्त्री भुसालसँग प्रधान सेनापति शर्माको छलफल

Share this post :

Facebook
Twitter
WhatsApp

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्माले आज भेटवार्ता गरेका छन् । मन्त्रालयमा भएको भेटवार्तामा उनीहरुबीच जलविद्युतको विकास तथा खपतका विषयमा छलफल भएको हो ।
सो अवसरमा मन्त्री भुसालले विद्युत खपत प्रवद्र्धनका लागि सहयोग गर्न नेपाली सेनालाई आग्रह गरिन् । सेनाको भान्सामा प्रयोग भइरहेको अन्य इन्धनलाई बिजुलीले विस्थापित गर्नुपर्नेमा जोड दिँदै उनले भनिन, ‘अब नेपाली सेनाका भान्सामा जलविद्युत नै प्रयोग गरौँ । त्यसका लागि आवश्यक पर्ने पूर्वाधार तयार गर्न मन्त्रालय तयार छ ।’
नेपाली सेनाले प्रयोग गर्ने सवारी साधनलाई विद्युतीय सवारी साधनमा परिणत गर्न र आगामी दिनमा विद्युतीय सवारी साधन नै खरिद गर्नेगरी निर्णय लिन पनि मन्त्री भुषालले आग्रह गरेकी छन् । आफूले निरन्तर विद्युत खपत र निर्यातलाई जोड दिइरहेकोे उल्लेख गर्दै विद्युत खपत बढाएर स्वदेशी ऊर्जालाई प्रवद्र्धन गर्नु  सबैको दायित्व रहेको बताएकी थिइन् । विद्युत खपत हुँदा नेपालको पुजीं बाहिर जनाने उनले बताइन् । नेपाली सेनाले पूर्वाधार विकासमा महत्वपूर्ण योगदान गर्दै आएको उल्लेख गर्दै भुषाालले आगामी दिनमा जलविद्युत् परियोजनाको विकासमा पनि सेनाको योगदान रहने विश्वास व्यक्त गरिन् ।
सो अवसरमा महारथी शर्माले नेपाली सेनाको भान्सा विद्युतिकरणतर्फ अगाडि बढेको र आगामी दिनमा त्यसलाई पूर्णरूपमा लागू गर्दै लैजाने विश्वास दिलाए । ‘हामीले खाना पकाउनका लागि ठूलो स्टिमरको प्रयोग गर्न शुरु गरेका छौँ, आगामी दिनमा सबै ब्यारेकमा विद्युतीय चुल्हो प्रयोग गर्दै लैजाने छौँ’ उनले भने । महारथी शर्माले नेपाली सेनाले प्रयोग गर्दै आएको पेट्रोलियम सवारी साधनलाई विद्युतीयमा  ‘कन्भर्ट’ गर्न शुरु गरिसकेको जानकारी दिँदै भने, ‘मैले विद्युतीय गाडी नै चढ्छु । आगामी दिनमा खरिद गर्ने सवारी साधन विद्युतीय नै हुनेछ ।’
वातारण संरक्षण र देशको अर्थतन्त्र प्रवद्र्धन गर्नका लागि विद्युत खपत बढाउनुपर्ने आफ्नो स्पष्ट धारणा रहेको बताउँदै उनले नीतिगत रूपमै सरकारले निर्णय गरे नेपाली सेनाले पनि जलविद्यत विकासमा पनि लगानी गर्न सक्ने धारणा राखे । महारथी शर्माले जलविद्युत परियोजनाको विकासमा नेपाली सेनाले सहजीकरण गर्ने विश्वास दिलाए । छलफलमा मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थित थियो ।
यस अघि ऊर्जा मन्त्री भुसालले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग विद्युत खपतका विषयमा विभिन्न चरणमा छलफल गरेकी छन् । त्यसैगरी उनले ठूला होटलका साथै रेष्टुराँमा प्रयोग हुँदै आएको ग्यास चुल्होलाई विद्युतीय चुल्होले विस्थापन गर्नका लागि आवश्यक पूर्वाधार तयार गर्न पहल गर्दै आएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *