पोखरा महानगरपालिका–२७ अर्चलेमा शनिवार विहान बस दुर्घटना भयो । असामान्यरुपमा भएको दुर्घटनाको तस्बिरले सामाजिक संजाल तातेको छ । दुर्घटना आफैमा दुखद भए पनि दुर्घटनाको प्रकृति सामान्य थिएन् । जसका कारण सामाजिक संजालभरी भाइरल बन्न पुग्यो । बस अगाडिको भागले भुँई टेकेर ठडिएको दुर्लभै हुने दुर्घटना भनेर प्रचार बनेको हो ।
बसमा चालक र सहचालक मात्र भएकाले बस गुल्टिदा भाग्न सफल भए । मानविय क्षति भने हुन सकेन् । चालक पोखरा–२७ आरुपाटाका ४२ वर्षिय टीकाराम विक र सहचालक पोखरा–१४ चाउथेका ४१ वर्षिय शालिकराम सुवेदी घाइते छन् । प्रहरीका अनुसार उनीहरुको अवस्था सामान्य छ ।
जिल्ला प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले दुर्घटनाको प्रकृति हेर्दा बसमा यात्रु भएको भए ठूलो संख्यामा क्षति हुने बताए । शनिवार रिर्जव गएर फर्किएको बसमा यात्रु भने थिएनन् ।
लेखनाथ यातायात प्रालिको ग १ ख ८६८० नम्बरको बस बिहान १० बजे लेखनाथ फर्किने क्रममा अर्चलेमा पल्टिएको थियो । त्यो बस त्यही रुटमा चल्ने गथ्र्यो । चालक टीकारामले ब्रेक फेल भएका कारण बस पल्टिएको प्रहरीलाई बयान दिएका छन् । यता, प्रहरीले प्राविधिकसहित चेकजाँच गर्दा गाडीको ब्रेक ठीक रहेको र चालकले घुम्ती मोड्न नसक्दा पल्टिएको बताएको छ ।
बस माथिल्लो सडकबाट २० मिटर तल खसेको थियो । घुमाउरो अनि साँघुरो सडक भएकाले घुम्ती मोडन चालकले नसकेको प्राविधिकले बताएका छन् । एसपी थापाका अनुसार गाडीका दुईपट्टी ढोका खुल्दा चालक र सहचालक भाग्न सफल भए । ढोकाले गाडी ठड्याउन मद्दत गर्यो । गाडी दुई बल्ड्याङ खेलेपछि ठडिएको एसपी थापाले बताएका छन् । साँघुरो र घुम्ती सडकमा ओभरस्पीड पनि दुर्घटनाको अर्को कारण रहेको प्रहरी अनुसन्धानले देखाएको छ ।