सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले किसानलाई दिनुपर्ने भुक्तानीमा रोक लगाएको छ । नीजि संघसंस्थाले किसानलाई समयमै भुक्तानी नदिने चलनजस्तै छ । तर, सरकारी संस्थाले पनि भुक्तानी नदिएको गुनासो किसानले गरेका छन् ।
डीडीसीले दूध बेचेबापत हातहातै पैसा बुझ्ने गर्छ । करिव महिनासम्मकै भुक्तानी नदिएको किसानले जनाएका छन् । डीडीसीले दैनिक १२ सय दुग्ध उत्पादक संस्थाबाट दूध संकलन गर्दै आएको छ । ती संस्थामा करिब २ लाख परिवार आबद्ध छन् । डीडीसीकै अनुसार ती किसान परिवारले दुई महिनासम्मको करिब ४४ करोड रुपैयाँ पाएका छैनन् । किसानको भनाइ मान्ने हो भने तीन महिनासम्मको ६६ करोड रुपैयाँभन्दा बढी भुुक्तानी लिन बाँकी छ ।
सहकारीबाट नै दूध विक्रीबापतको रकम नआएकाले किसानलाई भुक्तानी दिन नसकिएको डीडीसीले जनाएको छ । डीडीसीका महाप्रबन्धक सञ्जीव झाका अनुसार एक महिनामा करिब २२ करोड रुपैयाँ किसानलाई भुक्तानी गर्नुपर्छ । ‘चैत, वैशाखमा दैनिक ८५–९० हजार लिटर संकलन हुने गरेको थियो । अहिले १ लाख ३० हजारदेखि १ लाख ४० हजार लिटर संकलन हुन्छ । तर, तीन महिनायता खपत करिब ९ प्रतिशतले घटेको छ । सोचेअनुसार खपत (बिक्री) नहुँदा मौज्दात बढ्दै हुँदा किसानलाई समयमै पैसा दिन नसकिएको संस्थाले जनायो । डीडीसीले साढे २ वर्षदेखि नै भुक्तानीमा ढिलाइ गर्दै आएको किसानले बताएका छन् । डेरी उद्योग संघले नीजि डेरीबाट पनि एक महिनाको भुक्तानीमा रोक लगाइएको छ ।