जिल्ला समन्वय समिति कास्कीको आयोजनामा कास्कीका कार्यालयहरूबाट आर्थिक बर्ष २०८० -८१ मा सम्पादन भएका कामहरूको दुई दिने बार्षिक समिक्षा कार्यक्रम मंगलबार शुरु भएको छ।
कार्यक्रममा प्रदेश सभा सदस्य भिमबहादुर कार्कीले सेवा प्रवाह सहित बिकासका योजना थप प्रभाबकारी बनाउनेतर्फ ध्यान दिन आग्रह गरे । कार्कीले परम्परागत भन्दा उत्पादनमुखी प्रतिफल दिने कार्यक्रममा जोड दिन आग्रह गरेका थिए ।
प्रभाबकारी कार्यान्वयनमा बिधमान कानुनी अप्ठ्यारा निराकरण गर्न सबैको पहल आबश्यक भएको भन्दै कार्कीले उत्कृष्ट प्रयासमा केन्द्रीत हुनुपर्ने बताए । सरकारका तहबिच प्रभावकारी सहकार्य र समन्वयमा जिल्ला समन्वय समितिले कास्कीमा महत्वपूर्ण भुमिका खेलेको भन्दै कार्कीले आबश्यक थप ऎन कानुन निर्माणका लागि प्रदेश सभाबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रदेश सभा सदस्य गणेशमान गुरुङले आम जनताको आबश्यकतालाई ध्यान दिदै सेवा प्रबाहमा ध्यान दिन आग्रह गरे ।
गण्डकी प्रदेश सभा सदस्य राजकुमारी भुजेलले बिनियोजित बजेटमा पुँजिगत तथा बित्तिय खर्च विवरण न्यून हुनु गम्भीर समस्या भएको भन्दै त्यसतर्फ बिकासका नीति तथा योजना केन्द्रीत गर्न आग्रह गरिन् ।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कास्कीका हरेक कार्यालयहरू उत्कृष्ट हुनुपर्ने भन्दै चालू आर्थिक बर्षका योजना निति कार्यक्रम प्रभाबकारी रूपले कार्यान्वयन गर्न आग्रह गरे ।
समिक्षामा रूपा गाउँपालिकाका प्रमुख नवराज ओझा , मादी गाउँपालिकाका अध्यक्ष देबिजङ गुरुङ , अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारी, रूपाका उपाध्यक्ष लालसुब्बा गुरुङ, मादीका उपाध्यक्ष कल्पना गुरुङसहितले कास्कीका कार्यालयहरूको कार्य सम्पादनको स्तर र सेवा प्रबाहको सम्बन्धमा धारणा राखेका थिए ।
मंगलबार शिक्षा तथा समन्वय इकाइ, कृषि ज्ञान केन्द्र, सिचाइँ तथा जलस्रोत ब्यबस्थापन आयोजना कार्यालय कास्की, घरेलु तथा पर्यटन कार्यालय, डिभिजन बन कार्यालय, स्वास्थ्य कार्यालय, बृहत जलाधार ब्यबस्थापन केन्द्र गण्डकी, डिभिजन बन कार्यालय, कास्कीका अन्नपूर्ण, माछापुच्छ्रे, रूपा,मादी गाउँपालिकासहित पोखरा महानगरपालिकाले आफ्नो कार्यालयको समिक्षा प्रतिबेदन प्रस्तुत गरेका थिए ।
समिक्षामा कार्यालयहरूले बार्षिक स्वीकृत बजेट कार्यक्रम, बार्षिक लक्ष्य अनुसार भौतिक र बित्तिय प्रगती, कार्यान्वयनका उपलब्धि, समस्या र चुनौतीसहित कामको नतिजामा सुधार सम्बन्धमा छलफल गरिएको थियो ।