ईन्धन चोरी गरेको फेला परेपछि नेपाल आयल निगम गण्डकी प्रदेश प्रमुख चितरञ्जन दास बिरूद्द पक्राउ पुर्जी जारी भएको छ । शुक्रबार प्रादेशिक कार्यालयबाट ३ हजार लिटर डिजल चोरीगरी बिक्रीका लागि पठाएको फेलापरेपछि जिल्ला प्रहरी कार्यालय कास्कीले उनीबिरूद्द पक्राउ पुर्जी जारी गरेको हो ।
दासले शुक्रबार दिउँसो पश्चिमाञ्चल पेट्रोल पम्पका लागि लोड भएको ग २ ख ८३६ नम्बरको ट्याँकरमा डिजल चोरी गरि बिक्रीका लागि पठाएको सूचनाका आधारमा कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको आदेशमा प्रहरीले पक्राउ गरेको थियो । डाँडाकानाक प्रहरीचौकीमा नापजाँचका क्रममा १२ हजार लिटर क्षमताको उक्त ट्याँकरमा १५ हजार लिटर डिजल लोड गरिएको फेला परेको प्रहरीले जनाएको छ । पेट्रोल पम्पले किनेको भन्दा ३ हजार लिटर थप चोरीको डिजल रहेकोले दासलाई पक्राउ पुर्जी जारी भएको हो । ट्याङकरमा क्षमता भन्दा धेरै ईन्धन लोड गर्नु जोखिम समेत हो ।
दासमाथी डिपोको लागि तोकिएको नोक्सानी लक्ष्यको दुरुपयोग गरि इन्धन चोरी गर्ने गरेको आरोप छ । दास प्रदेश प्रमुख बनेपछि गण्डकीमा निगमले अघिल्लो वर्षभन्दा दोब्बर नोक्सानी व्यहोरेको निगम केन्द्रीय कार्यालयको प्रतिवेदनमा उल्लेख छ । डिपोबाट बिक्री हुने इन्धनको नापजाँच गर्न (डिप लिने) कार्यालयका अपरेशन ईन्चार्ज परशुराम अधिकारीलाई नदिई दासले आफै गर्ने गरेका थिए ।
