यहाँको वालिङ नगरपालिका–१० मोदीखोलास्थित भित्रि सडक खण्डमा भएको जीप दुर्घटनामा दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा गल्याङ नगरपालिका–१० का ७७ बर्षिय दलबहादुर पल्ली र सोही ठाउँकी ३२ बर्षिया गंगा पल्ली रहेका छन् । वालिङ प्राथमिक स्वास्थ्य चौकीमा उपचारको क्रममा उनीहरुलाई चिकित्सकले मृत्त घोषण गरेको प्रहरीले जनाएको छ ।
वालिङबाट लाखुडाँडातर्फ जादै गरेको ग १ ज ४९१८ नम्बरको जीप आइतबार साँझ सडकदेखी ५० मिटर तल खसेको थियो । जीपमा सवार १७ जना घाइते भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए । उनका अनुसार १५ जना घाइतेको वालिङ प्राथमिक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । दुर्घटनामा गम्भिर घाइते भएका गल्याङ–१० कै ४ बर्षिया करिष्मा थापा, २ बर्षिय अर्चल विकलाई वालिङ स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारको लागि मणिपाल मेडिकल अस्पताल पोखरा रिफर गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले बताए । प्रहरीका अनुसार दुवै जनाको अवस्था सिरियस रहेको छ ।
यस्तै घाइते हुनेमा ५५ बर्षिय रामबहादुर पल्ली, ३ बर्षिय किरण पल्ली, २४ बर्षिया त्रिसना विक, २२ बर्षिया विष्णु थापा, २७ बर्षिय अर्जुन थापा, ६० बर्षिया हुमा पल्ली, ५६ बर्षिया रिता गाहा, २२ बर्षिया पुष्पा पल्ली, ४५ बर्षिया भिमकुमारी पल्ली, २ बर्षिय एन्जल गाहा, ३ बर्षिया एमना पल्ली, ५५ बर्षिया लिलाकुमारी पल्ली र ३१ बर्षिय रुद्रबहादुर थापा रहेका छन् । यस्तै, वालिङ नगरपालिका–१० का २४ बर्षिया सपना थापा र २ बर्षिय नविन थापा रहेको प्रहरीले जनाएको छ । चालक रुद्रबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।
