केही दिनअघि सामाजिक सञ्जालमा एउटा भिडियो बाहिरिएको थियो । जहाँ गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले भनेका छन्, ‘देउवाले मुख्यमन्त्री बन्न पाउँदैनस् भने सांसदको टिकट फालेर हिँड्छु ।’ खड्काले आफु मुख्यमन्त्री बन्नका लागि मात्रै सांसदको चुनाव लड्ने बताएका छन् ।
नेपाली काँग्रेसका नेता समेत रहेका खड्काले आफू निकट गुट (देउवा प्यानल)को भेलामा उनले यस्तो भनेका थिए । ‘मलाई शेरबहादुर देउवाले टिकट दिन्छु तर मुख्यमन्त्रीको दौडबाट बाहिर हुनुपर्छ भन्नुभयो भने टिकट पनि फालेर हिँड्छु । मलाई सांसद हुनका लागि, मन्त्री भएर जागिर खानका लागि टिकट चाहिएको होइन’ उनले भनेका छन् । अहिले त्यही भिडियो काँग्रेस कार्यकर्ताले नै भाइरल बनाएका हुन् । कास्की क्षेत्र नम्बर २ (ख) बाट चुनाव लड्न उनले दाबी गरेका छन् ।
अखण्ड पार्टीका नेता खड्का अघिल्लो निर्वाचनमा कांग्रेस पसेका थिए । कांग्रेस छिर्ने बित्तिकै प्रदेशको समानुपातिक सांसद बनेका खड्का अहिले प्रत्यक्ष उम्मेद्वार बन्ने तयारीमा छन् । उनले फेसबुकमा आफ्नो समर्थक समूहको पेज नै बनाएर प्रचार गरिरहेका छन् । उनीस“ग प्रमुख प्रतिपक्षी हुन् नेपाली काँग्रेसकै नेता विन्दुकुमार थापा । थापा पनि गण्डकी प्रदेशका वाहालवाला मन्त्री हुन् । कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रालयको जिम्मेवारी समालेका थापाले पनि प्रत्यक्षरुपमै चुनावमा होमिने गरि तयारी थालेका छन् । अघिल्लो चुनावमा कास्कीका ६ वटा प्रदेशसभा क्षेत्रमध्ये काँग्रेसबाट जित्ने एक्लो सांसद हुन् थापा ।
आगामी मंसिर–४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि टिकटको दौडधुपमा नेतादेखी मन्त्रीसम्मको रक्सारक्सी छ । गण्डकी प्रदेशका वाहालवाला मन्त्रीहरु पनि टिकटको लागि पोखरा–काठमाडौं दौडधुप गरिरहेका छन् । एउटै निर्वाचन क्षेत्रमा दुई मन्त्रीको हानाथाप चलेको छ भने, अन्य मन्त्री पनि आफ्नो क्षेत्रमा टिकटको दौडधुपमा छन् । अधिकाशं मन्त्री प्रदेशसभाकै निर्वाचनमा होमिने तयारीमा छन् । शिक्षा, सँस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ पनि अहिले टिकटकै दौडधुपमा छन् । नेपाली काँग्रेस स्याङजावाट समानुपातिक सांसद बनेका मेखलाल विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् । पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको सचिवालयमा लामो समय रहेर काम गरेका श्रेष्ठले पहिलोपटक प्रत्यक्ष निर्वाचनबाटै निर्वाचित हुने इच्छा देखाएका छन् । केन्द्रीय मन्त्रालयमा सचिवालयको जिम्मेवारी समाल्दा र हालै प्रदेशका शिक्षा मन्त्री भइरहदा“ आफ्नो क्षेत्रमा मात्र नभई समग्र जिल्लामा विकासे बजेट राख्न सफल भएको दावी उनको छ । सामाजिक क्षेत्रमा गरिएको कामले नै आफूले टिकट पाउनेमा विश्वस्त छन् उनी ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता तय गरेको छ । उक्त आचारसंहिताले वाहालवाला मन्त्रीहरु चुनाव प्रचारप्रसारमा जानबाट रोक लगाएको छ । तर, गण्डकी प्रदेशका मन्त्रीहरु मन्त्रालयको काम नै छाडेर आसन्न निर्वाचनको लागि प्रचारप्रसारमा जुटेका छन् । मन्त्रीहरु मन्त्रालयको काम भन्दा पनि आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित भएका हुन् । पाँच दलिय गठबन्धन कुन निर्वाचन क्षेत्र कसलाई पर्ने भन्ने टुंगो नलागिसकेकाले पनि मन्त्रीहरुको दौडधुप बढेको हो । यस्तै, प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बराल पनि टिकटको दौडधुपमा छन् । कास्की क्षेत्र नम्बर ३ को (संघतर्फ) टिकट लभिङमा उनी छन् । प्रदेशका अन्य मन्त्रीले पुनः प्रदेशमा नै चासो देखाइरहदा उनी भने संघमा चासो देखाएका हुन् ।
कास्कीका तीन निर्वाचन क्षेत्रमा काँग्रेस, समाजवादी र माओवादीलाई एक÷एकवटा भनेर चर्चा चलिरहदाँ कास्की क्षेत्र नम्बर ३ माओवादीलाई नै पर्ने सम्भावना भएकाले बराल माओवादीका निर्विकल्प उम्मेदवार बन्नेछन् । ‘यदी निर्वाचन क्षेत्र माओवादीलाई नै पर्यो भने उहाँले टिकटको लागि त्यति धेरै धाउनुपर्दैन’ स्रोतले भन्यो । स्याङ्जा क्षेत्र नम्बर १ को (क) वाट प्रदेशसभामा निर्वाचित माओवादीका दीपक थापामगर अहिले प्रदेश सरकारकाका वाहालवाला मन्त्री हुन् । वन, वातावरण तथा भू–संरक्षण मन्त्रालयको जिम्मेवारी समालेका थापा पनि पुनः प्रदेशकै निर्वाचनमा होमिने तयारीमा छन् ।
स्याङ्जा माओवादीका पुराना नेताको रुपमा चिनिने थापा अघिल्लो निर्वाचनमा एमालेसँगको गठबन्धनको साझा उम्मेदवार बनेका थिए ।
गण्डकी प्रदेशकी स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी पनि चुनाव तरखरमा छन् । युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्य पनि पुन प्रदेशसभा निर्वाचनकै लागि टिकट लभिङमा जुटेका छन् । प्रदेशका वाहालवाला मन्त्री आ–आफ्नो निर्वाचन क्षेत्रमा गठबन्धनका रुपबाट साझा उम्मेदवार बन्ने दाउमा देखिन्छन् । संघिय क्षेत्रमा सिनियर नेताले नछाड्ने भएपछि प्रदेशका मन्त्रीले प्रदेशमा नै दोहोरिन लागेको बताइएको छ । अधिकाशं मन्त्रीको पुनः प्रदेशमा निर्वाचन लडेर आएपछि मुख्यमन्त्री भन्ने होडमा छन् ।