२०७४ को स्थानीय तहमा स्याङ्जाको पुतलीबजार नगरपालिकामा मेयरकी विजेता थिइन, एमालेकी सीमा क्षेत्री । कांग्रेसका तुलसीराम रेग्मीलाई हराउदै उनी मेयरमा विजयी भएकी थिइन् । ५ वर्षे कार्यकाल सफल भएको बताउदै उनले पुनः मेयर हुने चाहना देखाइन् । पार्टीले उनलाई प्रदेश सांसदको लागि आन्तरिक सल्लाह दिएको थियो । तर, उनले मेयरमै चाहना देखाइन् ।
२०७४ मा जसलाई हराउदै मेयर बनेकी थिइन्, यसपल्ट उनैबाट आफू पराजित बनिन् । पालोको पैचो तिर्दै कांग्रेसका तुलसी मेयरमा विजयी बने । सीमा मेयरकी उपविजेता भइन् । एमालेको पकट क्षेत्र मानिने पुतलीबजारमा पहिलोपटक अहिले काँग्रेसले चारतारे झण्डा फरफराएको छ । सीमा भन्छिन, ‘नगरपालिकाका अधुरा काम पुरा गर्न मेरो उम्मेदवारी थियो । तर, पदमा नरहे पनि समृद्ध नगरको विकासको लागि सधै तयार छु । जनप्रतिनिधि नभए पनि जनताकै साथमा रहनेछु ।’
यस्तै, वालिङ् नगरपालिकामा मेयरका उम्मेदवार बनेका कांग्रेसका दिलिपप्रताप खाँण पनि पराजित बने । एमालेका कृष्ण खाँणसंग उनी पराजित बनेका हुन् । कांग्रेसको किल्ला मानिने वालिङमा पहिलोपटक उनले पराजय व्यहोर्नुपर्यो । स्र्माट सिटीको अवधारण बोकेर हिडेका खाँण देशभरीकै लोकप्रिय मेयर गनिन्थे । राम्रा योजना कार्यान्वयनमा भएकाले तिनै योजना सम्पन्न गर्न पार्टीले पुनः उनलाई मेयरको उम्मेदवार बनाएको कांग्रेस प्रवक्ता भरत लम्सालले बताए । उनका अनुसार वालिङमा सोचेभन्दा बाहिरको नतिजा आयो । ‘आश नभएका ठाउँमा चुनाव जितेका छौ तर, ग्यारेन्टी गरिएका पालिका गुमाउन पुग्यौ’ उनले भने, ‘यसमा हामीकै कमजोरी मान्नुपर्छ ।’ कांग्रेसले उपमेयर पाउँदा मेयर कसरी गुम्यो भन्ने विषयमा छलफल गरिने उनले बताए ।
खा“ण भन्छन, ‘जनता हाम्रा न्यायधिश हुन् । राम्रो र नराम्रो कामको मूल्यांकन जनता स्वंम गर्छन् ।’ यस्तै, कास्कीको अन्नपूर्ण गाउँपालिकामा पनि कांग्रेसका युवराज कुँवर पराजीत बने । यसैगरी, पवर्तको फलेवासमा पनि एमालेका मेयर पदमपाण्ी शर्मा पराजित बने । गण्डकी प्रदेशका ८५ वटा स्थानीय तहमध्ये २०७४ को स्थानीय तहको निर्वाचनमा मेयर÷अध्यक्ष भएका ४२ जनाले राजीनमा दिएर हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा पुनः मेयर÷अध्यक्षको उम्मेदवार बने । ती मध्ये २० जना विजयी भएका छन् भने २१ जना पराजित बनेका छन् ।
तनहुँको व्यास नपाको भने मतगणना जारी छ । यदी व्यासमा कांग्रेसका वैकुण्ठ न्यौपानेले जिते भने हार्ने र जित्नेको संख्या बराबरी हुने थियो । पार्टीबाट पत्याइएका उनीहरुलाई यसपालि जनताले पत्याएनन् । दोस्रो कार्यकाल दोहोरिने चाहने र पराजित हुनेमा सवैभन्दा बढी गोरखाका छन् । गोरखा नपाका प्रमुख राजनराज पन्त, पालुङटार नपाका प्रमुख दीपकवावु कँडेल, गण्डकी गापाका अध्यक्ष होमबहादुर राना, धार्चे गापाका अध्यक्ष सन्तबहादुर गुरुङ पराजित बने । उनीहरुलाई माओवादी केन्द्रका उम्मेदवारले हराएका हुन् ।
जो यसअघि कांग्रेसबाट जितेका थिए । लमजुङको राइनास नपाका मेयर सिंहबहादुर थापा पनि पराजित बने । बाग्लुङको बाग्लुङ नपाका मेयर जनक पौडेल पराजित हुदा“ ताराखोला गापाका अध्यक्ष प्रकाश घर्ती विजयी हुन सकेनन् । अघिल्लो चुनावमा माओवादीबाट अध्यक्ष जितेका घर्ती यसपल्ट स्वतन्त्र उम्मेदवार हुन् । म्याग्दीको धवलागिरी गापा अध्यक्ष थमसरा पुन, मालिका गापाका अध्यक्ष श्रीप्रसाद रोका, तनहुँको म्याग्दे गापामा माया राना, देवघाट गापामा दुर्गवहादुर थापा, आँबुखैरेनीमा गीरबहादुर थापा, बन्दीपुर गापामा पूर्णसिंह थापा पराजित बने । नवलपुरको विनयी त्रिवेणी गापामा डम्बरबहादुर जिसी पराजित हुदाँ गैडाकोटमा छत्रराज पौडेल पनि पराजित बने ।
यस्तै, बुलिङटार गापामा शशिकुमार बास्ताकोटी पनि विजयी हुन सकेनन् । अर्जुनचौपारीको वहालवाला उपाध्यक्ष चिनमाया गुरुङलाई एमालेले अध्यक्ष उठाएकोमा पराजित भइन् । थासाङका उपाध्यक्ष बालकुमारी शेरचनलाई कांग्रेसले अध्यक्ष उठाइएको थियो तर, उनी पनि विजयी हुन सकिनन् । कांग्रेसले २६ जनालाई दोहो¥याएको थियो भने, एमालेले १३, माओवादीले ३ र १ जना स्वतन्त्र उम्मेदवार थिए । यस्तै, उपाध्यक्षमा दोहो¥याउन खोज्ने १९ जना थिए । कुल २१ जना उपप्रमुखले राजीनामा दिएर चुनावमा होमिएका थिए । २ जना अध्यक्षको उम्मेदवार बने भने बाँकी १९ पुनः उपमेयर÷उपाध्यक्षको उम्मेदवार बने । १९ मध्ये १२ जना निर्वाचित भएका छन् भन्, ६ जना पराजित भए । पराजित हुनेमध्ये स्याङ्जामा दुई जना उपप्रमुख रहेका छन् । गोरखामा १, बाग्लुङमा १, तनहुमा १ र पवर्तमा १ रहेका छन् ।
पोखरा महानगरमा उपप्रमुख दोहोयाएकी मञ्जु गुरुङको भने मतगणना जारी छ । स्थानीय तहमा एकपटक नेतृत्व गरेपछि पुनः दोहोयाउनु राम्रो नमानिने राजनीतिक विश्लेषक बताउँछन् । राजनीतिक विश्लेषक सुवास शर्मा पौडेलका अनुसार एक कार्यकाल काम गरेपछि अर्को कार्यकाल जनताले स्वम मूल्यांकन गर्छन् । ‘राम्रो गर्ने र राजनीति प्रभाव पर्ने क्षेत्रमा जितेका छन् अन्यमा हारेका छन्’ उनले भने, ‘कतिपय पार्टीभित्रकै विवादले पनि समस्या बनाएको छ ।’ उनले सधै आफूले मात्र पद लिनुपर्छ भन्ने भावना नेताले त्याग्नुपर्ने बताए ।
