प्रतिनिधिसभाको बुधबार बसेको वैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०८१ पारित गरेको छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक पारित गरियोस् भन्ने राखेको प्रस्ताव सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गर्दै पारित भएको घोषणा गरेका हुन् । उक्त विधेयक पारित गर्नुअघि शीर्ष नेतासहित दलीय आधारमा छलफल गरिएको थियो ।
मंगलबार बसेको प्रतिनिधिसभाको वैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गरेकी थिइन् । छलफलको लागि प्रतिनिधिसभाले उक्त विधेयक समितिमा पठाएको थियो । साउन २४ मा बसेको समितिको बैठकले उक्त विधेयक सर्वसम्मतिले पारित गरेको थियो । समितिमा सहमति हुन नसकेका विधेयकका केही बुँदा प्रमुख राजनीतिक दलका नेता सम्मिलित तीन सदस्यीय कार्यदलले सहमति जुटाएको थियो । ठूला तीन दलको सहमतिपश्चात बुधबार उक्त विधेयकलाई प्रतिनिधिसभाबाट पारित गरेको हो ।
युद्ध त्यागेर माओवादी प्रतिस्पर्धात्मक राजनीतिमा आएपछि सुरु भएको शान्ति प्रक्रिया १८ वर्षपछि निष्कर्षउन्मुख बनेको छ । २०६३ मंसिर ५ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा (माओवादी) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएपछि सुरु भएको शान्ति प्रक्रियासम्बन्धी विधेयक बुधबार प्रतिनिधिसभाबाट पारित भएसँगै टुंगोमा लागेको छ ।
