स्याङ्जाको वालिङ नगरपालिका–१२ डाँडाखर्कस्थित भएको जीप दुर्घटनामा ज्यान गुमाएका चार जनाको सोमबार साँझ सामूहिक अन्त्येष्टि गरिएको छ । बायाँटारीको बन्चरेस्थित आँधीखोला नदीको किनारमा मगर संस्कार अनुसार दाहसँस्कार गरिएको स्थानीयले बताएका छन् ।
डाँडाखर्क गाउँबाट वालिङ बजारतर्फ आउँदै गरेको ग १ ज ७३९९ नम्बरको जीप सडकबाट अन्दाजी २ सय मिटर तल खस्दा आइतबार विहान ६ जनाले ज्यान गुमाएका थिए । ६ महिनाको शिशुसहित ५ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने, एक जनाको उपचारको क्रममा सोमबार गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक पदमराज थापाले बताए ।
दुर्घटनामा शिशु गौरव सारु, उनको आमा २५ वर्षिया शर्मिला सारु, ६५ वर्षिय विरवहादुर डाला, ४५ वर्षको हिरा डाला, ६१ वर्षकी कुलकुमारी कनौजे र ६० वर्षिय अंगबहादुर डालाको मृत्यु भएको हो । प्रहरी निरीक्षक थापाका अनुसार शर्मिलाको श्रीमान् वैदेशिक रोजगार कतारमा भएकाले मंगलबार बेलुकासम्म घर आउने भएपछि गौरव र शर्मिला (आमा–छोरा)को शव अन्त्येष्टि गरिएन् । उनीहरुको शव प्राथमिक स्वास्थ्य चौकी वालिङकै शवगृहमा राखिएको छ । ६ जनाकै शव पोष्टमार्टम गरि आफन्तको जिम्मा लगाइएको बताएको छ ।
विरबहादुर र अंगबहादुर नाताले दाजुभाई हुन् । दुर्घटनामा शर्मिलाको सासूआमा ५५ वर्षिया मायाकुमारी र नन्द १८ नवीना घाइते भएका छन् । उनीहरुको पनि गण्डकी मेडिकल कलेज पोखरामा नै उपचार भइरहेको प्रहरीले जनाएको छ । यस्तै, जीपका सहचालक योगेन्द्र थापा र १९ वर्षिया लक्ष्मी डाला र ६० वर्षिय दलबहादुर थापा घाइते भएका छन् । उनीहरुको पनि सोही अस्पतालमै उपचार भइरहेको छ । जीप वालिङ् बजार आउने क्रममा ब्रेक नलाग्दा खसेको थियो ।
