डिजिटल  प्रविधि, यसको कुलत र राजनीतिबारे

Share this post :

Facebook
Twitter
WhatsApp

मानिसले नयाँ नयाँ र आवश्यक विषय वस्तुका बारेमा सिक्दै आएको छ। बा-आमा, हजुरबा-हजुरआमा, दाई-भाइ-दिदी-बहिनी, समाज, साथीसमूह र स्कुलबाट सिक्दै आएका हौं । सिक्ने र सिकाउने भनेको अवसर र चुनौति पनि हो । सिक्नका लागि कठिन सङ्घर्ष र सिकेपछि आवश्यक आराम हामीलाई उत्तिकै आवश्यक पर्छ ।

छलफल गर्नु, बस्नु, सोच्नु, टहलिनु, निदाउनु काम सहित आरामका माध्यमहरू हुन् । मानिसले आफ्नो प्राकृतिक जीवनशैलीमाथि आफै प्रश्न उठाएको छ । खानाका लागि प्याकेट र फ्रिजको खाना र कम सुताइका कारण मानिसको स्वास्थ्य र खुशिको अवसर खोसिएको छ । तर पनि डिजिटल युगलाई देशको राजनीति र अर्थब्यबस्थासित जोडेर नेपाल र नेपालीलाई चलायमान बनाउन अवस्यक छ ।

डिजिटल सिकाइका कुरा

आजको समय डिजिटल परनिर्भरता र सिकाइको युग हो । सँधै बदलिने परिदृश्यमा प्रवेश गर्न आजका युवाको क्षमता व्यक्तिगत र पेशेवर बन्न यस बारे ज्ञान हुन आवश्यक छ। डिजिटल साक्षरतालाई प्राविधिक प्रयोगसँग समावेश गरेर आधुनिक जीवनमा फरक र मौलिक बन्न सकिन्छ । इन्टरनेट सम्बन्धी आवश्यक ज्ञानको जानकारी, डिजिटल प्लेटफर्महरूसँग हुने सहकार्य र ई-कमर्समा आफुलाई गराउने प्रतिबद्ध जस्ता कामहरूबाट नै मानिसलाई आजको डिजिटल युगमा सफल बनाउँछ ।

  • डिजिटल जानकारी पहुँच: इन्टरनेटका कारण हामीलाई प्रत्येक विषयमा विस्तृत जानकारी राख्न र सिक्न सजिलो बनेको छ । मानिसहरूलाई घटनाबारे अनलाइन जानकारी खोज्न,  सत्य तथ्य मूल्यांकन गर्न, र प्रयोग गर्न सजिलो बनाएको छ । डिजिटल पहुँचका कारण “मूलधारका मिडिया र तिनीहरूले स्थापित गरेको सत्य” भन्ने कथन भत्केको छ । ५-६ हजारमा स्मार्ट फोन किनेर इनटेनेटमा जोडिएको मानिस आफै खोजकर्ता र पत्रकार बनेको छ । डिजिटल खोज इन्जिन, डेटाबेस, र अनलाइन अनुसन्धानका कारण व्यक्तिले निर्णय गर्न, सिक्न, र समस्या उठाउन, समस्या बारे बुझ्न र समस्यालाई समाधान गर्नका लागि विश्वसनीय जानकारीमा पहुँच पाउन सजिलो बनेको छ ।
  • समय, संचार र सहकार्य: आजको समय डिजिटल समय हो । विभिन्न डिजिटल प्लेटफर्महरू र उपकरणहरूको प्रयोगले मानिस आफै धेरैतिर सहकार्य गर्न सक्षम छ । बिहानदेखि बेलुका सम्म सरकार, राजनैतिक पार्टी, नेता, आन्दोलन, परिवर्तन र अन्य क्षेत्रमा संचार सहकार्य गरेर बुझ्न र बुझाउन सक्छ । इमेल  सामाजिक संजाल र भिडियो कन्फरेन्स वा वार्तालापबाट व्यक्तिहरू सीमाबिहिन स्थानसम्म पुगेर  अरूसँग जोडिन र परियोजनाहरूमा सहकार्य गर्न सक्ने भएको छ ।
  • मिडिया साक्षरता, डिजिटल साक्षरताका कारण विकृत सूचनाबारे पहिचान गर्न मानिस आफै आलोचनात्मक हुन आवश्यक छ। अनलाइन सामग्रीमा भेटिएका सूचना तथा पाठ्यसमाग्रीबारे विश्लेषण गर्न, यसको समाजिक-सांस्कृतिक-राजनैतिक विश्वसनीयता बारे बुझ्न, स्रोतहरूलाई अविश्वसनीय हुन् कि विश्वसनीय भनेर छुट्टाउनका लागि छलफल गर्न हामीले सक्नु पर् छ। यस्ता अभ्यासमा पारङ्गत व्यक्तिहरू डिजिटल युगमा सही उपभोक्ता र निर्माता बन्न सक्छन्। तर, मानिस अरूप्रति बन्दै गएको असहिष्णु र क्रिटिकल बन्न नसकेका कारण समाज बिग्रदै गएको पनि देखिन्छ ।
  • गोपनीयता र सुरक्षा: एक्काइसौँ शताब्दीमा हामी गोपनीय र सुरक्षासँग सम्बन्धित ज्ञान र कौशलबारे जान्न आवश्यक छ । आफ्नै डेटा गोपनीयता, पासवर्डको प्रबन्धन, र सुरक्षित इन्टरनेट अन्वेषणका अभ्यासहरू जस्ता धारणाहरू बारे डिजिटल नागरीक अभ्यस्त हुन आवश्यक छ । पोख्त मानिसले चाहिने डिजिटल अभ्यास गर्द, उसले आफू र आफ्ना संवेदनशील जानकारीलाई डिजिटल चोरीको धारणाबाट सुरक्षित राख्न सक्छ । यसमा प्रयोगकर्ताले डिजिटल सहभागितासँग सम्बन्धित अधिकार र जिम्मेवारीहरू जस्तै अनलाइन बुलिङ साइबर बुलिङ, बारे जानाकारी राख्नु पर्छ ।
  • अनुकूलनीय शिक्षा र डिजिटल सशक्तिकरण: डिजिटल साक्षरता एक स्थिर कौशल होइन र समयसित बदलिरहन्छ ।  नयाँ प्राविधी, उपकर, र प्लेटफर्महरू आउँदा हामीले नयाँ सिकाइको रुपमा स्वीकार गरेर आफ्नो सामर्थ्य र आफूलाई प्रतिस्पर्धी बनाउन तयार हुनुपर्छ । डिजिटल सम्बन्धी सशक्तिकरणले मानिसलाई आजको समयमा सम्भावनाको प्रयोगमा लाग्न र उत्साह थपेर देशमा सकारात्मक परिवर्तन ल्याउन सक्छ।

डिजिटल कुलत र अन्य समस्या

डिजिटल युगमा अबको मानिस यसको कुलतबाट बच्न पनि त्यत्तिकै आवश्यक छ । यसले मानिसको जीवन शैलीलाई नकरात्मक तरिकाले बदलेर ठूलो दुर्घटनातिर पनि डोराउँछ । आराम र निद्रासम्बन्धी व्यवहारलाई धेरै युवा-युवतीले वास्ता गरेको पाइँदैन जुन आफैमा घातक छ । डिजिटल कुलतले आराम, सामाजिक-सांस्कृतिक ब्यबहार र निद्रालाई ध्यान नदिनेहरूको संख्या समाजमा बढ्दो छ। डिजिटल संसारमा चाहिने भन्दा नचाहिने सर्च-इन्जिनको प्रयोग गर्ने, अनावश्यक रिलमा समय बिताउने, र भिडियो लगायतका डिजिटल सामग्रीले मानिसको निद्रा बिथलेको छ ।

र, मानिसलाई अविवेकी र असामाजिक प्राणी बनाउँदै लगेको छ । यस्ता व्यवहारले मानिसमा खराब बानी वा प्रवृत्तिको विकास गरेको छ । यो समस्याबाट छिट्टै समाज र मानिसका भयानक रोगी बन्दै छ । निद्रा र आरामको स्वतन्त्रताको हेलचक्राइले  मानिसको जीवनशैलीको ढाँचा र व्यवहारमा फरकपन ल्याउँदैछ । यसका लागी परिवार, समाज र शैक्षिक संस्थाहरूले कलिला बाल-बच्चालाई बेलैमा डिजिटल संसारको आवश्यकता, फाइदा र कुलत बारे सिकाउन जरुरी छ । 

१ हजार मानिसमा गरिएको सर्बेक्षण अनुसार ५ देखि १६ वर्षसम्मका बाल-बच्चाहरूमा ६० प्रतिशत बच्चाहरू डिजिटल कुलतमा छन् र ८५ प्रतिशत अबिभावकले आफ्ना बच्चाहरू सामाजिक-सांस्कृतिक ब्यबहारमा आएको परिवर्तनका कारण एक्लो र अविवेकी बन्दै गएको बताएका छन् । यसबाट हामीले देखिरहेका छौँ अबको संसारमा नयाँ समस्या थपिएको छ । यस्ता समस्याले अब खतरा र जोखिमहरूले मानिसलाई पछाडि धकेल्न पनि सक्छ । तथापी मानिसहरू मङ्गल ग्रहमा नयाँ वस्ती बसाल्ने योजनामा छन् । समाजलाई अगाडी लैजानु भनेको प्रबिधीको प्रयोग र पछिपर्नु भनेको कुलतमा फस्नु हो ।

डिजिटलको कुलतबाट चिन्ता, तनाव र एकाग्रताबाट विचलन हुने समस्या देखिएको छ । मानिसले समस्याबाट मुक्ति पाउन डिजिटल मनोरञ्जनको सहारा लिएको छु भन्नु मात्र क्षणिक सान्त्वना दिनु हो तर यो समाधान बन्न सक्दैन । आजको डिजिटल युगले हरेकका व्यक्तिका समय तालिका बदलेको छ । दिउसो सुत्ने र रात्रीमा काम गर्ने वातावरणमा नयाँ पुस्ता हुर्कँदो छ । काम वा डिजिटल मनोरञ्जनका नाममा आराम गर्ने समयमा आएको हाम्रो समयको प्राकृतिक जीवनमाथि खतरा निम्त्याइ सकेको छ ।

आजका किशोर/किशोरीको निद्रा डिजिटल संसारले खोसेर उनीहरूलाई अप्राकृतिक संसारमा धकलेको छ । सामाजिक सञ्जालका अपत्यारिला समचार, अनलाइन खेल र श्रव्यदृश्य सामग्रीप्रतिको आकर्षणले सामाजिक-सांस्कृतिक सम्बन्ध भत्केका छन् । आज किशोर/किशोरी मात्र होइन, उमेर खाइसकेकाहरू मानिस पनि डिजिटल संसारमा हराएर ढिलोसम्म अनिदो बस्ने चलन सामान्य बनेको छ। समयमा नसुत्ने र शरिरले आराम नपाउनुका कारण जङ्क फुडको प्रयोग बढेको छ । यसले मोटोपन, बाँझोपन, मुटु रोग, मधुमेह र कमजोर प्रतिरक्षा प्रणाली जस्ता समस्याहरू देखिने गरेको पाइन्छ । वास्तवमा सुत्ने समयको ढिलाइका कारण सृजनात्मक क्षमतामा ह्रास, सक्रिय मानसि बन्न को ऊर्जामा कमी आउँछ ।

नयाँ पुस्ता र राजनीति

एक्काइसौँ शताब्दीमा डिजिटल साक्षरता अनिवार्य छ । यसले व्यक्तिहरूलाई साहस, क्षमता, र जिम्मेवारीसहित डिजिटल परिदृश्यमा चरण लिन विकेन्द्रीकृत गराउँछ । डिजिटल साक्षरता कौशललाई विकसित गर्दा, व्यक्तिले शक्तिको प्रयोग र नयाँ शिक्षा पाउन सक्छ। प्रविधिले मानिसको जीवनलाई उपयोगी बनाउन बढावा गर्ने तरिकामा उत्थानको काम गर्छ ।

पुस्तान्तरणको हिसाबले पश्चिमाहरूले सन् १८८३ देखि २०१३ पछि सम्मको मानिसलाई फरक–फरक शैलीका पुस्ता मान्छन् । उनीहरूले १९६५ लाई एक्स पुस्ता, १९८१ देखि सहस्राब्दी पुस्ता र १९९७ देखि २०१२ सम्मका युवालाई जेड पुस्ता मान्छन् । आजको जेड पुस्ता ‘सहस्राब्दी पुस्ता’ भन्दा प्रविधिमा निपूर्ण र सहज छ । जेड पुस्तामध्ये धेरैजसो कम्प्युटर, ल्यापटप, सेलफोन, इन्टरनेट र सामाजिक सञ्जालको विकास सितै हुर्केको हो । खण्डित परिवार र सामाजिक सम्बन्ध टुटेको यो समूहसँग बलियो पारिवारिक संरचना नभए पनि काममा चिन्तित पनि देखिन्छ ।  

‍२०२२ मा प्रकाशित The Political Voices of Generation Z  मा उल्लेख भए अनुसार २०१८ र २०२० मा मतदाता बनेका र अब बन्ने युवा जेड पुस्ताका सदस्यहरूले राजनीतिक अभिव्यक्तिका बारेमा सचेत भएको देखाएको छ । उनीहरूले सरकारी निर्णय, प्रहरीका राम्रा-नराम्रा काम, अदालती फैसला, परिवार विभाजनको समस्या, न्याय, क्रान्ति र परिवर्तनका लागि सीमाबिहिन बनेर सहयोग गर्ने देखिएको छ । उनीहरूले जीवन चक्रमा र आफ्नो अनुभवमा महत्त्वपूर्ण घटनाहरूको साथै साझा कुरा गर्न रुचाउँछन् । युवा वयस्कहरूले गरेका आन्दोलनहरू र पहिलाका पुस्ताले  गरेका आन्दोलनहरूको बारेमा बुझ्ने र बुझाउने तरिका फरक छ । प्रविधिसित हुर्केको यो पुस्ताले आवाजलाई शक्ति र शक्तिलाई नतिजामा बदल्न  अग्रसर देखिन्छ । तसर्थ नेपालका राजनैतिक पार्टीहरूले नतिजामुखी यो पुस्तालाई प्रयोग गरेर देशको विकासमा लगाउन उचित देखिन्छ ।

(लेखक भीम रेग्मी त्रिविमा प्राध्यापन गर्छन् )

Leave a Reply

Your email address will not be published. Required fields are marked *