जुग्जालीलाई मन्त्री बनाउने

Share this post :

Facebook
Twitter
WhatsApp

नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारमा पार्टीको तर्फबाट सहभागी हुने मन्त्रीको टुंगो लगाएको छ । पोखरामा सोमबार बसेको संसदीय दलको बैठकले म्याग्दी प्रदेशसभा क्षेत्र (ख)बाट निर्वाचित रेशमबहादुर जुग्जाली (सुविन) लाई सरकारमा पठाउने निर्णय गरेको हो ।
३९ वर्षीय जुग्जाली नेकपा माओवादी केन्द्र म्याग्दीको जिल्ला संयोजक हुन् । माओवादीका तर्फबाट यसअघि तनहुँ २ (ख) बाट निर्वाचित हरिबहादुर चुमान विनाविभागीय मन्त्री बनेका छन् । प्रदेश सरकारले सोमबार बिहान मन्त्रालयको संख्या १२ बाट घटाएर ७ वटा बनाउने निर्णय गरेको थियो ।
पुष २५ गते नियुक्त भएका मुख्यमन्त्री खगराज अधिकारीले सोही दिन माओवादीका चुमान, एमालेकी सीताकुमारी सुन्दास र राप्रपाका पञ्चराम गुरुङलाई मन्त्री नियुक्त गरेका थिए । सरकारमा सहभागी दलबीच एमालेले ४, माओवादीले २ र राप्रपाले एक मन्त्री लिने समझदारी बनेको छ । ‘पार्टीको सिफारिसमा संसदीय दलको बैठकले जुग्जालीलाई सरकारमा पठाउने निर्णय गरेको छ,’ माआवादी केन्द्रका एक सांसदले भने, ‘कसले कुन मन्त्रालय लिने भन्ने निर्णय हुन बाँकी छ ।’ माओवादीबाट जुग्जालीका अलावा गोरखाकी शुशिला सिम्खडा र माओवादीको चिन्हबाट चुनाव जितेका नेपाल समाजवादी पार्टी गोरखाका फडिन्द्र देवकोटा मन्त्रीको आकाक्षी थिए ।
गत चुनावमा अपेक्षाकृत नतिजा हाँसिल गर्न नसकेको माओवादीले म्याग्दीमा भने गठबन्धनबाट दुई वटै निर्वाचन क्षेत्र जितेको थियो । समानुपातिकतर्फ पनि २०७४ को तुलनामा म्याग्दीमा माओवादीको मत बढेको थियो । सोही आधारमा म्याग्दीले सरकारमा सहभागीता पाउनुपर्ने दावी गरिएको थियो । मुख्यमन्त्री अधिकारी सरकार विस्तार र मन्त्रालय बाडँफाँडलाई थाती राखेर सोमबार काठमाडौ गएका छन् । मंगलबारसम्म मन्त्रिपरिषद् विस्तारलाई पूर्णता दिने अधिकारीको तयारी छ ।

को हुन रेशम जुग्जाली (सुविन) ?
मालिका गाउँपालिका–७ बिमका जुग्जालीका दाजु जितबहादुर जुग्जालीको २०५८ मा सोलुखुम्बुको सल्लेरी आक्रमणका क्रममा सहिद भएका थिए । विद्यालय पढ्दा २०५६ मा अनेरास्वीयू क्रान्तिकारीमा संगठित भएका जुग्जाली २०५७ मा जिल्ला सदस्य, २०५८ मा जिल्ला सचिव र २०५८ देखि जनयुद्धमा भूमिगत भए ।
२०५८ मा एरिया कमिटी सदस्य, २०५९ मा माओवादी जिल्ला सदस्य, २०६१ मा इलाका इञ्चार्ज भएका उनी जनमुक्ति सेनामा कम्पनी कमिसार हुदै बटालियन भ्वाईस कमाण्डर बने । माओवादी शान्ति प्रक्रियामा आएपछि २०६३ मा वाइसीएलको जिल्ला सचिव र २०६६ मा माओवादीको तत्कालीन मगँरात राज्य कमिटी सदस्य बने ।
माओवादी विभाजनपछि मोहन बैद्य समूहमा आवद्ध भएका जुग्जाली २०७० देखि २०७३ सम्म स्वतन्त्र बसे । २०७४ को स्थानीय तह चुनावमा स्वतन्त्र उमेद्वार वनेर बिमको वडा अध्यक्षमा बिजयी जुग्जाली बामगठबन्धनलाई सहयोग गर्दै माओवादीको तर्फबाट तत्कालीन नेकपाको जिल्ला कार्यालय सदस्य र पछिल्लोपटक माओवादीको जिल्ला संयोजकको जिम्मेवारी पाएका थिए ।
वाइसीएलको जिल्ला सचिव हुँदा जुग्जालीको नेतृत्वमा म्याग्दीमा अनियमितता, भ्रष्ट्राचार र ठगी विरोधी अभियान सञ्चालन भएका थिए । जनप्रतिनिधिको भूमिकामा वडाको नेतृत्व गर्दा विपद् व्यवस्थापन, विकास आयोजना कार्यान्वयनमा जनपरिचालन, ठूला योजना भित्रयाउने, सेवा प्रवाह, सामाजिक परिवर्तनमा नमुना अभ्यास गरेका जुग्जाली २०७९ बैशाखमा भएको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट मालिका गाउँपालिका अध्यक्षको उमेद्वार बनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *