नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत टेनिसको टिम इभेन्टको प्रतिस्पर्धामा आयोजक गण्डकी प्रदेश सहित, नेपाल पुलिस, आर्मी, सशस्त्र प्रहरी र बागमती प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन् ।
आजदेखी पोखरा रङ्गशालाको टेनिस कोर्टमा भएको खेलमा पुरुष सिँगल विधामा प्रहरीका आर्यन गिरीले मधेश प्रदेशका सुर्दशन विष्टलाई ६–०,६–० को सेटमा पराजित गरे ।
यसैगरी पुरुष सिंगलको अर्को खेलमा मधेश प्रदेशका राजविर प्रधान विजयी भएका छन् । उनले प्रहरीका प्रनभ मानन्थरलाई ६–४,३–६ र ६–३ सेटमा पराजित गरे ।
पुरुष डबल्सतर्फको प्रतिस्पर्धामा प्रहरीका प्रनभ र आर्यनको जोडी विजयी भएको छ । उनीहरुको जोडीले मधेश प्रदेशका राजीव प्रधान र सुदर्शन विष्टको जोडी माथि ६–२,६–२ सेटकोे जित निकालेको हो । समग्रमा नेपाल पुलिसले दुई खेल जित्दै निकाल्दै सेमिफाइनलमा स्थान पक्का गर्न सफल भयो ।
यसैगरी पुरुष एकलतर्फको अर्को खेलमा गण्डकीका आशिष खड्काले बागमतीका निजेल महर्जनलाई ६–०,६–१ सेटको जित निकाल्दा गण्डकीकै प्रदीप खड्काले बागमतीका निशान श्रेष्ठलाई ६–१ र ६–२ अङ्कमा पराजित भए ।
पुरुष डबल्सतर्फ बागमतीका निशा र प्रितमको जोडीले गण्डकीको अनिल शाही र सौगात विकको जोडीमाथि ४–२,०–४ र ७–४ सेटको जित निकाल्दै समग्रमा दुई खेल जितेर गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश गर्न सफल भयो ।
कोर्ट नं ४ मा भएको पुरुष एकलतर्फको दुई खेलमा आर्मीका अकिज रावत र प्रनभ खनाल विजयी भएका छन् । उनीहरुले क्रमशः एनआरएनएका दावा सोनम शेर्पा र आरभ हाडालाई पराजित गरे ।
पुरुष डबल्सतर्फ एनआएरएनएको आरभ र दावाको जोडीले आर्मीका गोविन्द र निजेलको जोडीमाथि ५–३,५–३ सेटको जित निकालेपनि आर्मी २–१ अन्तरको जित निकाल्दै अघिल्लो चरणमा प्रवेश गरेको छ ।
यसैगरी पुरुष एकलतर्फका दुई खेलमा एपीएफका आयुशमान घले र लुम्बिनीका रितिक रानाले क्रमशः लुम्बिनीका सक्षम शाह र एपीएफका सन्तोष खत्री माथि जित निकाले।
डबल्सतर्फ भने एपीएफका सन्तोष कुमार र आयुषको जोडीले लुम्बिनीका रितिक र सक्षमको जोडीलाई ६–२,६–३ सेटमा पराजित गर्दै सशस्त्र प्रहरी सेमिफाइनलमा प्रवेश गरेको टेनिसका मुख्य प्रशिक्षक रेणुदेवी कुण्डाले जानकारी दिए ।
यसैगरी महिला एकलतर्फ बागमतीका रयाना शाहले गण्डकीका रोमिका बुद्धाचार्यलाई ६–१,६–० मा पराजित गरिन् । महिला एकलको अर्को खेलमा बागमतीका प्रकृति श्रेष्ठले गण्डकीका श्रेया भट्टराईलाई समान ६–२ सेटले पराजित गरिन् ।
महिला डबल्सतर्फ बागमतीका प्रकृति श्रेष्ठ र आदय प्रधानको जोडीले गण्डकीको श्रेया र प्रितिको जोडीलाई ५–३,४–१ सेटमा पराजित गरेपछि बागमती प्रदेश तीन खेल जित्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ एक कार्यक्रमकाबीच टेनिस खेलको सुभारम्भ गरेका हुन ।
