जो मुख्यमन्त्री बन्न प्रदेश झरे

Share this post :

Facebook
Twitter
WhatsApp

विद्यार्थी पृष्ठभूमिबाट उदाएका नेकपा एमालेका खगराज अधिकारी प्रदेशको संसदीय राजनीतिको पहिलो यात्रामा मुख्यमन्त्री बन्न सफल भएका छन् । गण्डकी प्रदेश सरकारको दोस्रो कार्यकालका लागि सोमबार पहिलो मुख्यमन्त्री नियुक्त भए । पार्टीका स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुखको जिम्मेवारी सम्हालेका अधिकारी सोमबार ३३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।
६० सदस्यीय गण्डकी प्रदेशसभामा एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसदको गरी ३३ जना सांसदको समर्थन थियो । अधिकारी एमाले अध्यक्ष केपी शर्मा ओली निकट नेता मानिन्छन् । उनी कास्की निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा १ बाट निर्वाचित भएका थिए । जिल्ला पार्टीले अधिकारीलाई केन्द्रको लागि सिफारिस गरेको थियो तर, पार्टी अध्यक्ष ओलीले पूर्व मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङलाई केन्द्रमा उठाएर अधिकारीलाई मुख्यमन्त्रीको लागि अघि सार्दै प्रदेशको टिकट दिएका थिए ।
निर्वाचन प्रक्रिया सुरु हुनुअघि खगराज अधिकारीले संचारकर्मीसँग भेट्दै आफू केन्द्रीय राजनीतिमा रमाउन चाहने भएकाले कास्कीको क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यमा चुनाव लड्ने बताउदै भने, ‘प्रदेशमा चुनाव लड्ने मेरो चाहना छैन ।’ एमाले उपमहासचिवसमेत रहेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ प्रदेशमा नै पुनः दोहोरिन चाहेका थिए । प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा उम्मेदवारी सिफारिसमा परेका उनै अधिकारीले असोज २३ गते उम्मेदवारी मनोनयनका दिन भावी मुख्यमन्त्रीका रूपमा उभ्याए । चुनाव जिते पनि । तिनै अधिकारी पार्टीभित्रबाट सर्वसम्मत एमाले संसदीय दलको नेतामा चयन भएका थिए । विद्यार्थी राजनीतिबाटै उदाएका अधिकारी छैटौं पटक संसदीय निर्वाचनमा लडिसकेका छन् । बाबु शेषरमण उपाध्याय र आमा लिलादेवीको कोखबाट कास्कीको बेगनासमा २०१८ चैत १३ मा जन्मिएका अधिकारी सानैदेखि राजनीति वातावरणमा हुर्किएका थिए ।
स्कुले जीवन केही ढिला सुरु भए पनि उनी विद्यार्थी पृष्ठभूमिबाटै राजनीतिमा होमिएका हुन् । २०१५ मा पुष्पलाल श्रेष्ठ उनको गाउ“मा पुगेका थिए । त्यस समयदेखी नै त्यहाँको गाउँमा राजनीतिक चेतको सुझबुझ राम्रो थियो । त्यही परिवेशमा हुर्किएका अधिकारीले सानैदेखि समानताको वकालत गर्न थाले । गाउँमा कम्युनिस्टलाई अन्यायविरुद्ध लड्ने शक्ति भन्थे । अधिकारी पनि सानैदेखि अन्यायविरुद्ध लड्न चाहन्थे । नेपालको तत्कालीन परिस्थितिमा गाउँगाउँका विद्यालयमा राजनीतिक संगठन विस्तार हुँदै थिए । अधिकारीले पनि ११ वर्षको उमेरमा आनन्दज्योति माध्यमिक विद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)को सभापतिको जिम्मेवारी पाए । स्कुले जीवनमा नै राजनीतिक संगठनमा काम गरेका अधिकारीले २०३३ सालमा पुष्पलाल समूहको एरिया कमिटी सदस्य भएर संगठानिक रुपमा आफूलाई अगाडि बढाए । त्यसपछि उनको राजनीतिक यात्रा अविराम अगाडि बढ्यो । २०३६ सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)को कास्की जिल्ला अध्यक्ष भएका अधिकारी उच्च अध्ययनका लागि काठमाडौं आए । परिवारको चाहनाविपरित उनी फेरि कास्की नै फर्किए । पोखराको पृथ्वीनारायण (पिएन) क्याम्पसमा विज्ञान अध्ययनका लागि भर्ना भए । त्यहाँ पनि उनी राजनीतिक संगठनमा नरहने कुरै भएन । २०३७ सालमा पिएन क्याम्पसमा स्ववियू सदस्य भएका अधिकारी २०३८ सालमा अनेरास्ववियूको केन्द्रीय सदस्य भए । त्यसको दुई वर्षपछि उनले अनेरास्ववियूको उपाध्यक्षको रुपमा जिम्मेवारी सम्हाले । यता, अनेरास्ववियू उपाध्यक्ष भएका अधिकारीले पिएन क्याम्पसमा २०४० सालमा पहिलोपटक स्ववियू सभापति जिते । दोस्रोपटक २०४१ सालमा फेरि स्ववियू सभापति भएका अधिकारी खुलेर बहुदलको पक्षमा लागेकाले तत्कालीन प्रशासनको तारो बनेका थिए । उनले २०३६ सालदेखि अर्धभूमिगत रहेर पार्टी र संगठनका लागि काम गरे ।
२०४२ सालमा स्ववियू सभापति हुँदाहुँदै अधिकारीलाई प्रशासनले पक्राउ ग¥यो । साढे ४ वर्ष जेल बसे । २०४६ सालसम्म उनले नेपालका बिभिन्न स्थानमा जेलजीवन बिताए । कास्की, रौतहट, दमौली लगायतका जिल्लाका जेलमा पठाइएका अधिकारी २०४७ सालमा बनेको प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको संस्थापक केन्द्रीय सदस्य भएका थिए । २०४९ सालमा केन्द्रीय अनुशासन निरीक्षण कमिटी सदस्य भए । २०४८ मा कास्की–१ को आमचुनावमा काँग्रेसका तारानाथ रानाभाटसँग पराजित भएका थिए । २०५१ को मध्यावधि चुनावमा उनै रानाभाटलाई हराए भने २०५६ को चुनावमा रानाभाटसँगै पराजित भए । अधिकारीले २०५१ सालमा सचेतक र २०७४ मा प्रमुख सचेतक भए । २०६२–६३ को दोस्रो जनआन्दोलनमा अधिकारीले नेतृत्वदायी भूमिका निर्वाह गरेका उनी त्यस समयमा पनि जेल परेका थिए । २०६४ को पहिलो संविधानसभामा माओवादीका देव गुरुङसँग पराजित भए । २०७० को दोस्रो संविधानसभा चुनावमा उनले टिकट पाएनन् । २०७४ मा उनले काँग्रेसका यज्ञबहादुर थापालाई हराए । अधिकारीले २०७० चैत १३ देखि २०७२ असोज २५ सम्म स्वास्थ्य तथा जनसंख्यामन्त्रीको जिम्मेवारी सम्हाले । स्वास्थ्य मन्त्री रहदा“ अधिकारी २०६५ सालमा भएको नेकपा एमालेको आठौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भइसकेका थिए । उनलाई पार्टीले गण्डकी इन्चार्ज, संगठन विभागको सदस्य तथा पोलिटब्यूरो सदस्यको जिम्मेवारीसमेत दिएको थियो । अधिकारीलाई २०७३ मा एमालेले केन्द्रीय सल्लाहकार कमिटीको उपाध्यक्षको जिम्मेवारी दियो ।
२०७४ को निर्वाचनमा कास्की–१ बाट विजयी भएका अधिकारी २०७८ जेठ २७ गते गृहमन्त्री नियुक्त भए । संसद विघटनपछि १३ दिन गृहमन्त्री भएका अधिकारी २०७८ मंसिरमा चितवनमा भएको पार्टीको दशौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । हाल उनी पार्टीको स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुखको जिम्मेवारीमा कार्यरत छन् । अधिकारीको २०७० सालसम्मको ‘जीवनका आरोहअवरोह तथा राजनीतिक संघर्ष र यात्राको विषय समेटिएको सँस्मरण माया मारेको मान्छे’ प्रकाशित छ । गत मंसिर ४ मा सम्पन्न प्रदेशसभाको निर्वाचनमा माओवादी केन्द्रका दीपक कोइरालालाई पराजित गर्दै अधिकारी प्रदेशसभा सदस्यमा विजयी भएका थिए । आफूलाई केन्द्रीय राजनीतिमा रमाउन चाहने अधिकारीलाई ‘अनुदार नेता’ र सानो समूहमा रमाउन खोज्ने भनेर आलोचना पनि गर्छन् ।
अधिकारीको चाहना नहुँदा नहुँदै पनि गण्डकीका एमाले कार्यकर्ताको चाहनाअनुसार अधिकारी मुख्यमन्त्री बनेको एमाले निर्वाचन परिचालन कमिटी क्षेत्र नम्बर १ का संयोजक बैनबहादुर अधिकारी क्षेत्री बताउ“छन् । ‘अधिकारी कास्कीको मात्र नभइ देशकै एउटा खारिएको नेता हुनुहुन्छ’ क्षेत्रीले भने, ‘प्रमुख सचेतक, सचेतक र दुईपटकसम्म संघीय मन्त्री भइसकेको व्यक्ति मुख्यमन्त्री बन्नु भएको छ । अब यस्तो नेता पाउ“दा गण्डकी प्रदेशका जनताको अपेक्षा पुरा हुने विश्वासमा छौं ।’ नवनियुक्त मुख्यमन्त्री अधिकारीले सोमबार नै पद तथा गोपनियताको शपथ लिएका छन् । यस्तै, माओवादीका हरिवबहादुर चुमान, एमालेका सीता सुन्दास र राप्रपाका पञ्चराम गुरुङ विनाविभागीय मन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्रीसँगै तिनै मन्त्रीले प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष शपथ लिएका थिए । सोमबार नै मन्त्रिपरिषद्को पहिलो वैठक बस्दै प्रदेशका मातहतका अस्पतालमा डायलासिस सेवा विस्तार गर्ने निर्णय गरेको छ । यस्तै, मन्त्री सीता सुन्दासलाई प्रवक्ताको जिम्मेवारी तोक्दै ६ वटा निर्णय गरेको थियो । नवनियुक्त मुख्यमन्त्री अधिकारीले समृद्ध प्रदेश निर्माण गर्न आफ्नो भूमिका रहने बताएका छन् । मुख्यमन्त्रि नियुक्त भएपछि संचारकर्मीसँग बोल्दै उनले प्रदेश सरकारलाई बलियो बनाउनतर्फ आफ्नो भूमिका रहने बताए । ‘प्रदेश सरकारलाई जनताको नजिकको सरकार हो भन्ने अनुभूति दिलाउनु छ’ उनले भने । अधिकारीले मन्त्रिपरिषद्को पहिलो वैठकमा खासै उल्लेखनीय निर्णय नगरेकाले पनि उनको आलोचना सुरु भइसकेको छ । अस्थायी प्रवक्ता तोक्ने बाहेक अन्य निर्णय गर्न नसकेको भन्दै सामाजिक संजाल फेसबुक, टुइटर लगायतमा आलोचना भएको छ । इकान्तिरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *