जिल्ला समन्वय समितिको पदाधिकारीका लागि भागवण्डा गोला प्रथाबाट गरिएको छ । काँग्रेस र एमालेबीच शनिवार गोलाप्रथा गरि भागवण्डा टुङग्याइएको हो । जसअनुसार प्रमुख सहित ४ सदस्य काँग्रेसको भागमा परेको छ भने, उपप्रमुख सहित ५ सदस्य एमालेको भागमा परेको छ । ११ वटा स्थानीय तह रहेको स्याङ्जामा प्रमुख र उपप्रमुख २२ जनामध्ये कांग्रेस र एमालेले ११÷११ जना जितेको थियो ।
काँग्रेस स्याङ्जाका प्रवक्ता भरतप्रसाद लम्सालका अनुसार पद गोलाप्रथाबाट भागवण्डा टुङगिएको भए पनि उम्मेदवार छनोट प्रक्रिया बाँकी नै रहेको बताए । गोला कांग्रेस जिल्ला सभापति राजु थापा र एमालेका जिल्ला अध्यक्ष सूर्यप्रसाद गैह्रेले टिपेका थिए । जिल्ला समन्वय समितिको प्रमुखमा काँग्रेसका पूर्व पार्टीk सभापति श्रीप्रसाद जिटीको सम्भावना बलियो छ । यस्तै, उपप्रमुखमा एमालेका खडगप्रसाद सुवेदीको सम्भावना बढी देखिएको छ । जिटी पुतलीबजार नगरपालिका–१० निवासी हुन भने सुवेदी पुतलीबजार–६ निवासी हुन् ।
